2026 July 07/ 06:07: 11am

– थपिए गौरवका आयोजना
– विकास र समृद्धिको यात्रा निरन्तर

    बनेपा/सरकारले आगामी आर्थिक वर्षका लागि घोषणा गरेको बजेटमा काभ्रेमा गौरवका आयोजना थपिएका छन् । चालु आर्थिक वर्ष तथा अघिल्लो आर्थिक वर्षको बजेटमा समावेश भएका जिल्लामा सञ्चालित गौरवका आयोजनाले भने निरन्तरता पाउने छन् । केहि वर्ष अघिसम्म सडक सञ्जालमा समेत नजोडिएको काभ्रेपलाञ्चोक जिल्ला अब सुरुङ्ग हुँदै जलमार्गमा प्रवेश गरेको छ । 
    आगामी वर्ष २०७८/०७९ को बजेटमा काभ्रेपलाञ्चोक जिल्लामा ७ वटा नयाँ आयोजनाले प्राथमिकता पाएका छन् । राजधानी उपत्यकाको बढ्दो शहरी चाप न्युनिकरण गरी पाँचखालको उर्वर भूमीलाई अझै उर्जाशिल बनाई बसोबासयोग्य बनाउन सरकारले भक्तपुर–रवि पाँचखालसम्म सुरुङ्गमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको छ । पाँचखालमा आर्थिक क्षेत्र (सेज) निर्माणको कार्य आगामी वर्ष भित्रै निर्माण सम्पन्न गरी सचालनमा ल्याउन बजेट विनियोजन गरेको छ । बजेटले पाँचखालमा मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि समेत बजेट विनियोजन गरेको छ । सरकारको प्राथमिकतामा पाँचखालको विकास र समृद्धिलाई प्राथमिकतामा राखिएको छ । पाँचखाल छिमेकी देश चीनको पनि ब्यापारीक केन्द्रका लागि अर्काे नजिकको क्षेत्र हो । राजधानी प्रवेश गर्न सुरुङ्ग हुने भए पछि चीन सरकारले पनि तातोपानी नाकालाई संचालनमा ल्याउने छ । 
    अर्काे महत्वपूर्ण क्षेत्र पनौतीका लागि गोदावरीबाट मानेदोभान हुँदै सुरुङ्गमार्ग निर्माणका लागि बजेट प्राथमिकतामा राखिएको छ । जिल्लामा निर्माण हुने दुई सुरुङ्गमार्गले जिल्लाको थप विकास र समृद्धिलाई अगाडी बढाउने छ । पनौतीले उत्पादन गरेको कृषि उपज तथा ऐतिहासिक र सास्कृतिक शहरको पहिचान समेत बढाउने छ । पनौती क्षेत्रको थप विकासको ढोका सुरुङ्गमार्गले खोल्नेछ । यसअघि निर्माण शुरु गरिएको रोशी करिडोर, लाँकुरीभञ्ज्याङ्ग पनौती नमोबुद्ध सडकको विस्तार, सुर्यविनायक कुशादेवी रयाले सडक महत्वपूर्ण आयोजना हुन् । आईटी पार्कमा शुरु भएको सुरक्षण मुद्रण प्रेसले समेत तीन नगरपालिका र काभ्रे भ्यालीको पहिचानलाई थप प्रोत्साहन गरेको छ । 
    ब्यापारीक नगर बनेपामा फिल्म सुटिङ स्टुडियो निर्माण हुनेछ । जसका लागि नगरपालिका मार्फत बनेपा नगरपालिका वडा नम्वर १० मा जग्गाको ब्यवस्थापन भईसकेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रको फिल्म सुटिङ्गका लागि महत्वपूर्ण हुने उक्त स्टुडियो निर्माण पछि बनेपामा थप आर्थिक समृद्धता हुनेछ । काभ्रे कृषिमा आत्मनिर्भर भएको जिल्ला हो । हरेक उत्पादन निर्यात गर्ने काभ्रेपलाञ्चोक जिल्लालाई यो वर्ष कागती जोनका लागि बजेट विनियोजन भएको छ । आलु उत्पादनमा अब्बल मानिएको काभ्रे अब जिल्लाको डाँडापारी, कोशिपारी, तेमाल र रोशी क्षेत्रमा कागती जोन बनाईनेछ । अधिकांश ब्यक्तिहरु शहर प्रवेश गरी शहरमा प्लटिङ्ग भई बसोबास बृद्धि हुने, गाउँका खेतबारी बाँझै हुने र उत्पादन भएका उपजहरुमा बाँदर तथा बँदेलले दुःख दिए पछि कृषकहरुको लागत नउठ्ने भए पनि बाँदर र बदेलबाट समेत केहि नहुने पाखा पखेरामा लगाउन सकिने कागतीलाई जोनका रुपमा विकास गर्ने गरी बजेट विनियोजन गरिएको हो । तेमाल सुख्खा क्षेत्र हो । पानीको समेत अभाव भएको स्थानमा कागतीको उत्पादन गर्न सकिन्छ । त्यसकारण पनि आम्दानीको प्रमुख श्रोत बन्न सक्ने, कोरोना भाईरस जस्ता महामारी नियन्त्रणमा भिटामीन सि आवश्यक हुने र स्वस्थवद्र्धक कागती उत्पादनलाई सरकारले प्राथमिकतामा राखेको हो । 
