बनेपा/कोरोना भाईरसको संक्रमण बढेसँगै जिल्लामा रहेका स्थानीय सरकारहरुले सेवा स्थगनको सूचना प्रकाशन गरेका छन् । धुलिखेल नगरपालिकाले जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको निषेधाज्ञाको सूचनाका आधारमा सेवा स्थगन गरेको बताएको छ ।
नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नगरबासीहरुको स्वास्थ्यलाई ध्यान दिदै नगरपालिकाबाट प्रदान हुने सेवालाई तत्कालका लागि अत्यावश्यक बाहेक सबै स्थगन गरेको बताउनु भयो । ‘हामीले नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘नगर भित्र संक्रमणको दर बढिरहेकाले संक्रमण फैलन नदिन र संक्रमण भईसकेकाहरुलाई समयमै उपचार गर्ने ब्यवस्था मिलाउने गरी अक्सिजन सहितको आईसोलेसन स्थापना गरिएको छ ।’
धुलिखेलसँगै नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिकाले पनि सूचना प्रकाशन गरी सेवा स्थगन गरेका छन् । बेथान्चोक गाउँपालिकाले पनि सेवा स्थगनको सूचना प्रकाशन गरेको छ । नागरिकहरुलाई संक्रमणबाट बच्न भिडभाड नगर्न, अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन स्थानीय सरकारले अनुरोध गरेका छन् । तर पनि विगत वर्ष जस्तै यो वर्ष स्थानीय सरकारहरुको सक्रियता नभएको भन्दै नागरिकहरुले आलोचना गरेका छन् ।
एकै दिन चारको निधन
कोरोना भाईरस संक्रमणका कारण जिल्लामा आईतबार मात्रै चार जनाको निधन भएको छ । बनेपा घर भएका ६१ बर्षिय जेष्ठ नागरिक र भारतको बंगाल घर भई बनेपामा सुनचाँदीको काम गर्ने एक युवाको आईतबार कोरोना संक्रमणका कारण निधन भएको अस्तालले जानकारी दिएको छ । उनि १० दिन अघि भारतबाट बनेपा आएका थिए । त्यस्तै ललितपुर निवासी दुई जना र महोत्तरी जलेश्वर घर भएका एक जनाको निधन भएको छ । सोमबार विहान अर्का एक जनाको धुलिखेल अस्पतालमा निधन भएको छ ।





