धनी र गरीब बीचको अस्वभाविक सम्बन्ध । धनीले गरीबलाई गर्ने ब्यवहार । गरीबको पहिचान र परिभाषा । यस्ता विषयको ब्याख्या धेरै हुन सक्छ । हरेक जिल्लामा पछिल्लो समय देखिएको समस्या भनेको घरधनी र घरभाडामा बस्ने डेरावालहरुको हो । सरकारलाई सधंै कर छल्ने घरबेटीहरु डेरावालहरुले एकदिन भाडा ढिला गर्दा ढोका ढकढक गर्न आउँछन् । लाज शरम नभएकाहरु घर छाडेर जान अनुरोध गर्छन् । अझ जात अनुसारको ब्यवहार गर्छन् । आफूभन्दा फरक जातको भएकालाई सकेसम्म घरमै राख्दैनन् राखिहाले पनि अछुतको ब्यवहार गर्छन् । सामान्य भन्दा सामान्य विषयमा पनि उनिहरुले गरेको अपमानले कहिलेकाँहि तिम्रो डेराको होईन घरकै मूल्य सोध्न आँट आउँछ तर त्यहि भाडा तिर्न नसकेर भएको कचकचले घाँटीमा बोली अड्किन पुग्छ ।
बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नम्वर ८ दोरा स्थायी ठेगाना भई डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका ५ बस्ने मने महराको म ३३ बर्षीय छोरा हुँ । सानैदेखि हाम्रो परिवार सामान्य खालको थियो । विहान टन्न खाँदा बेलुकाको छाक टार्न धौ–धौ थियो । बाल्यकालको गरीबीको पीडा म कसरी बयान गरौं ? मैले त के भोगें हुँला र ? मेरो बुबा आमाले हामी सन्तानहरुलाई हुर्काउन भोगेको पीडा भनि साध्य छैन । आम नेपालीहरुको समस्या भित्रकै हो यो । गरीबकै घरमा धेरै सन्तान हुन्छन् । गरीबकै घरमा ठुला ठुला रोगहरुका विरामी हुन पुग्छन् । संकटको कुरा कति गरौं ? छाक टार्ने बाहेक अरु कुनै योजना हुँदैन थियो । साहुको घरमा नोकरी गरेर होस् वा भरिया बनी भारी बोकेर होस आफु भन्दा सन्तानको खुशीका लागि परिश्रम गर्नुपर्छ भन्ने मेरो अभिभावकको सोचको मैले जहिल्यै सम्मान गर्छु । जब म काम गर्न सक्ने भएँ त्यहि दुःख र कष्ट बिर्साउन बुबा आमालाई कुनै न कुनै दिन सुख दिन्छु भन्ने सोचले आफु पनि काम गर्न थालें । त्यहि मेहनत र परिश्रमले मलाई मान्छे चिन्न सिकायो । मान्छे भित्रको स्वाभिमान सिकायो । मुलुकमा निर्माण भएका ऐन कानुन र सरकार चिनायो । गरीबहरुको पनि कोहि हुने रहेछ है भन्ने कुराको ज्ञात गरायो । तर पनि मलाई लाग्छ धनी सधै धनी हुने र गरीब सधै गरीब हुने ब्यवस्थाको अन्त्य कहिले हुन सक्छ ?