    केहि वर्ष अघिसम्म जिल्लाको महाभारत र खानिखोला गाउँपालिकाको केन्द्रसम्म समेत सडक थिएन । निरन्तरको पहल र बजेट विनियोजन पछि हिउँद वर्षात् दुबै समयमा चल्न सक्ने गरी दुबै पालिकाको केन्द्र पुग्ने सडक निर्माणको कार्य सम्पन्न भएको छ । अहिले उक्त पालिकाहरुमा पुग्न विभिन्न सडकहरु निर्माण भईसकेका छन् । अझै उक्त सडकहरुको स्तरोन्नतीका लागि हरेक वर्ष तीन तहकै सरकारले बजेट विनियोजन गरेका छन् । अब सडक सञ्जाल नजोडिएको स्थान काभ्रेमा कहिँ छैन । सडकसँगै सुरुङ्गका लागि आगामी वर्षमा बजेट विनियोजन भएको छ । सडक, सुरुङ्गसँगै सरकारले काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाटबाट धरान चतरा जलमार्गका लागि समेत बजेट विनियोजन गरेको छ । अघिल्लो वर्ष सुनकोशी ड्यामका लागि अध्ययन गर्न बजेट विनियोजन गरेको थियो । अध्ययन पश्चात सरकार लगानीकर्ताको खोजीमा छ । उत्त परियोजनासँगै दोलालघाट चतरासम्मको जलमार्गले तराई जोड्ने अर्काे मार्ग सहज र सरल हुनेछ । आर्थिक दृष्टिकोणले समेत जलमार्ग महत्वपूर्ण मानिनेछ । काभ्रेको लागि पर्यटनको महत्वपूर्ण क्षेत्र दोलालघाट थप आर्कषण र उत्कृष्ट गन्तब्य बन्ने निश्चित छ । 
    आगामी वर्षको बजेटमा सरकारले काभ्रे हुँदै जाने अरनिको राजमार्गलाई चार लेनको रुपमा निर्माण गर्न बजेट विनियोजन गरेको छ । सुर्यविनायक धुलिखेल सडक खण्डको दातृ निकायसँग निर्माणका लागि संवाद गरिरहेको सरकारले धुलिखेल देखि तातोपानीसम्म चार लेनको निर्माणका लागि बजेट विनियोजन गरेको छ । यो सडक छिमेकी देश चीनको समेत प्राथमिकतामा परेको छ । चीनका राष्ट्रपति नेपाल आएका बखत सरकारले उक्त सडक फराकिलो बनाउने विषयमा सम्झौता समेत गरेको थियो । आगामी वर्षको शुरुवाती देखि नै उक्त आयोजनाहरुले गति लिने सोहि निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभाका पूर्व सांसद् एवं पूर्व मन्त्री गोकुल बास्कोटाले बताउनु भयो । बजेटमा यसअघि पनि समेटिएको काभ्रे भ्याली स्मार्ट सिटी, पाँचखाल, धुलिखेल, बनेपा, पनौती तथा मण्डन शहरी पूर्वाधार कार्यक्रम समेटिएको छ । शहरी क्षेत्रको सौन्दर्यिकरण तथा पुनर्निर्माण गरी स्मार्ट बनाउने उदेश्य अनुरुप उक्त कार्यक्रम राखिएको हो । 
अघिल्लो वर्षका गौरवका आयोजना
    पाँचखालमा मदन भण्डारी विश्वविद्यालय, साँगामा प्रतिरक्षा विश्वविद्यालय, सुरक्षण मुद्रण केन्द्र, करिडोर, खानेपानी, सडक, सिंचाई, ढल प्रशोधन, काभ्रे भ्याली स्मार्ट सिटी, धुलिखेलसम्म ६ लेनको सडक, ग्वार्काे कटुञ्जे राष्ट्रिय राजमार्ग, महाभारत ट्रेल, पाँचखाल सिंचाई परियोजना मार्फत इन्द्रावतीको पानी पाँचखालमा, बुद्ध सर्किट, कोशिपारी जोड्ने चेहेरेको पुल, काभ्रे भ्याली, मण्डनदेउपुर, पाँचखाल, तेमाल, नमोबुद्ध, बेथान्चोक गाउँपालिकामा खानेपानी आयोजना जस्ता महत्वपूर्ण गौरवका आयोजनामा रकम विनियोजन भएको छ । १ सय ११ मेगावाटको कोखाजोर जलाशययुक्त जलविद्युत्त आयोजना, मादनकुँडारी मकैबारी आयोजना ३३ केभिए, पाँचखाल उपत्यका जलश्रोत आयोजना, सामुदायिक तथा ग्रामिण विद्युत्तिकरण अन्य तथा अधुरो ग्रामिण विद्युतिकरण प्राथमिकतामा परेका थिए । सबै योजना चालु अवस्थामा छन् । 

