2026 July 07/ 02:59: 09am

    बनेपा/पतञ्जली योग समिति काभ्रेले महाशिवरात्रिको अवसर पारी बनेपाको चण्डेश्वरी मन्दिर प्राङ्गणमा २४ घण्टा अखण्ड गायत्री मन्त्र तथा महामृत्युञ्जय मन्त्र जप गर्दै होम गरेको छ । 
    धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल लगायतको सहभागिता रहेको थियो । त्यस्तै नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, जिल्ला अध्यक्ष दमनकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले विश्व शान्तिको कामनाका साथ समाज र वातावरण शुद्धिको लागि ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा महा मृत्युञ्जय जप तथा यज्ञ आयोजना गरिएको जानकारी दिए ।
    महाशिवरात्रिको अवसरमा गायत्री मन्त्र जप गर्दा परिवारमा शान्ति, स्वस्थ हुनुका साथै दिवंगत आत्माको शान्तिको लागि यज्ञ आयोजना गरेको उनको भनाई छ । शिवरात्रिको दिन गरिएको महामृत्युञ्जय मन्त्र र गायत्री मन्त्रको जप गर्ने कार्यक्रममा ईच्छुक सबै महानुभावहरुले सहभागिता जनाउन सक्ने गरी कार्यक्रम तय गरिएको थियो । यज्ञमा आफ्नो मनलाई शान्त पार्नको लागि हरेक व्यक्तिले कम्तिमा १ सय ८ पटक होम गर्नसमेत सक्ने भएकाले जौ, तिल र शुद्ध गाईको घ्युद्वारा होम गर्ने वातावरण मिलाईएको पतञ्जली योग समितिले जनाएको छ ।