लक्ष्मण तिमल्सिना
धुलिखेल
२०७२ बैशाख १२ गते गएको भुकम्पले जिल्लामा ३ सय ७२ जनाको निधन भएको थियो । १४ हजार ८ सय ४३ जना घाईते भए । २ सय ३७ जनाको जिवितै उद्दार गरिएको थियो । ४ सय ९६ वटा प्राणी उद्दार गरिएको थियो । भुकम्पमा घाईते भएकाहरु मध्ये ४ हजार ७६ जना विरामीको उद्दार गरिएको थियो । जिल्लामा ८३ हजार २ सय २४ पुर्ण रुपमा क्षति भएका थिए ।
भुकम्प गएको चार वर्ष पछि कोरोना भाईरसको विपद् नेपाल भित्रियो । नेपालीहरु शुरुमा त्रासमा रहेको भए पनि पूर्ण रुपमा सुरक्षाका उपाय अपनाउन नसक्दा थप संकट भित्रिन थालेको छ । कोरोना भाईरसको महामारी नियन्त्रण, रोकथाम र ब्यवस्थापनमा सबै नागरिकहरु सजग हुनु जरुरी छ । भुकम्प गएको पाँच वर्ष पुनर्निर्माणका धेरै काम भएका छन् । तरपनि ब्यक्तिहरुले भुकम्प विर्सिसकेका छन् । भुकम्पमा घाईते भएकाहरु मध्ये केहि अपाङ्गता भएका छन् । भुकम्प पछिका संरचनाहरु अपाङ्गतामैत्री निर्माण हुनुपर्ने भए पनि ब्यक्तिले निर्माण गरेका आवासहरु अपाङ्ग मैत्री हुन सकेका छैनन् ।
सरकारी भवनहरु, सामुदायिक भवन, सहकारी भवन, गुम्बा, रेडक्रस भवन, लघु जलविद्युत्त, मठ मन्दिर, दुध चिस्यान केन्द्र, सामुदायिक विद्यालय, स्वास्थ्य भवन, प्रहरी चौकी, कृषि उपजहरु १ अरब ३५ करोड ८२ लाख ५० हजार क्षति (खाद्यान्न, विय, तरकारी तथा नगदे बाली, हाट बजार, ब्यवसायिक कृषि फर्म लगायतको क्षति भएको थियो । खानेपानी, शौचालयहरु पशु सेवा केन्द्र र पशुधनमा समेत करोडौंको क्षति भयो । थुप्रै क्षतिका बाबजुत पनि भुकम्प पीडितहरु दुःख विर्सेर सम्भावनातर्फ लागिरहेका छन् ।
बैशाख १२ गते सिन्धुपाल्चोक शिखरपुर गाविस १ घर भएकी २४ बर्षिया शर्मिला कटुवाल खाना खान थाल समात्दै हुनुहुन्थ्यो । आमाले खाना पस्कँदै गर्दा आएको भुकम्पले उहाँलाई त बचायो तर आमालाई सँगै लिएर गयो । आमाले छोरी, छोरीले आमा बचाउन खोज्दा खोज्दै दुबै पुरिए र शर्मिलाको जिवितै उद्धार सम्भव भयो । त्यो दिन उहाँ सम्झन पनि चाहनुहुन्न । भुकम्प पछि उहाँको घर माटोमा मिलेको थियो । एक वर्षसम्म उहाँ अस्पतालमै हुनुहुन्थ्यो । दुई महिनासम्म बामे समेत सर्न नसक्नु भएकी शर्मिला विस्तारै तंग्रिँदै त जानुभयो त्यतिबेला उहाँलाई आमा नभएको खबर सुन्दा फेरी एक महिना थला पर्नु भयो । निरन्तरको अस्पतालको परामर्श, उपचार र तालिमका कारण शर्मिला ब्यवसायीक सिपका लागि निरन्तर अस्पतालमै बसिरहनु भएको थियो । अहिले आत्मनिर्भर हुनु भएको छ ।
