मोतीराम तिमल्सिना
बनेपा
सशस्त्र द्वन्द्वका समयमा आफ्नै पार्टीका कार्यकर्तालाई समेत बेपत्ता बनाएको तत्कालीन विद्रोहि नेकपा माओवादीका कारण जिल्लाका ४६ जना नागरिक वेपत्ता बनाईएको बेपत्ता पारिएका ब्यक्तिको छानविन गर्न गठित आयोगमा उजुरी परेको भए पनि अझै टुङ्गो लाग्न सकेको छैन । २०६४ सालको संविधान सभा निर्वाचनको समयमा विजयी ¥यालीमा सहभागी भई मरेका, आत्महत्या गरेका, घर परिवारसँग झगडा गरेर हिडेका तथा अन्य कारणबाट मृत्यु भएका ब्यक्तिहरु समेत सशस्त्र द्वन्द्वकै कारण वेपत्ता भएको भन्दै राज्यबाट राहत लिईरहेका छन् ।
तत्कालीन सरकार र विद्रोही दुबै पक्षबाट बेपत्ता बनाईएका नागरिकहरुको अवस्था अझै खुलेको छैन । केहिले जिल्ला अदालतबाट मृत्यु दर्ता गराई एकल परिवारको भत्ता लिन थालेका छन् भने केहिले अझै आफ्नो परिवारको सदस्य फर्कने आशा कायमै राखेका छन् । यस्तो अवस्थामा समेत बेपत्ता भनिएका ब्यक्तिहरुको अत्तोपत्तो छैन । २०५२ फागुन १ गते देखि २०६३ मंसिर ५ गतेसम्म नेपालमा भएको सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता पारिएका ब्यक्तिहरुको विस्तृत विवरणका लागि आयोगले २०७७ असार २५ गते अन्तिम पटक जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई पत्र पठाएको थियो । बस्तुस्थिति मुचुल्का गराई पठाउन जिल्ला प्रहरीलाई पत्र प्राप्त भए लगत्तै मातहतका इकाईहरुमा प्रहरीले पठाएको सूची अनुसार खोजविन भईरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले २०७७ फागुन १ गते मातहतका सबै युनिटहरुलाई बेपत्ता पारिएका भनिएका ब्यक्तिहरुको सूचीअनुसारको हुलिया, अन्य कुनै सूचना तथा जानकारी, निवेदन, उजुरी, जाहेरी दरखास्त राहत वितरण तथा अन्य कुनै कागजात समेत भएमा सो समेत राखेर घटनासँग सम्वन्धित ब्यक्तिहरुको कुनै प्रमाण भए उपलब्ध गराईदिन आफन्त तथा छिमेकी तीन जनाको मुचुल्का विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । मु्चुल्काको विवरण पनि प्रहरीले युनिटहरु मार्फत उपलब्ध गराईसकेको भए पनि अधिकांश ब्यक्तिका आफन्तहरु शहर केन्द्रित भएकाले समयमै विवरण उपलब्ध हुन सकेको छैन ।
पाँचखाल घर भएका चन्द्रकुमार ढकाल, इन्द्रबहादुर श्रेष्ठ ‘बाबुकाजी’, रामहरी परियार, सानोकाजी भन्ने भिमलाल श्रेष्ठ, विमल चौलागाई, पाल्छाङ लामा र सुमन मैनाली रहेका छन् । उनिहरुलाई विभिन्न स्थानबाट वेपत्ता पारिएको उजुरी आयोगमा दर्ता भएको छ । त्यस्तै बनेपा ठेगाना भएका प्रल्हाद घिमिरे, कुमार दाहाल, राजभाई रञ्जितकार, प्रकाश घिमिरे, धुर्व खत्री, रविन्द्र विष्ट रहेका छन् । उनिहरु मध्ये राजभाई रञ्जितलाई तत्कालिन अवस्थामा जेलबाट छुटेको केहि समयमा भक्तपुरमा रहेका बेला आफ्नै पार्टीका कार्यकर्ताहरुले अपहरण गरी जिल्लाको कामिडाँडामा पु¥याई २०६२ भदौ ३० गते लाठी नै लाठीले हानेर मारेका थिए । चेष्टा साप्ताहिकले बेपत्ता पारिएको केहि वर्ष पछि उहाँको निधन भएको तथ्य सहितको समाचार प्रकाशन गरेको थियो । माओवादी अझै उनको घटनाका बारेमा बोलेको छैन । निधन भएको भने पनि माओवादीले आफ्नै कार्यकर्तालाई कारवाही नगरेका कारण पुनः अन्य कार्यकर्ताहरु मार्फत निर्दाेष कार्यकर्ता र नागरिकको हत्या भएको थियो ।
त्यस्तै नमोबुद्ध नगरपालिकाका विदुर सिलवाल, कृष्णनाथ चिमौरिया, सुनिलकुमार न्यौपाने, हरिकृष्ण तिमल्सिना रहेका छन् । पनौती नगरपालिका अन्र्तगत राजेन्द्र केसी, यज्ञबहादुर केसी, रमेश बस्नेत, टोमप्रसाद ढुंगाना, सन्तोष खत्री रहेका छन् । भुम्लु गाउँपालिका अन्तर्गत चन्द्रबहादुर मगराती, ठुलीमाया श्रेष्ठ, देवबहादुर श्रेष्ठ, प्रेमनारायण श्रेष्ठ रहेका छन् । बेथान्चोक गाउँपालिकामा काजीबाबु चौहान, राजकुमार कार्की रहेका छन् । चौरीदेउारी गाउँपालिकामा रामहरी चौलागाई, नविन गौतम ‘आकाश’, इन्द्रराज पाठक, उमेशकुमार सेढाई, बुद्धी लामा भन्ने ब्रुस्ली लामा र उमेशकुमार सेढाई रहेका छन् । तेमाल गाउँपालिका अन्र्तगत नारायणप्रसाद खकुरेल, गणेशप्रसाद मैनाली, कान्छा भ्लोन र विमला विक रहेका छन् । धुलिखेल नगरपालिका अन्तर्गत सगुन श्रेष्ठ रहेका छन् । उनका आफन्तले जिल्ला अदालतबाट मृत्यु दर्ता गरिसकेका छन् ।
रोशी गाउँपालिकाका तारमान लामा, बसन्त कुँवर, रघुनाथ बडाल, नरेन्द्र मैनाली र दावा तामाङ रहेका छन् । मण्डनदेउपुर नगरपालिकाबाट बल्लु लामा र अर्जुन सापकोटा ‘जादु’ रहेका छन् । पटक पटक सरकारमा गएको तत्कालिन नेकपा माओवादी र हालको नेकपा माओवादी केन्द्रले आफ्ना कार्यकर्ताहरुका लागि वेवास्ता गरेको पीडित परिवारले बताएका छन् । पटक पटक मुचुल्का तथा तथ्य प्रमाणका नाममा बयान लिईरहँदा पीडितहरुलाई खाटा बस्न लागेको घाउ कोट्याईरहेको महसुस गरेका छन् ।