बैतडीबाट कामको सिलसिलामा म डडेल्धुरा पुगेको थिएँ । त्यहाँ पनि मैले संघर्ष शुरु गरिसकेको थिएँ । काम गर्न पनि बासको आवश्यकता थियो । मान्छे भए पछि गाँस, बास र कपासको चिन्ता गर्नु स्वभाविक हो । विस्तारै मैले आफ्नो हैसियत बढाउँदै गएँ । बुबा आमाको गरीबीलाई चिर्दै मैले गरेको मेहनतले परिवारलाई खुशी दिन थालेको थियो । विहान देखि बेलुकासम्म भारी बोक्दा मैले हरेक दिन ६ हजार कमाउन थालें । त्यहि रकम मैले बचत गर्दै एक वर्ष पछि कुनै ब्यवसाय गर्ने सोच बनाएँ । अध्ययन पनि नभएको, सामान्य अक्षर मात्रै चिन्ने मैले के ब्यवसाय गर्नु ? तर पनि आँट भने ममा घटेको थिएन । डडेल्धुरामा मलाई सहयोग गर्ने राम्रा मान्छेहरु पनि थिए । मेरो मेहनतलाई मन पराउने र थप उत्साह भर्ने मान्छे थिए । त्यहि क्रममा डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नम्वर २ बस्ने तिर्थ बहादुर भण्डारीको छोरा बर्ष ३० को सुरज कुमार भण्डारीको घरको केहि कोठा मैले भाडामा लिएँ । त्यहि डेराहरु भाडामा लिएर मैले आफ्नो कार्य शुरु गर्ने योजना बनाएँ । २०७४ साल फागुन १ गते भएको सम्झौता बमोजिम अमरगढी नगरपालिका वडा नम्वर ५ तुफानडाँडाको कित्ता नम्वर १२७१ क्षेत्रफल ०–३–१–० रहेको जमिनमा बनेको घरमा रहेको पक्कि घरको भूइ तला पुरै, पहिलो तलाको पूर्व तर्फको १ कोठा, दोश्रो तलाको २ कोठा, तेश्रो तलाको सटर र पछाडिको कोठाको मासिक २० हजार तिर्ने गरी सम्झौता गरें । मलाई के विश्वास थियो भने मैले मजदुरी गरेर कमाएको केहि रकम त्यहि होटलमा लगाउँछु र मेरा मजदुरीका साथीहरु समेत त्यहि खाना खान आउँदा होटल पनि चल्छ र सहज पनि हुन्छ भन्ने योजना बनाएको थिएँ । त्यहि कारण मैले त्यति धेरै कोठा आवश्यक भएर भाडामा लिएँ । चल्दै चलेन र सकिएन भने फेरी भारी बोकेर भए पनि साहुको भाडा तिर्छु भन्ने विश्वास भने थियो । स्वाभिमान गुमाउँदिनँ भन्ने मनै देखिको चाहना हरेक पटक पूरा भएकै थियो ।
मैले होटल प्रयोजनका लागि ५ बर्ष सम्मका लागि भाडामा लिने सहमतिमा कागज गरेको थिएँ । सम्झौताको दोश्रो बुँदामा उल्लेख भए बमोजिम मासिक भाडा तिर्ने गरी डडेल्धुरा स्थित तुफान डाँडामा रहेको सिद्धार्थ बैंक लिमिटेडमा रहेको खाता नम्वर ०३११५०४७४१७ मा जम्मा गर्नुपर्ने उल्लेख भएको थियो । शुरु शुरुमा ब्यापार पनि भएन । केहि रकम अग्रिम बुझाएको थिएँ । होटल चलाउने मेरो क्षमता पनि रहेनछ । सायद मेरो भाग्यमा त्यो थिएन पनि होला । भारी बोक्ने ब्यक्ति होटल मालिक ? धेरैले प्रश्न गरेका थिए । मैले उनिहरुको प्रश्नको उत्तर दिन नपाउँदै मैले सफलता प्राप्त गर्ने योजनामा मेहनत गरें । समयले मलाई साथ दिएन । घरबेटीको भाडा तिर्न सकिनँ । होटलमा लगानी गरेको रकम पनि डुब्यो । धेरै सामानहरु खरिद गरेको थिएँ । एक वर्ष मेहनत