सिन्धुपाल्चोककै सरिस्मा तामाङ अस्पतालमा आउँदा बाचिन्छ जस्तो सोच्नु भएकै थिएन । आँखै अगाडी आफन्तका शवहरु देखेर पीडा बोक्दा बोक्दै उपचारका लागि अस्पताल ल्याउँदा आमाकै पीडाले सताएको थियो । काभ्रेपलाञ्चोक जिल्ला नयाँगाउँ गाविस ६ घर भएकी १९ बर्षिया सम्झना तामाङ भुकम्पको अवस्था विर्सेर नयाँ जीवनमा लाग्नुपर्ने बताउनु हुन्छ । उहाँले भुकम्पमा दाई गुमाउनु भयो । उहाँ पुरिएको केहि घण्टा पछि जिवितै उद्धार गरी अस्पताल पु¥याईएको थियो ।
भुकम्प पछि काभ्रे जिल्लाको अवस्था यस्तो थियो
मृतक– ३७२ जना (मर्नेहरुमा महिला १३०, पुरुष ८०, बालक ४९, बालिका ५९)
घाईते– १४ हजार ८ सय ४३ जना
घरधुरी क्षतिः ८३ हजार २ सय २४
सरकारी भवनहरुः ३१ वटा पूर्ण क्षति
सामुदायिक भवनः ४८ वटा
सहकारी भवनः ७ वटा
गुम्बा ः २५ वटा
रेडक्रस भवनः ३ वटा
लघु जलविद्युत्तः ३७ वटा
मन्दिरः ६७ वटा
दुध चिस्यान केन्द्रः १ वटा
सामुदायिक विद्यालयः ३१७ वटा पूर्ण
स्वास्थ्य भवनः ३७ वटा बर्थिङ्ग सेन्टर, ४३ वटा स्वास्थ्य÷उपस्वास्थ्य चौकी, १ वटा प्राथमिक उपचार केन्द्र
प्रहरी चौकीः ३० वटा
कृषिः १ अरब ३५ करोड ८२ लाख ५० हजार क्षति
खानेपानीः ६ सय ५२ वटा खानेपानी आयोजनामा
सरसफाईः २२ हजार ५ सय २ शौचालय, ६४ हजार ६ सय ८ वटा पक्कि शौचालय
पुश सेवा केन्द्रः भवन ४ वटा
पशुपंक्षीः १८ करोड २० लाख १४ हजार (गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, खोर समेत गरी)
पाँच वर्षमा ५८ हजार आवास
भुकम्पले ध्वस्त बनाएका ७८ हजार ८ सय ८४ घर धुरी मध्ये ५८ हजार घर निर्माण सम्पन्न भएका छन् । २०७८ वैशाख मसान्त भित्र निर्माण सम्पन्न भएका घरहरुको अन्तिम किस्ताका लागि वडा कार्यालयमा निवेदन गरिसकेका पीडितहरुको भुक्तानी हुनेछ । चैत्र मसान्तसम्म ५७ हजार ५ सय ९५ जनाले तेश्रो किस्ता भुक्तानी लिईसकेका छन् । एक हजार भन्दा धेरै पीडितहरुले निर्माण सम्पन्न गरी तेश्रो किस्ताका लागि आवेदन गरेका छन् । रकम निकासा ढिला हुँदा लाभग्राहिहरुले भुक्तानी पाउन सकेका थिएनन् ।
९८ हजार १९ घर धुरी सर्भे भएकोमा ७८ हजार ८ सय ८४ घर धुरी मध्ये ७४ हजार ९ सय ३० घर परिवारसँग मात्रै सम्झौता भएको थियो । पहिलो किस्ता लिनेहरु मध्ये धेरैले घर निर्माण गरेका छैनन् । दोश्रो किस्ताका लागि ६३ हजार ६ सय ८७ परिवारले अनुदान लिएका छन् । तेश्रो किस्ता लिनेहरुको संख्या ५७ हजार ५ सय ९५ जना रहेका छन् । सम्झौता गरेर घर निर्माण नगर्ने १ सय ६६ जनाले रकम फिर्ता गरेका छन् । भुकम्प पछि क्षति भएका सडक र पुल पनि निर्माण भएका छन् ।
