2026 July 07/ 04:41: 53am

    धुलिखेल/मालपोतमा सेवाग्राहिलाई हैरानीमालपोत कार्यालय काभ्रेपलाञ्चोकले नागरिकलाई सुविधाका नाममा सास्ति थोपरिरहेको सेवाग्रहिले बताएका छन् । जग्गाको कारोवारका लागि आएका सेवाग्राहिहरुले हैरानी ब्यहोर्नु परेको गुनासो ब्यक्त गर्न थालेका छन् । 
    मालपोत कार्यालय काभ्रेको सुब्बा पदमा कार्यरत थिए दामोदर कोईराला । उमेर हदका कारण २ महिना अघि नै उनको अवकाश भयो । मुद्दा फाँटमा कार्यरत कोईराला विना नियुक्ति र तलब दैनिक सोहि हैसियतमा उपस्थित भई नागरिकलाई सेवा होईन दुःख दिईरहेका छन् । उक्त फाँटबाट हाल साविक, संशोधन, नामसारी, मोहि बाँडफाँड लगायतका कार्य हुन्छन् । केहि साता अघि मोहि बाँडफाँड खुलेको भए पनि नागरिकहरुले जानकारी प्राप्त गरेका छैनन् । पुराना फाईलहरु, मोहि बाँडफाँडका झण्डै ५ सय वटा फाईल र हाल साविकमा चलखेल गर्ने उद्देश्यले उनी उक्त फाँटमा निरन्तर धाईरहेका छन् । न त मालपोत कार्यालय उनलाई नआईज भन्न सक्छ न त उनै जागिर सकिए पछि विना नियुक्ति र पारिश्रमिक काम गर्नु हुँदैन भनेर आउन छाड्छन् । लेखापढी ब्यवसायीहरुका अनुसार उनले दैनिक ५÷७ हजार नागरिकहरुलाई दुःख दिएकै आधारमा कमाई रहेका छन् । अनाधिकृत ब्यक्तिले राज्यका कागजात हेर्ने, निर्देशन दिने र नागरिकलाई दुःख दिने काम गरिरहँदा प्रशासन समेत मौन छ । 
    सशित भण्डारी । उनि मालपोत कार्यालय काभ्रेको १२ नम्वर कम्प्युटर फाँटका अपरेटर हुन् । कार्यालय समयमा उनी आफ्नो कुर्सीमा बसेर नागरिकलाई सेवा दिने भन्दा पनि मालपोत कार्यालय परिसरको प्राङ्गणमा लेखापढी ब्यवसायीसँग ‘डिल’ गरिरहेका भेटिन्छन । २०७८ बैशाख ५ गते दिउँसो २ बजे उनी कुर्सी खाली राखी सेवाग्रहिको लाईन राखेर डिल गरिरहेका भेटिएका थिए । उनी जस्ता अन्य केहि कर्मचारीहरुको काम नै कार्यालय भन्दा बाहिर रहेर सेवाग्रहिहरुलाई दुःख दिने योजनामा संलग्न हुने हो । २०७७ असोज २१ गते प्रमुख मालपोत अधिकृतका रुपमा कार्यरत लोकबहादुर भण्डारी ६ महिनामा चैत्र २५ गते विराटनगर सरुवा भए पछि निमित्त प्रमुखका भरमा मालपोत कार्यालय संचालन भईरहेको छ । लेखापढी ब्यवसायीहरु मुद्दा फाँट तथा अन्य मोठहरुमा प्रवेश गरी आफुखुशी नागरिकहरुका सम्पतिका पोकाहरु खोलिरहेका छन् । जीवनभर कमाएको सम्पतीले जग्गा खरिद गर्ने ब्यक्तिहरुको कागजात सुरक्षित राख्नुपर्ने कार्यालय र ब्यवस्थापन जिर्ण हुँदा सबै मौन छन् । 
    नागरिकहरुलाई सुविधा दिने नाममा शुरु गरिएको भु–सेवा सर्भर डाउन भन्दै दैनिक अवरुद्ध हुँदै आएको छ । ‘देशभर एउटै सर्भर छ, नागरिकहरु लाईनमा छन्, सर्भर चल्दैन’–निमित्त प्रमुख एवं मालपोत अधिकृत टंकप्रसाद चौलागाईले भन्नुभयो–‘हामीले सक्दो गुणस्तरीय र चाँडो सेवा प्रदान गर्ने प्रयास गरेका छौं तर प्राविधिक कारण हामीले भने जस्तो सम्भव छैन ।’ देशभर रहेका १ सय २६ वटा मालपोत कार्यालय मध्ये १ सय ८ वटामा शुरु गरिएको भुसेवाले नागरिकहरुलाई सुविधा भन्दा धेरै सास्ति दिईरहेको लेखापढी ब्यवसायी संघका अध्यक्ष रोशन श्रेष्ठले बताउनु भयो । २०७७ साउन २२ गते असनपुर ५ सिराहा घर भई बनेपाको दक्षुटोल ५ मा कित्ता नम्वर १०११ र १०२१ मा जग्गा खरिद गरेका रामबाबु शाहले सरकारले लागु गरेको नयाँ नियम अनुसार जग्गाको हाल साविक गर्न दिए । आजसम्म उक्त जग्गाको हालसाविक हुन सकेको छैन । मालपोत कार्यालयमा थन्किएको फाईल अझै अघि बढ्न सकेको छैन । उनि जस्ता ८ सय भन्दा धेरै ब्यक्तिहरुको फाईल मालपोत कार्यालयमा साउन महिना देखि थन्किएका छन् । मालपोत कार्यालयले उपलब्ध गराउने श्रेस्ता समेत कमजोर रहेको सेवाग्रहिहरुले बताएका छन् । रमेशकुमार गौतमको असोज २० गते, लक्ष्मण थापाको साउन ३० गते र रिता दाहालको कार्तिक १६ गते हाल साविकका लागि फाईल मालपोत कार्यालयमा बुझाईएको थियो । मालपोत कार्यालय काभ्रे परिसरमा राखिएको होर्डिङ्ग बोर्डले पनि सेवालाई गिज्याईरहेको छ । जसमा एकै दिनमा काम हुने उल्लेख छ । काम नभएको अवस्थामा क्षतिपूर्ति सहितको ब्यवस्था उल्लेख गरिएको छ । 
    कार्यालय ५ बजेसम्म खुल्ने तर बंैक सेवा ३ बजे बन्द हुने कारण सेवाग्रहिहरु थप संकटमा परेका छन् । एउटा फाँटमा दैनिक ५० वटा टोकन दिने नियमले थप असहजता पैदा भएको छ । एउटै ब्यक्तिले विहानै ३० वटा भन्दा धेरै टोकन लिने र विक्री गर्ने काम पनि मालपोत कार्यालयमा हुने गरेको सेवाग्रहिले बताए । मन्त्रीले मालपोत कार्यालय सुधारका लागि सुशासनका गफ गरे पनि ब्यवहारीकता त्यस्तो नभएको कर्मचारीहरु बताउँछन् । बैकको सेवा बढाउन, टोकन प्रणालीलाई ब्यवस्थित गर्न र जनशक्ति ब्यवस्थापन गर्न गरिएको अनुरोध पनि कार्यालयले सुनुवाई गर्न सकेको छैन ।