गरेर भारी बोकेको पैसाले किनेको सामानहरु पनि अलपत्र परेका थिए । घरबेटीको कचकचले पनि मलाई राम्रोसँग काम जाँगर चलिरहेको थिएन । गल्ति त मेरो नै थियो । सम्झौता अनुसारको रकम तिर्न नसक्दा पनि उहाँले केहि महिनाको लागि छाडिदिनु भएको थियो । अति नै भए पछि उहाँले मलाई घर छाडेर जान पटक पटक भनिरहनु भएको थियो । घरबेटीहरुले बाध्यता र ब्यवहारिकता नबुझ्दा हरेक ब्यक्तिले शुरु गरेको ब्यवसाय बीचमै छाडेर विदेशिनु पर्ने अवस्था हुन सक्दो रहेछ । म जस्तो सामान्य नागरिकले बुझेको कुरा महङ्गा र आर्कषक स्थानमा के भएको होला ? त्यो भाडा पनि हामी जस्ता सामान्य नागरिकहरुबाटै उठाउने त रहेछ नि ? सरकारले घरभाडा सम्बन्धी अलग्गै कानुन बनाउन नसक्दा सम्म हामी ठगिन बाध्य हुनेछौ । राज्यले पनि यस्ता घरबेटीहरुबाट प्राप्त आम्दानीको कर लिन सकेको छैन । यो विषयमा स्थानीय सरकारको ध्यान जान जरुरी छ ।
२०७५ पौष देखि भाडा बुझाउनु पर्ने रकम बैंकमा जम्मा नगरी आफ्नो कर्तव्य पूरा नगरेको भन्दै म विरुद्ध उजुरी परेको रहेछ । २०७६ भदौ २ गते स्थानीय न्यायिक समिति डडेल्धुरामा उजुरी परेको उजुरीमा छलफल शुरु भयो । तर त्यहाँ पनि मैले भाडा नतिरेर अन्याय गरेको विषयमा कुरा भयो साहुजीले मैले तिरिसकेको भाडाको कर बुझाउनु पर्ने विषयमा चाँहि कुरा भएन । मैले त्यहि कुरा उठाउँदा कसैले पनि मेरो पक्षमा वकालत गरिदिएन । त्यसले सरकारलाई नै फाईदा पुग्थ्यो होला नि ? मलाई घाटा भए पनि राज्यलाई फाईदा होस भन्ने म जस्तै गरिव र भरिया मात्रै छौ होला नि ? यस्तो रहेछ म विरुद्ध घरबेटीको उजुरी–‘घर वहालको विषयमा लगानी गरेको रकमको हरहिसाब नहुन्जेल भाडा तिर्दिनँ भनि सम्झौता विपरीतको कार्य गर्दै आउनु भएको छ, जुन बैंकको स्टेटमेन्ट बाटै थाहा हुन्छ । उल्टो आफुले लगाएको लगानी मैले तिर्नु बुझाउनु प¥यो । पसलमा लगाएको लगानी पनि मुल्याङकन सहित सामान किन्न प¥यो तब मात्र भाडा तिर्छु भनि हामी घरधनीलाई दुःख हैरानी गर्ने, निहँु खोज्ने काम गर्दै आएका छन् । सम्झौता विपरीत कार्य गरेकोले बैंकलाई तिर्नुपर्ने रकम तिर्न नसकेको कारण बैंकले मलाई जरिवाना तिर्न बाध्य पारेको अवस्था छ । सम्झौताको बुँदा नम्वर १० मा दोश्रो पक्षले ६ महिना भित्र पहिलो पक्षलाई ५० हजार दिने भनेकोमा निजले ६ महिनामा उक्त रकम बुझाएको छैन । घर बिक्री गर्छु भन्दा दोश्रो पक्ष, घर खरिद गर्ने व्यक्ति र म बसि तपाईले लगाएको लगानी बारे छलफल गरि मिलाउन सकिन्छ भन्दा उक्त विषयमा कुनै वास्ता नराखी घर विक्री भएमा स्वागत छ भनि भन्दै आएका छन् । म अन्यायमा परेको छु न्याय पाँउ ।’