२४४ वटा विद्यालय निर्माण
६७ विद्यालय निर्माणाधीन
भुकम्पले क्षतविक्षत् बनाएका सामुदायिक विद्यालयहरु धमाधम पुनर्निर्माण हुँदैछन् । भुकम्प गएको पाँच वर्षको अवधिमा जिल्लामा रहेका ५ सय ३५ वटा सामुदायिक विद्यालयहरु मध्ये २ सय ४४ वटाको पुनर्निर्माण सम्पन्न भईसकेको छ भने ६७ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेका छन् ।
बैशाख १२ नजिकिदै गर्दा भुकम्पको क्षति र पुनर्निर्माणको समिक्षा गर्ने क्रम शुरु भएको छ । सरकारले निजी आवासको किस्ता बैशाख महिनाको अन्तिमसम्म तोकिसकेको छ । अन्य पुनर्निर्माणका कार्यहरु पनि स्थानीय तथा प्रदेश सरकारलाई हस्तान्तरणको तयारी शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समय अवधी छोटिदै गए पछि पुनर्निर्माणको कार्यलाई तिब्रता दिई रहेका छन् । जिल्लामा विद्यालय पुनर्निर्माणका लागि ६ अर्ब ६१ करोड १० लाख ३७ हजार रुपैया खर्च भईसकेको छ । उक्त रकम मार्फत २ सय ४ वटा विद्यालयका ६ सय ८४ वटा कक्षाकोठा निर्माण भई विद्यार्थीहरु अध्ययन गर्न थालिसकेका छन् भने ६७ विद्यालयमा २ सय ४४ वटा कक्षाकोठा निर्माणाधीन छन् । निजी आवासका लागि जिल्लामा १७ अर्ब ४० करोड रकम भुक्तानी भईसकेको छ । ५८ हजार आवासका लागि तेश्रो किस्तासम्मको रकम भुक्तानी भएको हो । अझै केहि अर्ब भुक्तानीको तयारी भईरहेको छ । हालसम्म सडक, गूम्बा, अन्य संरचना निर्माणमा भएको भुक्तानी जिल्लाका लागि २५ अर्ब भन्दा धेरै छ । विद्यालय निर्माणमा विद्यालय ब्यवस्थापन समितिहरु मार्फत १ सय ९८ वटा विद्यालय भवन निर्माण भएको छ । एडिबीको ऋण र नेपाल सरकारको सहयोगमा ठेक्का प्रकियाबाट ३८ वटा विद्यालय भवन पुनर्निर्माण भएका छन् । विभिन्न गैरसरकारी संस्थाबाट ८९ वटा विद्यालय भवन पुनर्निर्माण भए । जसमा १ हजार ९ सय २३ वटा कक्षा कोठा पुनर्निर्माण भएका छन् । विद्यालय ब्यवस्थापन समिति मार्फत जिल्लामा २३ वटा शौचालय निर्माण गरिएको छ । भुकम्पले क्षती भएका सवै विद्यालयहरुमा आवश्यकताका आधारमा कुनै न कुनै कार्यक्रम पुगेको जिल्ला परियोजना इकाई (शिक्षा)ले जानकारी दिएको छ । इन्जिनियर श्रेया झाका अनुसार जिल्लाका अधिकांश विद्यालयहरु पुनर्निर्माणबाट लाभान्वित भएका छन् । विद्यालय ब्यवस्थापन समितिबाट निर्माण शुरु भएका थप ७१ वटा विद्यालय भवन, एडिबीको ऋण र नेपाल सरकारको सहयोगमा ठेक्का प्रकियाबाट निर्माण हुने ९ वटा विद्यालय भवन, भारतीय सरकारको अनुदान सहयोगमा निर्माण हुने १२ वटा विद्यालय भवन निर्माणाधिन अवस्थामा छन् । ८ वटा विद्यालयमा एडिवीको ऋण र नेपाल सरकारको सहयोगमा डिआरएसपी कार्यक्रम अन्तर्गत रेट्रोफिट कार्यक्रम सञ्चालनमा रहेको इन्जिनियर झाले बताउनु भयो ।
