धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा कोभिडको दोश्रो लहर शुरु भए सँगै उपचारको क्रममा १ सय ४१ जनाले ज्यान गुमाएका छन् । केहिले घरमै र अधिकांशको उपचारको क्रममा अस्पतालमा निधन भएको छ । पहिलो चरणको कोभिडले जिल्लामा ४५ जनाको मात्रै निधन भएको थियो । मंगलबार साँझसम्म जिल्लामा १८६ ले ज्यान गुमाईसकेका छन् ।
जिल्लामा २०७७ साउन २६ गते कोभिडका कारण पाँचखाल नगरपालिका वडा नम्वर १ अनेकोट स्थित ५२ बर्षिया महिलाको काठमाडांैमा उपचारको क्रममा निधन भएको थियो । हाल दैनिक ४÷५ जना नागरिकले ज्यान गुमाईरहेका छन् । ‘जेठ १८ गते साँझसम्म कोभिड दोश्रो चरणबाट १ सय ४१ ले ज्यान गुमाउनु भएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘पहिलो लहरमा ४५ जनाले ज्यान गुमाउनु भएको थियो, दोश्रो लहरमा निधन हुनेको संख्या धेरै बढेको छ ।’ जिल्लामा धुलिखेल र बनेपाका दुई अस्पतालमा विभिन्न जिल्लाबाट उपचार गर्न आउने कारण जिल्ला भित्रका १ सय ३३ र अन्य जिल्लाका ५३ गरी १ सय ८६ जनाले ज्यान गुमाई सक्नु भएको छ । मृत्यु हुने मध्ये महिला भन्दा पुरुषको संख्या धेरै छ । दोश्रो लहरले २० वर्ष देखि ८७ वर्षका ब्यक्तिसम्म कोभिडकै कारण निधन हुनेको सूचीमा छन् । ‘पहिलो चरणमा अन्य रोग भएका ब्यक्तिहरुमा संक्रमण देखिएको अवस्थामा उपचारका क्रममा निधन हुने गरेको थियो’– बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘दोश्रो लहरले रोग भएका नभएका सबै ब्यक्तिहरुलाई प्रभावित बनाएको छ ।’
लक्षण मिल्ने तर परिक्षण नगरिएका केहि ब्यक्तिहरुको पनि जिल्लाका विभिन्न स्थानमा निधन हुन थालेको छ । परिवारका सदस्यहरु, आफन्त र छिमेकीहरुमा संक्रमण देखिए पनि परिक्षण नगर्ने अनि स्वास्थ्यमा संकट परे पछि मात्रै अस्पतालन जान खोजेका २० भन्दा धेरै नागरिकले ज्यान गुमाएका छन् । स्थानीय पालिकाहरुले संक्रमणको पहिचान, परिक्षण र उपचारका लागि गरिएको प्रयासले संक्रमण दर न्यूनिकरण हुन सकिरहेको छैन । शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा संक्रमण फैलँदै गएको छ । स्वास्थ्यकर्मीहरुले कोरोना भाईरससँग मिल्दाजुल्दा लक्षण भए तत्कालै परिक्षण गर्न र स्वास्थ्यकर्मीहरुको परामर्श लिन अनुरोध गरेका छन् ।
कोभिडको दोश्रो चरणमा सबैभन्दा धेरै ज्यान गुमाउने धुलिखेल नगरपालिकाका नागरिकहरु छन् । धुलिखेलमा जेठ १८ गते साँझसम्म २७ जनाले ज्यान गुमाएका छन् । जसमा तीन जनाले घरमै ज्यान गुमाए भने २२ जनाले अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका छन् । हाल सक्रिय संक्रमित २ सय ९५ जन छन् । २७ जनाले उपचारकै क्रममा ज्यान गुमाउन पुगेको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो । धुलिखेलले सबै वडाका नागरिकहरुको टोल टोलमा पुगी स्वाव परिक्षण गरिरहेको उहाँले बताउनु भयो । बनेपामा १९ जनाले ज्यान गुमाएका छन् । निधन हुनेमा धुलिखेल पछि बनेपाका नागरिकहरु धेरै छन् । बनेपाका १७ जनाले ज्यान गुमाएको बनेपा स्वास्थ्य शाखाको प्रमुख शम्भुकुमार महत्तोले जानकारी दिनुभयो । हरेक दिन स्वाब संकलन गरि परिक्षण गरिरहेको उहाँले बताउनु भयो । बनेपा जिल्लामै धेरै संक्रमण भएको नगरपालिका हो । नगरपालिकामा १ हजार ३ सय ३३ जना नागरिकहरु संक्रमित भईसकेका छन् ।
१३ वटा पालिकाहरु मध्ये पनौती तेश्रो नम्वरमा पर्छ । १५ जना पनौतीका नागरिकले ज्यान गुमाईसकेको पनौती स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिनाले जानकारी दिनु भयो । निधन हुनेहरुमा ७ पुरुष र ५ महिला छन् । नगरपालिकामा झण्डै एक हजार ब्यक्तिहरु संक्रमित भईसकेको तिमल्सिनाले जानकारी दिनुभयो । संक्रमणबाट निधन भए पछि नेपाली सेनाको कालीजंग गण धुलिखेलले पशुपतिको विद्युतिय शवदाह गृह तथा स्थानीय पालिकाहरुले तोकेको अन्त्येष्टी स्थलमा पु¥याई अन्तिम सलामी दिने गरेको गणपति कर्णेल मिलन थापाले जानकारी दिनुभयो ।
काभ्रेको कोभिड पछिको तथ्याङ्क
दोश्रो लहर
कुल संक्रमित ५९०१
निको भएका ३६२५
निधन १४६
पहिलो लहर
कुल संक्रमित ३४१४ (महिला १३७२, पुरुष २०४२)
निको भएका ३३६९ (महिला १३५९, पुरुष २०५५)
निधन ४५ (महिला १४, पुरुष ३१)
जम्मा निधन १९१,
काभ्रे जिल्लाका १३६,
अन्य जिल्ला ५५
कोभिड १९ विरुद्धको खोप
पहिलो मात्रा – २९५३३
दोश्रो मात्रा– १२६१६





