चौंरीदेउराली/चौंरीदेउराली गाउँपालिका वडा नम्बर ५ चौंरीका दलितहरुलाई, सुधारिएको आरन, आर्थिक अनुदान र पञ्चेबाजा वितरण गरिएको छ । दलित उत्थान तथा आय आर्जन योजना अन्तर्गत उक्त सहयोग गरिएको वडा अध्यक्ष राजकुमार गौतमले बताउनु भयो ।
दलितहरुलाई कर्नल २ थान, सनाई २ थान, २ वटा दमहा, ट्याम्को १ थान, ढोलक १ थान, झ्याम्टा १ जोडी लगायतका बाजाका सामाग्री वितरण गरिएको छ । दलित समुदायको आय आर्जनमा टेवा पुग्ने र परम्परागत बाजागाजा सँस्कृतिको पनि संरक्षण गर्ने उद्देश्यले सामाग्री वितरण गरिएको वडा अध्यक्ष गौतमले बताउनु भयो । त्यस्तै प्रति आरन ५० हजार रुपैयाँ बराबरका तीनवटा आरन हस्तान्तरण गरिएको छ । दलितहरुको दुई वटा बंगुर पालन फर्मलाई २ लाख रुपैयाँ रकम अनुदान उपलब्ध गराईएको छ । चौंरीदेउराली बंगुर फर्मका लागि १ लाख ५० हजार, सुलिकोट बंगुर फर्मलाई ५० हजार रुपैयाँ रकम अनुदान दिएको थियो । त्यसैगरी कार्यक्रममा ८६ जना किसानलाई गाई भैंसी सुत्केरी भत्ता समेत वितरण गरेको छ । उनीहरुलाई १ हजार ५ सय रुपैयाँका दरले भत्ता वितरण गरिएको हो । कार्यक्रममा उपाध्यक्ष ताराकुमारी चौंलागाईं, वडा सचिव अनिलराज गिरी, वडा सदस्यहरु बाबुराम चौंलागाईं लगायतका सहभागी थिए ।





