2026 July 07/ 05:29: 12am

    धुलिखेल/श्रीमतीलाई खाल्डो खनेर पुरेको अभियोगमा प्रहरीले श्रीमान र ससुरालाई नियन्त्रणमा लिएको छ । जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ गोठपानी कालिमाटी घर भएकी २२ बर्षिया सुमिना गुरुङ्गको शव प्रहरीले गाडिएको स्थानबाट उत्खनन् गरेको छ । 
    प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार घटनामा संलग्न भएको अभियोगमा महिलाका ससुरा ६६ बर्षिय च्याङ्गवा भनिने चन्द्रबज्र लामा र श्रीमान् २८ बर्षिय सोनाम लामालाई नियन्त्रणमा लिईएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि पठाई थप अनुसन्धान शुरु गरिएको डिएस्पी खतिवडाले जानकारी दिनुभयो । साविक गोठपानी गाविस वडा नम्वर १ हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ स्थित गोठपानी कालिमाटी भन्ने स्थानमा तनहँु जिल्ला साविक बन्दीपुर गाविस वडा नम्वर ६ घर भई हाल बन्दीपुर नगरपालिका वडा नम्वर ४ लोही माईतीघर भएकी २२ बर्षिया सुमिना गुरुङ्ग लामाको सोनाम लामासँग केहि वर्ष अघि मात्रै प्रेम विवाह भएको थियो । 
    अन्र्तजातिय विवाह, पारिवारिक बेमेलका कारण श्रीमान श्रीमती बीच केहि समय देखि झै झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजधानीमा निषेधाज्ञा भएको र परिवार पनि गाउँमै रहेकाले उनिहरु गाउँमै थिए । सुमिना २०७८ जेठ १ गते दिउँसै देखि गाउँबाट हराएकाले स्थानीयहरुको समेत सहयोगमा खोजतलास शुरु गरिएको थियो । माईतीमा पनि सुमिनाका बाबु विष्णुबहादुर गुरुङ्ग र आमा जुनु गुरुङ्गलाई छोरी हराएको बारेमा जानकारी गराईएको थियो । साँझ सुमिना गुरुङ्ग सलको पासो लगाएर झुण्डिएको अवस्थामा श्रीमान् सोनाम लामाले देखे । उनले घर परिवारलाई भने । तत्कालै पासो काटियो । झुण्डिएर मरेकी श्रीमतीका बारेमा प्रहरी र आफन्तलाई खबर नगरी पारिवारीक सल्लाहमा घर भन्दा तल आफ्नै मकै बारीमा खाल्डो खनी गाडिदिए । उनले श्रीमती हराईरहेको र नभेटिएकाले खोजिदिन स्थानीय र आफन्तलाई अनुरोध गर्दै आएका थिए । 
    प्रहरीले प्राप्त गरेको विशेष सूचनाका आधारमा सोनाम लामालाई प्रहरीले नियन्त्रणमा लिई जेठ ५ गते घटनास्थलमा पु¥याई श्रीमती गाडिएको स्थान देखाए पछि प्रहरीले सुमिना गुरुङ्गको शव उत्खनन् गरेको थियो । शव उत्खनन् गरेसँगै प्रहरीले सुमिनाका श्रीमान् सोनाम र उनका ससुरा चन्द्रबज्र लामालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ । श्रीमान् सोनामले श्रीमती झुण्डिएको देखे लगत्तै बचाउन सकिन्छ कि भन्ने आशमा पासो काटेको तर उनि मरिसकेकाले अरुले थाहा पाउँछन् भन्ने डरले बाबुको सल्लाहमा बारीमा खनेर गाडिदिएको बयान दिएका छन् । प्रहरीले आवश्यक अनुसन्धान गरी दोषिलाई कारवाहीका लागि अदालत बुझाईने प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनु भयो । 
    निषेधाज्ञा शुरु भए लगत्तै जिल्लामा महिला तथा बालबालिकाहरु प्रति हिंसाका घटना भएका छन् । धुलिखेल ९ मा १४ वर्षकी बालिकालाई जर्बजस्ति करणीको प्रयास गरिएको भन्दै उजुरी परेको छ भने पनौती ५ सुब्बागाउँकी १५ बर्षकी बालिकालाई जंगलमा पु¥याई जर्बजस्ति करणीको प्रयास गरेको अभियोगमा उजुरी दर्ता भएको छ । दुबै घटनामा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताउनु भयो । बनेपा १३ मा अपाङ्ग महिलामाथी भएको जर्बजस्ति करणी अभियोगमा पक्राउ परेकालाई निषेधाज्ञाकै अवधीमा कारागार चलान गर्ने आदेश दिएको छ । 
    घटनाका बारेमा राष्ट्रिय महिला आयोगले चासो ब्यक्त गरेको छ । समाचार प्रकाशन भए लगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आयोग अध्यक्ष कमला कुमारी पराजुलीले टेलिफोन मार्फत घटनाको अनुसन्धानमा कमी हुन नदिई दोषिलाई कानुन अनुसारको कारवाहीमा ध्यान दिन अनुरोध गर्नु भएको छ ।