न्यायिक समितिले उजुरी पछि छलफलमा बोलायो । मैले यसरी बयान दिएँ । ‘उजुरिकर्ता र मेरो विचमा मासिक २० हजार भाडा लिने दिने गरि २०७४ फागुन १ गतेका दिन सम्झौता भएको साँचो हो । सम्झौता भएको दिन देखि १ बर्ष सम्म मैले आफ्नो व्यवसाय गरि बस्दै आएको थिए । २०७६ सालको माघ महिना देखि पहिलो पक्षले मलाई कुनै जानकारी नै नदिई घर बिक्रि गरिसके अझै दोश्रो पक्षले घर खाली गरको छैन भनि मेरो व्यापार व्यवसायमा घाटा पर्ने गरि मेरो बेइजत हुने काम व्यवहार, प्रचार प्रसार गरि आउनु भएको रहेछ । अग्रिम एक लाख रुपैयाँ बुझाएर ५ वर्ष पश्चात घर वहाल छोड्दा पाउने गरि सम्झौतामा भए मुताविक पैसा समेत एड्भान्स दिएकोमा सोको कुनै वास्ता नगरि बहाल दिएको छैन भन्दै बेइज्जत हुने कार्य गर्नुका साथै व्यापार व्यवसायलाई बैंकिङ कारोबारमा सामेल गरि व्यापार बढाउनमा लागि ऋण कर्जा गर्नबाट समेत बाधा व्यवधान पु¥याएका हुन् । घर बहालमा लिँदा घरको अगाडि पट्टी तथा रोड साइड मोहडामा बनेको टिनको छानो भएको भागलाइ घर धनिसँग सम्झौता नै नभई अर्को व्यक्तिबाट ५ लाख ६० हजार नगद रुपैयाँ दिई खरिद थप मर्मत गर्दा अन्य रुपैयाँ समेत खर्च भएको हो । टिनको टहरा सम्बन्धि सम्झौता नभएकोले टिनले चर्चेको भागको मतलब छैन तिमी जे गर्छौ गर भन्दै जवाफ दिदै आएका छन् । निजको घर नछोड्ने मनसाय राखि घर वहालमा बसेको होइन, निज र मेरो विचमा कुनै औपचारिक वार्ता नभई ५ महिना अगाडिबाट नै घर विक्रि गरिसके भनि बाहिर बाहिर भन्दै हिड्दा कस्लाई के कति दिने कोसँग सम्झौता गर्ने, मैले दिएको अग्रिम एक लाख मलाई कहिले दिने भन्ने विषयमा छलफल नभई झमेलामा पार्ने मेरो व्यापार व्यवसाय धरासायी पार्ने मनसाय राखि झुठो उजुरी दिएका हुन । त्यसकारण म गरिबले शुरु गरेको ब्यवसायको पक्षमा फैसला होस् ।’
धेरै समय छलफल भयो । एकआपसमा मनमुटाव, असमझदारी, बेमेल भएको भए पनि अमरगढी नगरपालिकाको न्यायिक समिति मार्फत वडा नम्वर ५मा रहेको मेलमिलापकर्ताको पहलमा उहाँले लगाएको आरोप मिथ्या भएको र मैले तिर्नु पर्ने बहाल हिसाब गरेर तिर्ने सहमति पछि विगतमा जे जस्ता असमझदारी रहे पनि घर वहाल असुल उपर गराई पाऊँ भन्ने मुद्दामा रहेको दावि छोडी हामी दुवै पक्ष समझदारिमा मिलोमतो गर्ने कुरामा सहमत भएकाले स्थानिए सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा (२) बमोजिम मिलापत्र गरेका छौ भनि दुबै पक्षले हस्ताक्षर गरेका थियौं । केहि महिना पछि मलाई उक्त ब्यवसाय गर्न मन लागेन । होटल विक्री गरेर राजधानी आएँ । कोरोना भाईरसको कहरका बीच भक्तपुरमा पुनः मैले होटल ब्यवसाय शुरु गरें । घर परिवार सबैको सहयोगमा मैले ब्यवसायलाई निरन्तरता दिएको छु । अरुको घरमा बसेको छ भन्दैमा घरबेटीहरुले हामी डेरावालाहरुलाई गरेको ब्यवहार अत्याचार, अन्यायपूर्ण र कानुन विपरीत छ । यस्तो अभियानमा कसले बोल्छ खै ?
नरेन्द्रबहादुर महरा
सुर्नया गाउँपालिका वडा नम्वर ८
बैतडी, हालः भक्तपुर





