2026 July 07/ 05:58: 07am

    बनेपा/कोरोना भाईरसको संक्रमण फैलिएसँगै स्थानीय सरकारहरुले पनि पालिकाको सिमा भित्र रहेर शिलबन्दी गरिरहेका छन् । प्रशासनले जारी गरेको निषेधाज्ञाले मात्रै नभएर शिल गरिएको स्थानीय सरकारले बताएका छन् । 
    शहरी क्षेत्रमा बढिरहेको संक्रमणको दर गाउँमा पुगेको छ । गाउँपालिकाका वडाहरु तथा नगरपालिकाको ग्रामिण क्षेत्रमा संक्रमण दर फैलिएसँगै स्थानीय सरकार जुर्मुराएका हुन् । बनेपाले शुरु गरेको शिलबन्दी घोषणा क्रमशः नमेबुद्ध, पनौती, धुलिखेल, पाँचखाल हुँदै मंगलबार राति देखि मण्डनदेउपुर नगरपालिकाले समेत शुरु गरेको छ । मण्डनदेउपुर र पाँचखालमा पहिला नै जेठ २१ गतेसम्म शिल घोषणा गरिएको थियो । अन्य पालिकाहरुले शिल अवधी बढाएका छन् । बनेपाले थप पाँच दिन थप गर्ने निर्णय गरेको छ भने अन्य पालिकाहरुले पनि शिल अवधी बढाई नागरिकहरुको स्वास्थ्यमा ध्यान दिने बताएका छन् । रोशी गाउँपालिकाले पूर्ण रुपमा शिल गरेको छ भने बेथान्चोक गाउँपालिकाले दुध र तरकारी बाहेक सबै सेवा बन्द गरेको छ । भुम्लु, चौरीदेउराली, तेमाल, महाभारत, खानीखोला गाउँपालिकामा संक्रमण दर बढे पनि शहरी क्षेत्र बन्द भए पनि शिल जस्तै भएको छ । 
    पालिकाहरुले शुरु गरेका आईसोलेसनमा संक्रमित विरामीहरु भर्ना भएका छन् । आईसोलेसन, अस्पतालका शैयाहरु भरिभराउ छन् । सहज रुपले अझै नागरिकले उपचार प्राप्त गर्न सकिरहेका छैनन् । नेपाल सरकारले धुलिखेल अस्पताललाई पटक पटक रकम उपलब्ध गराएको छ । एचडियु, भेन्टिलेटर र आईसियु बेडका लागि सरकारले रकम उपलब्ध गराएसँगै कोरोना संक्रमित विरामीहरुको उपचार निःशुल्क भएको छ ।