2026 July 07/ 05:29: 09am

    बनेपा/कोरोना भाईरसको संक्रमणका कारण लगातार दोश्रो वर्ष पनि बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा रोकिएको छ । हिजो बुधबार र आज विहिबार बनेपामा चण्डेश्वरी जात्राको रथ तान्ने लगायतको विधि गरी जात्रा बनाउने चलन थियो । 
    बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, वडा अध्यक्षहरु, मन्दिरका पुजारी र सरोकारवालाहरुको बैठकले चण्डेश्वरी जात्रा संचालन गर्न नसकिने भएकाले क्षमा पूजा सहित नित्य कर्म र पुजा अर्चना गरी सम्पन्न गर्ने निर्णय गरेको छ । बनेपा नगरपालिकाले जेठ १२ गते मध्यराती १२ बजेसम्म नगरका सबै क्षेत्रमा शिल गरेको छ । दुग्ध, तरकारी, मासु, खाद्यान्न लगायतका पसलहरु पनि शिल अवधीमा खोल्न निषेध गरिएको छ । दैनिक संक्रमण दर बढेको र संक्रमणका कारण मृत्यु हुने क्रम नरोकिएकाले जात्रामा हुने भिडभाड रोक्न परम्परागत रुपमा मनाउँदै आएको चण्डेश्वरीको रथ सहितको जात्रा स्थगित गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले बताउनु भयो ।     चण्डेश्वरी जात्रा स्थगित गर्दै क्षमा पूजाको तयारी गरिएको छ । रथ सहित अन्य तयारी अन्तिम चरणमा पुगे पनि संक्रमण फैलिए पछि जात्रा स्थगित गरिएको हो । बुद्ध पूर्णिमाका दिन बनेपाको तीनधाराबाट रथ लैजानुको सट्टा अब चण्डेश्वरी माईको मन्दिरमा क्षमा पूजा गरिनेछ । १७ औं शताब्दी देखि सुरु भएको बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा कोरोना भाईरसको संक्रमणको त्रासका कारण स्थगित गरिएको हो । हरेक बर्ष बैशाख पूर्णिमाका दिन मनाउने जात्रा यो वर्ष जेठ १२ र १३ गते हुँदै थियो । नगरपालिकाले क्षमा पूजा गरेर जात्रा स्थगित गर्ने निर्णय गरेको छ । ‘जात्रामा हुने जमघट तथा भिडभाड नियन्त्रण गर्न सम्भव छैन’–बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेले भन्नुभयो–‘सरोकारवालाहरुको परामर्श र छलफल पछि क्षमा पुजा गरी ऐतिहासिक चण्डेश्वरी जात्रा स्थगित गर्ने निर्णय गरिएको हो ।’ 
    बनेपाको तीनधारा डबलीमा रथ बनाई जुगी चक्रको पूजा सम्पन्न गरे पछि रथको यात्रा सुरु गर्ने चलन थियो । जात्रामा रथ बोक्नेहरु सयौँको संख्यामा हुने गरेका थिए । पूर्णिमाको अवसरमा चण्डेश्वरीको नियमित पुजा अर्चना लगाएतका कार्यहरु पुजारी तथा रकमीहरुबाट गर्ने, माताको खट यात्रा स्थगित गर्ने, माताको परम्परागत जात्रा सञ्चालन गर्न नसकेकोमा क्षमा पुजा गर्ने निर्णय गरिएको नगर प्रमुख बादेले जानकारी दिनुभयो । १७ औ शताब्दी देखि शुरु भएको चण्डेश्वरीको जात्रा स्थगित भएको यो दोश्रो पटक हो । चण्डेश्वरी माईको जात्रा रोकिएकोमा नगरबासीहरुले घर–घरमा नै पुजा गरी कोरोना रोगबाट सुरक्षित रहन नगर प्रमुख बादेले आग्रह गर्नु भएको छ । 

चण्डेश्वरी जात्राको इतिहास 
बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्राको खाली रथ बुद्ध पूर्णिमाका दिन चण्डेश्वरीमाईको मन्दिरमा पु¥याई भोलिपल्ट चण्डेश्वरी मन्दिरबाट देउता राखेर फर्काईन्छ । नगरपालिकाले जात्राको अवसर पारी सार्वजनिक विदा दिदै आएको थियो । हरेक वर्ष वैशाख शुक्ल चण्डी पूर्णिमाको दिन बनेपाको ७ गाउँले मनाउँदै आएको आराध्यदेवी चण्डेश्वरीको ऐतिहासिक जात्रामा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहने गरेको थियो । 
