2026 July 07/ 03:19: 17am

    धुलिखेल/धुलिखेल नगरपालिका पशुपन्छी शाखाको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर धुलिखेल नगरपालिका वडा नं. ८ मा रहेको खर्क बडालगाउँमा सम्पन्न भएको छ । 
शिविरमा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले पशुहरुमा हुने विभिन्न रोगको पहिचान, रोकथाम, नियन्त्रण र ब्यवस्थापन गरिने बताउनुभयो । नगर प्रमुख अशोक ब्याञ्जुले बताउँदै–‘पशुहरुको स्वास्थ्यलाई ध्यान दिदै नागरिकहरुलाई स्वास्थ बनाउन कृषिमा आत्मनिर्भर, बजारीकरण तथा औजार वितरण र पशुहरुको विमा तथा अन्य कार्य गरिरहेका छौं ।’ ब्यक्तिहरुले पशु मात्र पाल्ने भन्दा पनि त्यसलाई ब्यवसायीकरण गर्न नगरपालिकाले विशेष योजना बनाएको उहाँले बताउनु भयो । स्वस्थ पशुहरुको उत्पादन गरी ब्यवसायीकरण गर्न, पुँजी र प्रविधि जोड्न जरुरी रहेको बताउँदै उहाँले प्रविधिले बदल्ने जीवनलाई समृद्ध बनाउन जनशक्ति र प्रविधिको ब्यवस्थापनमा नगरपालिकाले ध्यान दिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । 
    शिविरमा भेटेरिनरी अस्पताल धुलिखेलका प्रमुख डा. मोगोलप्रसाद शाहको उपस्थिति रहेको थियो । शिविरमा उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु निराजन जंगम राजकुमार हुमागाई, डा. आशिष महत, डा. नितेश कार्की, नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख पुरुषोतम हुमागाई, लेखा अधिकृत धनबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो । शिविरमा गोबर परिक्षण ३५७, बन्ध्याकरण २२, भिडियो एक्सरेमार्फत गर्भ परीक्षण १२ वटामा गरिएको थियो भने ४ सय ५७ गाईभैसी र ५ ससय ७९ बाख्राहरुमा परजीवी नियन्त्रण को औषधि समेत वितरण गरिएको थियो । शिविरमा बाँझोपन निरुपण तथा पशुहरुमा हुने अन्य रोगको पहिचान भएको छ । १ सय ५० भन्दा धेरै कृषकहरुको उक्त शिविरमा सहभागिता रहेको थियो ।    
कार्यक्रम ८ नं. वडाका वडा अध्यक्ष निराजन जंगमको सभापतित्व तथा सरोज थापाको संचालनमा सम्पन्न भएको थियो ।