2026 July 07/ 05:29: 10am

मोतीराम तिमल्सिना
बनेपा

    कोरोना भाईरसका विरामीहरु बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । धुलिखेल र बनेपाको शीर मेमोरियल अस्पतालमा भएका विरामीहरुका लागि अक्सिजन अभाव हुन थालेको अस्पतालहरुले बताएका छन् । 
    दैनिक ५ सय सिलिण्डर अक्सिजन धुलिखेल अस्पतालमा भर्ना भएका विरामीहरुका लागि आवश्यक हुन थालेको छ भने बनेपामा एक सय भन्दा धेरै अक्सिजन आवश्यक हुन थालेको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्रले बनेपामा रहेका अस्पतालहरु र अनुमति प्राप्त भईनसकेको तयारी अवस्थामा रहेको अस्पताल भोमि संचालनका लागि तयारी गरेको छ । सबै अस्पतालमा आवश्यक पर्ने अक्सिजन ग्याँस सिलिण्डर सहितको ब्यवस्थापनका लागि प्रशासनले अस्पताल ब्यवस्थापनलाई निर्देशन दिईसकेको छ । पछिल्लो समय कोरोना संक्रमितहरु भेन्टिलेटर, आईसियु, एचडियु र जनरल वार्डमा अक्सिजन अभावका कारण मर्न थालेका छन् । संकटको महामारीमा अक्सिजन समेत ब्यवस्थापन गर्न नसक्दा ब्यक्तिको निधनले समुदायमा त्रास फैलिएको छ । 
२४ सै घण्टा उत्पादन    
    छिमेकी भक्तपुर जिल्ला लगायतका अस्पतालमा अक्सिजन नपाएर कोरोना संक्रमित विरामीका मृत्युका खबर सार्वजनिक भईरहँदा काभ्रेपलाञ्चोकमा रहेका अस्पताल, आईसोलेसन सेन्टर र नागरिकहरुलाई घर घरमा प्रयोग गर्न पर्याप्त अक्सिजनको ब्यवस्थापनका लागि अक्सिजन उद्योगमा नियमित उत्पादनका लागि नेपाली सेनाको प्राविधिक टोली २४ सै घण्टा सक्रिय छ । ‘जिल्लाबासीहरुलाई अक्सिजनको अभाव हुन नदिन २४ सै घण्टा उद्योग संचालनमा ल्याउने निर्णय भएको हो’–संकट ब्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘जिल्लामा रहेका अस्पताल, आईसोलेसन केन्द्र तथा अशक्त तथा जसलाई अक्सिजन विना जिउन असम्भव छ त्यस्ता विरामीहरुका लागि घरमा आवश्यक पर्ने अक्सिजनको अभाव हुन नदिने गरी तयारी गरिएको छ ।’ प्रशासन र डाक्टरको सिफारिसका आधारमा उद्योगबाट अक्सिजन विक्री भईरहेको छ । ‘अक्सिजनको अभाव भएर विरामीको निधन हुन्छ कि ? भन्ने शंका नगरी ढुक्क रहन अनुरोध गर्दछु’–प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो–‘जिल्लामा अक्सिजन पर्याप्त उत्पादन भईरहेको छ ।’ तर पनि अक्सिजन अभाव हुन थालिसकेको छ । जिल्लामा उत्पादन भएको अक्सिजन उद्योगबाट राजधानीका विभिन्न अस्पतालमा रहेका विरामीहरुको उपचारमा खर्च गरिन थालिएको छ । 
    ‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला संकट ब्यस्थापन केन्द्रले जिल्लाको पनौती नगरपालिकास्थित ढलमलेमा रहेको नवज्योति ग्याँसेस प्रालिमा रहेका दुईवटै प्लान्ट २४ सै घण्टा संचालन गर्ने निर्णय अनुसार अक्सिजन उत्पादन भईरहेको छ’–ब्यवस्थापक प्रकाश थापाले भन्नुभयो–‘२० दिन देखि उद्योगमा रहेका ३ सय क्युफिट क्षमताका प्लान्ट २४ सै घण्टा संचालन भईरहेका छन् ।’ उद्योगमा कार्यरत प्राविधिकहरु विरामी भई विदामा रहेकाले उद्योग बन्द हुने अवस्थामा थियो । नेपाली सेनाको श्री स्वयम्भु बारुदखाना कार्यालयमा कार्यरत प्राविधिक हवल्दारहरु श्यामकाजी कार्की, अनिल भण्डारी, शिवराज शाही र सञ्जिव खनालको टोली शुक्रबार साँझ देखि उद्योगमा कार्यरत छ । विरामीका लागि तत्काल अक्सिजन अभाव हुन नदिन, अस्पताल, आईसोलेसन सेन्टरमा अक्सिजन अभाव भई विरामीलाई समस्या हुन नदिन तथा विनाकाम थन्किएका सिलिण्डर खोजेर विरामीकोमा पु¥याउन र अक्सिजन उत्पादनमा थप सहजता प्रदान गर्न सुरक्षा समितिको निर्णय अनुसार नेपाली सेनाले अक्सिजन उत्पादनका लागि प्राविधिक टोली खटाएको कालीजंग गणका गणपति कर्णेल मिलन थापाले जानकारी दिनु भयो । 
    कोरोना भाईरसको संक्रमण बढि रहँदा पछिल्लो पटक अक्सिजनको माग बढिरहेको छ । अघिल्लो पटक अस्पताल तथा आईसोलेसनमा पनि अक्सिजनको माग थिएन । त्यतिबेला त दैनिक ५ सय सिलिण्डर पनि विक्री हुन मुस्किल थियो । अहिले दैनिक १ हजार देखि १२ सय सिलिण्डर ग्याँस उत्पादन भई विक्री भईरहेको छ । माग अनुसारको उत्पादनले धान्न सकेको छैन । हाईड्रोपावर, खानेपानी आयोजना, मोटर तथा मोटरसाईकल ग्यारेज, सिमेन्ट कारखाना लगायतमा अक्सिजन ग्याँस खपत हुँदै आएको थियो । उद्योगमा ५ सय सिलिण्डर छन् । दैनिक एक हजार भन्दा धेरै सिलिण्डरले ग्याँस भरेर लगिरहेका छन् । उद्योगको शनिबार नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, कालीजंग गणका गणपति कर्णेल मिलन थापा लगायतको टोलीले अनुगमन गरी अक्सिजनको सहि ब्यवस्थापन गर्न सुझाव दिएको थियो । उद्योगमा सेनाको प्राविधिक टोलीले उत्पादन गर्ने र दुरुपयोग हुन नदिन प्रहरीले २४ सै घण्टा सुरक्षा दिईरहेको छ ।