2026 July 07/ 03:19: 15am

– सचेत रहन अनुरोध
    धुलिखेल/एक वर्ष अघि देखि फैलन शुरु भएको कोरोना भाईरस (कोभिड १९) केहि समय मत्थर जस्तै देखिए पनि फेरी फैलन थालेको छ । सरकारले नागरिकहरुलाई भाईरस विरुद्धको खोप शुरु गरे पनि खोप लगाएका नागरिकहरुलाई समेत संक्रमण देखिन थाले पछि सचेत रहन अपिल गरेको छ । 
    खोपको पहिलो डोज लगाई सकेका केहि ब्यक्तिहरुमा पुनः संक्रमण देखिएको छ । खोप लगाईसकेको भनेर लार्पवाहि गरेकै कारण संक्रमण हुन थालेको विशेषज्ञहरुले बताएका छन् । ‘खोप लगाए पनि सचेतना पहिलाको जस्तै अपनाउनु जरुरी छ’–बरिष्ठ स्वास्थ्य प्रशासक एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘लार्पवाहि गरेकै कारण संक्रमण फैलन सक्ने भएकाले सामाजिक दुरी कायम राख्ने, माक्स, स्यानिटाईजर तथा साबुन पानीले नियमित हात धुने र संक्रमणबाट बच्न अन्य उपायका बारेमा निरन्तर ध्यान दिन जरुरी छ ।’ जिल्ला कमाण्ड पोष्टले जिल्लामा हुने भिडभाड कम गर्न र सामाजिक दुरी कायम राख्न नागरिकहरुलाई अपिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भयो । माक्स नलगाई हिड्ने नागरिकलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन समेत दिएको पोखरेलले जानकारी दिनु भयो । विद्यालय तथा सभा सम्मेलन र अन्य कार्यक्रमहरु आयोजना गर्दा सचेतना अपनाउन स्थानीय सरकार मार्फत पनि प्रयास भएको उहाँले जानकारी दिनु भयो । 
कोभिडका कारण मृत्यु
    लामो समय पछि धुलिखेल अस्पतालमा एक जना ब्यक्तिको कोभिडकै कारण निधन भएको छ । मृत्यु पश्चात उहाँमा कोभिडको आशंका लागे पछि परिक्षण गरिएको थियो । 
    निमोनियाका कारण श्वासप्रश्वासमा कठिनाई भए पछि उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना भएका दोलखा विगु गाउँपालिकाका ६२ बर्षिय एक पुरुषको कोभिडका कारण निधन भएको छ । ‘निमोनियाको लक्षण देखिए पछि दोलखाबाट धुलिखेल अस्पताल आईपुग्नु भएका उहाँको उपचार हुँदा हुँदै निधन भयो’–धुलिखेल अस्पतालका आकस्मिक विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले भन्नुभयो–‘२०७७ चैत्र ११ गते राति ९ बजे भर्ना हुनु भएका उहाँको १२ गते दिउँसो निधन भएको थियो । निधन पछि उहाँमा कोभिडको शंका लागेर परिक्षण गर्दा मृत्यु पर्यन्त कोभिड पत्ता लागेको हो ।’ निधनपश्चात कोभिड पुष्टि भए पछि शवलाई कालीजंग गण धुलिखेल स्थित नेपाली सेनाको शव ब्यवस्थापन टोलीले सुरक्षा सहित अन्त्येष्टि गरिएको छ । जिल्ला कमाण्ड पोष्टले थप सुरक्षाका लागि अस्पताल प्रशासनलाई अनुरोध गरेको छ । अस्पतालले सेवा नरोकी सुरक्षा मापदण्ड अपनाएको छ । 
    जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले कोरोनाको संक्रमण पुनः फैलन थालेकाले सचेतना बढाउन स्थानीय पालिकाहरुलाई अनुरोध गरिएको बताउनु भयो । कमाण्ड पोष्टमा बसेको बैठकले सभा सम्मेलन गर्ने सन्दर्भमा ध्यान पु¥याउन र सामाजिक दुरी कायम राखी नागरिकहरुको सुरक्षामा ध्यान दिन अनुरोध गरेको बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामा ३ हजार ३ सय ८९ जना संक्रमण भएका छन् भने ६३ जनाले ज्यान गुमाएका छन् । जिल्ला बाहिरका १८ र जिल्ला भित्रका ४५ जना नागरिकले कोभिडकै कारण ज्यान गुमाएको डा. झाले जानकारी दिनु भयो । कोभिड खोप लगाउनेको संख्या जिल्लामा २३ हजार ९ सय ६० रहेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ७ रहेको छ । सबैजना होम आईसोलेसनमा उपचारार्थ छन् ।