जात्रामा बनाईने रथमा पाँग्रा हुँदैन, तान्ने पनि होइन । यसलाई काँधमा बोकिन्छ । रथ जात्रा सुरु भए देखि नै बजारका दाँया–बायाँका घरका झ्यालबाट पूजा गर्ने, चटामरी चढाउने चलन छ । चण्डेश्वरी जात्रामा दुईदिन रथ लैजाने र फर्काउने गरिएको छ । जात्राको पहिलो दिन पूर्णिमाको बिहानै देखि आराध्यदेवी चण्डेश्वरीमा भक्तजनहरुको भीड लाग्छ । पहिलो दिन चिराग बालेर बनेपाको लायकुबाट चण्डेश्वरी हुँदै जलेश्वरसम्म पुगेर बिर्सजन गरिन्छ । जात्रामा चिराग पूजा लाइमःत पूजा नामले चिनिन्छ । यसलाई जात्रा सुरु भएको मानिन्छ । यो पूजाबाट जलेश्वर महादेवले मनको इच्छा पूरा गरिदिने जन विश्वास छ । उक्त दिन निःसन्तान, बाँझोपन भएका र गर्भपतन भएका महिलाहरुले स्नान गर्यो भने अर्को पटक गर्भ रहने विश्वास गरिन्छ । पूजाआजाको साथमा धिमेवाजा अन्य बाजागाजाका साथ सबै हर्षोउल्लासले रथ बोक्दै रमाउँदै हिँड्छन् । बनेपाको लायकुबाट सुरु भएको रथ चण्डेश्वरीसम्म पु¥याईन्छ । जाँदा रित्तो रथमा भोलिपल्ट चण्डश्वरीको मूर्ति राखेर बनेपा बजार घुमाइन्छ । मन्दिर प्राङगणमा पुगे पछि एक रात रथ त्यहीँ रहन्छ । जात्रा मुख्य रुपमा दुई दिन मात्र मनाईए पनि जात्राको पूजा सम्बन्ध फागु पूर्णिमाको दिन देखि जोडिन आउँछ ।
फागु पूर्णिमाको दिन चण्डेश्वरीमा पुजारीको तर्फबाट चण्डेश्वर महादेव र चण्डेश्वरीको निम्तो पूजा गर्नु पर्ने चलन छ । बनेपाको घोगेचौरको उकालोमा नबिसाई रथलाई बोक्नुपर्ने हुन्छ । यो बेलामा बनेपा लगायत अन्य जिल्लाका स्थानीयहरुको जात्रा हेर्ने भीड धेरै हुने गर्छ । घोकेचौरबाट ओरालो लागेर भैरब कुण्डमा पुगे पछि रथ हेर्नेको भीड अझै बढ्छ । त्यहाँ देवतालाई स्नान गराइन्छ । जब रथ बनेपा बजारमा भित्रिन्छ, द्धारे मार्पmत लशकुश पूजा गरिन्छ । त्यस बेलासम्म देवीको मुख (अनुहार) ढकनीले छोपेको हुन्छ । यस ठाँउमा पुगे पछि भोछिभोयाका दूधे बालकबाट ढकनी हटाई बनेपा बजार भर धुमधामका साथ रथ जात्रा गरिन्छ । रथ बोक्नेहरुलाई भिजाएको केराउ, विभिन्न फलफूल, चिसो पेय पदार्थ, रक्सी खुवाउने पनि चलन छ । पूर्णिमाको अघिल्लो रातमा चण्डेश्वरी मन्दिरमा १२ ओटा कालो बोकाको बलि पूजा गरिन्छ । त्यसैदिन बोकाहरुको मासु बनेपाको ‘न्हयकंचपा’ भन्ने स्थानमा कलमा दान गरिन्छ, मासु छरिन्छ, छरिएको मासु भेटाउने भाग्यमानी मानिन्छ । यसपछि देवतालाई काँधमा राखि चण्डेश्वरी फर्काइन्छ र जात्रा समापन भएको मानिन्छ । जात्रा सकिएको भोलिपल्ट १२ बजेसम्म मात्र मन्दिर खुल्ला हुन्छ । त्यसपछि वर्ष भरिको लागि मन्दिर बन्द हुन्छ । जात्राका लागि बनेपा नगरपालिका, मालपोत कार्यालय मार्फत नेपाल सरकार र अन्य क्षेत्रबाट समेत गरी झण्डै २० लाख सरकारी रकम खर्च हुँदै आएको छ । बनेपा नगरपालिकाले बनेपामा हुने भीमसेन जात्रा, गाईजात्रा, चण्डेश्वरी माताको नित्य पूजा, जालदेउ जात्रा, मिलापूजा, पाश्चर्य पूजा लगायत संस्कृति संरक्षणमा खर्च गर्दै आएको छ । जात्रामा कम्तीमा १४ वटा बलि पूजा समेत गरिन्छ । संस्कृतिविद् ज्ञानकाजी मान्नधरले दिएको जानकारी अनुसार चण्डेश्वरी देवी बनेपालीको आराध्यदेवी भएको उल्लेख गर्दै चण्डेश्वरी देवीले दैत्यराज चण्डाशुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको छ ।
    वंशावली अनुसार सत्य युगदेखि जात्रा हुने गरेको उल्लेख गर्दै उहाँले चण्डासुर दैत्यको बध भएपछि देवलोकमा देवी चण्डेश्वरीको बाजा गाजा सहित जात्रा गरिएकाले सो जात्राको परम्परा सुरु भएको हो । नेपाल संवतको सुरुवात देखि नै नेपालमा जात्राको सुरुवात भए अनुसार काभ्रेमा जात्रा गर्ने प्रचलन रहेको संस्कृतविद्हरुको दावी छ ।