2026 July 07/ 04:41: 24am

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा ४८ हजार ९ सय ३५ जनाले राष्ट्रिय परिचयपत्रका लागि तस्विर खिचाएका छन् । रोशी, खानीखोला, महाभारत र बेथान्चोक गाउँपालिकामा परिचयपत्रको अभियान सकिएको छ भने भुम्लु र चौरीदेउरालीमा संचालन भईरहेको छ । छिट्टै तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकामा शुरु हुनेछ । मण्डनदेउपुर र पाँचखाल नगरपालिकामा भुम्लु र चौरीदेउरालीमा सकिए लगत्तै अभियान शुरु हुनेछ । 
    पालिकाको केन्द्र तथा पालिकाका सबै वडाहरुमा टोली पुगेर राष्ट्रिय परिचयपत्रका लागि तस्विर लिने क्रम जारी छ । जिल्लामा १ लाख ९० हजार ६ सय ६१ नागरिकहरुको परिचयपत्रका लागि तस्विर लिने लक्ष्य राखिएको छ । जिल्ला प्रशासन कार्यालयले संयोजन गरिरहेको राष्ट्रिय परिचयपत्र अभियान यतिखेर भुम्लु र चौरी देउराली गाउँपालिकामा भईरहेको छ । भुम्लु गाउँपालिकामा बैशाख दोश्रो सातासम्म टोली रहनेछ । पहिलो सातासम्म ६ हजार ७ सय ६७ जनाले राष्ट्रिय परिचयपत्रका लागि तस्विर खिचाएका छन् । चौरीदेउराली गाउँपालिकामा शुरु भएको केहि दिन मात्रै भएको छ । एउटा पालिकामा १५ दिन टोली रहनेछ । तीन दिनमा गाउँपालिकाका विभिन्न वडाहरुमा १ हजार ५ सय ७९ जना नागरिकले तस्विर खिचाएका छन् । जिल्लामा पहिलो पटक रोशी गाउँपालिकामा अभियान शुरु गरिएको थियो । रोशी गाउँपालिकामा २०७७ फागुन ६ गते शुरु भएको अभियानमा १२ हजार ७ सय ६९ जनाले तस्विर खिचाएका छन् । १३ हजार ८ सय ३९ लक्ष्य राखिएकोमा केहि प्रतिशत मात्रै नपुगेको कार्यालयले जानकारी दिएको छ । उक्त पालिकामा १९ हजार ७ सय ६१ मतदाता रहेका छन् । मतदाता हुन योग्य ब्यक्तिले परिचयपत्रका लागि तस्विर खिचाउन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । 
    त्यस्तै खानीखोला गाउँपालिकामा ७ हजार ९ सय ५३ मतदाता रहेका छन् । ५ हजार ३ सय ७० लक्ष्य राखेकोमा ४ हजार ९ सय ६८ जनाले तस्विर खिचाएका छन् । त्यस्तै महाभारत गाउँपालिकामा १० हजार ५ सय ३४ मतदाता रहेका छन् । ७ हजार ३ सय ७७ जनाको लक्ष्य राखिएकोमा ७ हजार ६ सय ८९ जनाले तस्विर खिचाएका छन् । लक्ष्य भन्दा धेरै ब्यक्तिहरुले तस्विर खिचाएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनु भयो । त्यस्तै बेथान्चोक गाउँपालिकामा १३ हजार ४ सय ६ मतदाता रहेकोमा ९ हजार ३ सय ८९ जनाको तस्विर लिने लक्ष्य राखिएको थियो । लक्ष्य भन्दा धेरै १० हजार ९७ जनाको तस्विर खिचिएको कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयको दुई स्थानमा ५ हजार ७९ जनाले तस्विर खिचाएका छन् । चालु आर्थिक वर्ष भित्र ६० प्रतिशत काम सम्पन्न गर्ने गरी कार्य भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिनु भएको छ ।