2026 July 07/ 05:29: 11am

नमोबुद्ध/नमोबुद्धका एक युवा व्यवसायीले नगरपालिकास्थित मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । 
नमोबुद्ध नगरपालिका १० का युवा व्यवसायी धावा लामा (टिकावहादुर तामाङ) ले व्यक्तिगत तर्फबाट दुईवटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । लामाले मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्यचौकीलाई पिपिई, एन ९० मास्क, नेबुलाइजर मास्क, भिटामिन सी, सेनिटाइजर, ग्लोब्स, एजिथ्रोमाइसिन सहित अत्यावश्यक औषधीहरु हस्तान्तरण गरेका छन् । मेथिनकोट अस्पतालमा आयोजित कार्यक्रममा व्यवसायी लामा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संयुक्तरुपमा अस्पतालका निमित्त मेडिकल सुलरिटेन्डेन्ट सागर जर्घामगरलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तत्कालका लागि आवश्यकताको रुपमा रहेका औषधीसहित स्वास्थ्य सामग्री सहयोग गरेकोमा व्यवसायी लामाप्रति आधार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षासमेत रहेको बताए । यस्तै मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्घामगरले मेथिनकोट अस्पतालले प्रतिकुल अवस्थामा सीमित स्रोतसधानका बाबजुद कोरोना संक्रमण नियन्त्रण र रोकथामको अभियानमा लागिरहेको र यस्तो सहयोगले थप हौसला पुगेको बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिका १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा नमोबुद्ध नगरपालिकाले थालेको अभियानमा साथ दिएकोमा सहयोगी व्यवसायी लामाप्रति आभार प्रकट गरे । उनले आगामी दिनमा थप सहयोगका लागि आग्रहसमेत गरेका थिए । यस्तै नमोबुद्ध नगरपालिका ९ मा रहेको दाप्चा स्वास्थ्यचौकीमा व्यवसायी लामाले वडाअध्यक्ष मेलवहादुर लामा र स्वास्थ्यचौकी इन्चार्ज बलराम पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।