पालिकागत बजेट
    सरकारले प्रस्तुत गरेको बजेटमा जिल्लामा रहेका १३ वटा स्थानीय तहले सुत्रका आधारमा प्राप्त गरेको बजेट मध्ये सबैभन्दा धेरै बनेपा नगरपालिकाले प्राप्त गरेको छ । सबैभन्दा कम खानीखोलाले प्राप्त गरेको छ । बनेपाले ५० करोड ६९ लाख प्राप्त गरेको छ भने खानिखोलाले २६ करोड १६ लाख रुपैयाँ प्राप्त गरेको छ । कसले कति प्राप्त गरे ? तालिकामा उल्लेख छ । संघ सरकारको बजेट पश्चात प्रदेश सरकारले पनि बजेट प्रस्तुत गर्ने छ । उक्त बजेट पश्चात जिल्लाका पालिकाहरुले रकम थप प्राप्त गर्नेछन् । 
प्राथमिकतामा सामाजिक सुरक्षा भत्ता
    सरकारले शुरु गरेको सामाजिक सुरक्षा भत्तालाई प्राथमिकता दिएको छ । सबै प्रकारको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेको छ । जेष्ठ नागरिक भत्ता ७० वर्ष भन्दा माथी उमेर समुहका लागि ३ हजार प्राप्त गर्दै आएकोमा ९ सय थप भएको छ । अपाङ्गता भत्ता (क वर्ग), लोपोन्मुख जाति, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, जेष्ठ नागरिक क्षेत्र तोकिएको, विधवा (आर्थिक सहायता), अपाङ्गता भत्ता (ख वर्ग), बाल पोषण भत्ता वितरण गर्दै आएको थियो । सबैमा ३३ प्रतिशतले बृद्धि भएको हो । (हेरौ कसको कति प्रतिशत बृद्धि भयो तालिकामा) 

आगामी वर्षका नयाँ आयोजना
सुरुङ्गमार्ग

– भक्तपुर–रवि–पाँचखाल सुरुङमार्ग
– गोदावरी–मानेदोभान–पनौती सुरुङ्गमार्ग

जलमार्ग 
दोलालघाट–चतरा जलमार्ग

मनोरञ्जन 
बनेपा नगरपालिका वडा नम्वर १० मा फिल्म सुटिङ स्टुडियो

उत्पादन
– डाँडापारी, कोशिपारी, रोशी र तेमाल क्षेत्रमा कागती उत्पादन
सडक
अरनिको राजमार्ग धुलिखेल देखि चार लेन

स्मार्ट शहर
काभ्रे भ्याली स्मार्ट सिटी र मण्डन शहरी पुर्वाधार 

कुन पालिकामा कति बजेट ? 
धुलिखेल नगरपालिका – ४७ करोड १२ लाख
नमोबुद्ध नगरपालिका –  ३९ करोड २८ लाख
पनौती नगरपालिका – ४५ करोड ७० लाख
पाँचखाल नगरपालिका – ३८ करोड १८ लाख
बनेपा नगरपालिका – ५० करोड ६९ लाख
मण्डनदेउपुर नगरपालिका – ४२ करोड ९९ करोड 
तेमाल गाउँपालिका – ३१ करोड १२ लाख
बेथान्चोक गाउँपालिका – २६ करोड ७० लाख
भुम्लु गाउँपालिका – २९ करोड ८८ लाख
महाभारत गाउँपालिका – २८ करोड ३६ लाख
रोशी गाउँपालिका – ४१ करोड ८७ लाख
खानिखोला गाउँपालिका – २६ करोड १६ लाख 
चौरीदेउराली गाउँपालिका – ३४ करोड ९२ लाख