2026 July 07/ 01:56: 32am

    धुलिखेल/नेपाल सकारले दोश्रो चरणमा शुरु गरेको कोभिड १९ विरुद्धको खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिता रहेको छ । फागुन २३ गते आईतबार देखि शुरु भएको खोपमा उत्साहपूर्ण सहभागिता रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यस अघि कार्यालयले जिल्लाको अवस्था र तयारीका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको थियो । 
    १३ वटा पालिकामा १ सय १४ वटा खोप केन्द्र मार्फत २५ हजार ४ सय ७५ जना लक्षित समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाईनेछ । खोप कार्यकर्ताहरुलाई तालिम, स्थानीय सरकारका प्रतिनिधिहरुलाई अभिमुखिकरण, संचारकर्मीहरुलाई जानकारी र खोप लगाए पछि हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न सुरक्षा उपाय अपनाईएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । जिल्लामा ६५ वर्ष भन्दा माथी उमेर समुहका जेष्ठ नागरिकहरुको संख्या बनेपामा सबै भन्दा धेरै छ । बनेपा नगरपालिकामा ३ हजार ७ सय ५२, धुलिखेल नगरपालिकामा २ हजार २ सय ९४, पनौती नगरपालिकामा ३ हजार १ सय २२, पाँचखाल नगरपालिकामा २ हजार ६ सय ३८, मण्डनदेउपुर नगरपालिकामा २ हजार १ सय ५७, भुम्लु गाउँपालिकामा १ हजार २ हजार ८७, रोशी गाउँपालिकामा १ हजार ८ सय ९९ रहेका छन् । 
    त्यस्तै बेथान्चोक गाउँपालिकामा १ हजार १ सय ६४, तेमाल गाउँपालिकामा १ हजार ४ सय ९७, महाभारत गाउँपालिकामा १ हजार २ हजार ६१, खानीखोला गाउँपालिकाका १ हजार २४ र चौरीदेउराली गाउँपालिकामा १ हजार ३ सय ९० जना लक्षित समुहका नागरिकहरुलाई खोप लगाउने तयारी गरिएको छ । फागुन २३ गते देखि चैत्र १ गतेसम्म खोप लगाईसक्ने गरी कार्यकतालिका तयार गरिएको छ । खोप लगाईसकेपछि त्यसको असर हुन नदिन वा केहि भईहालेमा तयारी अवस्थामा प्रत्येक केन्द्रमा मेडिकल डाक्टर सहितको टिम र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । खोप अभियानका लागि २ सय १० जना खोप दिने स्वास्थ्यकर्मी परिचालन भएका छन् भने ६ सय ३० जना स्वयंसेवक रहेका छन् । पालिकाहरुले हरेक दिन फरक फरक स्थानको स्वास्थ्य चौकीमा खोप लगाउने गरी तालिका तयार गरी अभियानमा साथ दिईरहेका छन् ।