जिल्लाका १ सय २१ वटा विद्यालयमा विद्यालय ब्यवस्थापन समिति मार्फत शौचाल निर्माणको कार्य भईरहेको छ । ८८ वटा विद्यालयमा खानेपानी सुबिधाका लागि संरचना निर्माण भईरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि ५ वर्षबाट हाल एक वर्ष थप भइ आगामी पौषसम्म रहेको छ । ५ वर्षको अन्तरालमा विद्यालय पुनर्निर्माणको करिब ९०% प्रतिशत कार्य सम्पन्न भैसकेको छ । बाँकी १०% प्रतिशतको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै १ वर्ष समय लाग्ने सम्भावना छ ।
भुकम्पको पीडा बिर्सन संघर्ष गर्दै छु
दिपेन्द्र पौडेल
भुकम्प पीडित
त्यो कहाली लाग्दो क्षण २०७२ वैशाख १२ गते म बनेपामा थिएँ । त्यसबेला म जिल्ला लघु उद्यमी समूह संघ काभ्रेमा आबद्ध थिएँ । त्यस दिन १२ गते हामी ५ वर्षीय लघु उद्यम विकास कार्यक्रमको रणनीतिक योजना बनाउन धुलिखेल तालिम केन्द्रमा गयौं । कार्यक्रम सुरु भएको १५ मिनेट पछि ठूलो भुकम्पको धक्का महसुस भयो । पछि त्यो ५८ सेकेण्डको प्रलयले मेरो जीवनको खुशी र सुख सबै सखाप भयो । परिवारका सदस्यहरु गुमाएँ । आफन्त गुमाएँ । बसोबास गर्ने घरहरु सबै सखाप भयो । त्यो कहालीलाग्दो कालरात्री.. । त्यसपछि जीवनको संघर्ष गर्दै अहिले समाजमा बाँच्ने प्रयास गरिरहेको छु । अहिले मेरो जीवनमा खुशीको स–साना पालुवाहरु पलाउन शुरु गरेको छ । अहिले मेरो श्रीमती रीता, मेरो छोराहरु प्रोत्साहन र प्रतिष्ठानले मेरो जीवनमा मल्हमपट्टि लगाएका छन् । किनकी जीन्दगी आखिर जसरी पनि जिउनु पर्छ र जिइरहेको छु ।
मेरो जीवनमा भुकम्पले तहस नहस त बनायो तर अरुको जीवनमा त्यस्तो नहोस् । घर बनाउँदा भुकम्प प्रतिरोधी घर बनाउनुपर्छ भन्ने कुरा त्यतिबेला थाहा थियो भने मैले यो दुःख भोग्नु पर्ने थिएन । त्यसैले भुकम्प प्रतिरोधि घर निर्माण गर्नु पर्दछ । अहिले कोभिड १९ को प्रकोपले देश तहसनहस भएको छ । मान्छेहरुले एउटा विपत्ती सकिए पछि अर्काे विपद बिर्सिदो रहेछ । त्यसैले अब भुकम्पपछिको पुनर्निर्माणमा सरकारकाको लागि घर बनाउने होइन आफ्नै लागि घर बनाउनु पर्छ भन्ने मान्यता हुन जरुरी छ । सबै विपत्तिहरुमा हामी सबैको साथ सहयोग हुन जरुरी छ ।





