मोडल फार्म विकास तथा विस्तार कार्यक्रमले पनौती नगरपालिकमा च्याउ, नमोबुद्ध नगरपालिका पुष्प, चौरीदेउराली गाउँपालिकामा ड्रागन फ्रुटमा कृषिजन्य उत्पादनको गुणस्तरमा सुधार गर्दै उत्पादन र उत्पादकत्वमा बृद्धि गरि व्यवसायीकरणमा टेवा पु-याउने तयारी गरिएको छ । जिल्लाको १३ वटै स्थानीय तहमा कुनै न कुनै प्रकारका खेतिलाई ब्यवसायिकरण गर्ने योजना अनुसार कार्यक्रम तय गरिएको छ ।
मोतीराम तिमल्सिना
धुलिखेल
कृषि क्षेत्रको ब्यवसायीकरण, आधुनिकीरण, यान्त्रीकरण र औद्योगिकरण गरी उत्पादनमा जोड दिने सरकारको लक्ष्य कृषक वर्गमा पुग्न नसकेको गुनासो बढिरहेको छ । कृषि ज्ञान केन्द्र काभ्रेले अघिल्लो आर्थिक वर्षमा भएका कार्यक्रमहरुको समिक्षा तथा चालु आर्थिक वर्षका कार्यक्रमहरुमा समग्र कृषि प्रणाली र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ ।
कार्यालयलाई यान्त्रीकरणमा डुब्लिकेशन गरेको, दुरुपयोगमा सहयोग गरेको, पहुँचवालाहरुलाई मात्रै यान्त्रिकरणमा सहभागी गराई वास्तविक कृषकहरुले लाभ प्राप्त गर्न नसकेको गुनासो सुनिन थालेको छ । सरोकारवाला निकायहरुले कृषकहरुकै खेतबारीसम्म अनुदान पुग्ने गरी नीतिमै संशोधन गर्न सुुझाव दिएका छन् । कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले जिल्लामा भएका कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो । दवाडीका अनुसार कृषि क्षेत्रको व्यवसायिकरण, आधुनिकीकरण, यान्त्रीकरण र औद्योगीकरण गरि उत्पादनमा जोड दिने गरी कार्यक्रमहरु छनौट गरिएको बताउनु भयो । प्रदेशमा बसोवास गर्ने सबै नागरिकको खाद्य सुरक्षाको प्रत्याभुति गर्ने, कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने प्रतिबद्धता पूरा गर्न सबै तहका सरकारबीच सहकार्य गरी बहुआयमिक कृषि उत्पादनमा जोड दिने कार्यक्रममा समेटिएको छ । खाद्यान्नमा आत्मानिर्भर बनाउने, स्थानीय तहलाई खाद्यान्न आत्मनिर्भर बनाउदै आत्मनिर्भर स्थानीय तह घोषणा गर्ने, कृषि भुमिको चक्लाबन्दी र एकिकरण गरि खाद्यान्न, तरकारी, नगदे बाली, फलफूल जस्ता कृषि उत्पादनको विशिष्टिकृत उत्पादन क्षेत्र निर्धारण गर्ने, बाझिदै गएको खेतियोग्य जमिनलाई कृषि उत्पादनका लागि उपयोगमा ल्याउन स्थानिय तहसँगको सहकार्यमा विशेष प्याकेज सहितको प्रोत्साहन कार्यक्रम संचालन गर्ने, डिप बोरिङ्ग, लिफ्ट सिंचाई, थोपा सिंचाई, सोलारको माध्यमबाट सिंचाई जस्ता कार्यक्रमलाई निरन्तरता दिने, मोडल फार्म विकास तथा विस्तार कार्यक्रमले पनौती नगरपालिकामा च्याउ, नमोबुद्ध नगरपालिकामा पुष्प, चौरीदेउराली गाउँपालिकामा ड्रागन फ्रुटमा कृषिजन्य उत्पादनको गुणस्तरमा सुधार गर्दै उत्पादन र उत्पादकत्वमा बृद्धि गरि व्यवसायिकरणमा टेवा पु¥याएको दवाडीले बताउनु भयो ।
बागमति प्रदेश सरकारले एक प्रादेशिक निर्वाचन क्षेत्र एक नमूना कृषि फार्म स्थापना कार्यक्रम मार्फत पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, तेमाल गाउँपालिकामा आधुनिक प्रविधिको प्रयोग गर्दै कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरि श्रोत केन्द्रको रुपमा स्थापित गर्न सहयोग पु¥याएको छ । समुह र सहकारी, निजी क्षेत्रको सहकार्यमा १० टन क्षमताको आलु र किवी रष्टिक हाउस निर्माण, ५० प्रतिशत अनुदान कार्यक्रम मार्फत नमोबुद्ध नगरपालिकामा बिउ आलु भण्डारणमा सहजीकरण गरिएको छ । पुष्प व्यवसाय प्रवर्धन कार्यक्रमले पुष्प खेतीको लागि बनेपा नगरपालिका, धुलिखेल नगरपालिकामा प्लास्टिक घरको निर्माण गरि गुणस्तरीय पुष्प उत्पादनमा सहयोग गरेको छ । बजारीकरण प्रबद्र्धनका लागी कृषि पकेट क्षेत्र लक्षित साना कृषि सडक निर्माण तथा मर्मत कार्यक्रमले नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, तेमाल गाउँपालिकामा कृषि सडक सुधार गरि कृषि उपजको बजारीकरणमा सहजिकरण गरिएको दवाडीले बताउनु भयो ।
साना सिंचाई, प्लाष्टिक पोखरी निर्माण तथा मर्मत कार्यक्रम मार्फत धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, खानीखोला गाउँपालिका, पनौती नगरपालिका, मण्डनदेउपुर नगरपालिका, तेमाल गाउँपालिकामा कुलो, प्लाष्टिक पोखरी तथा बाँध निर्माणद्वारा करिब २ हजार रोपनीमा सिँचाईको सुविधा प्रदान गरिएको छ । कफि खेति प्रबद्र्धनको लागी नर्सरी र सिँचाईमा सहयोग कार्यक्रम मार्फत पाँचखाल ३ र ७ मा १ हजार वर्ग मिटरमा कफी नर्सरी स्थापना गरिएको, कृषि विकास निर्देशनालयबाट साना मेशिनरी औजार वितरण कार्यक्रम मार्फत सबै स्थानीय तहका कृषकलाई ७५ प्रतिशत अनुदानमा करिब २ करोड ३० लाख बराबरको जम्मा ५ सय ३४ थान साना मेशिनरी औजार वितरण गरिएको छ । समुह र सहकारी, निजी क्षेत्रसँगको सहकार्यमा कृषि पर्यटन प्रबद्र्धन कार्यक्रम मार्फत रोशी गाउँपालिका, भुम्लु गाउँपालिकामा कृषि पर्यटनमा टेवा पुग्ने कार्यक्रम संचालन गरिएको दवाडीले बताउनु भयो । स्थानिय तह, सहकारी तथा निजी क्षेत्रको सहकार्यमा अभियानमूलक फलफूल विरुवा वृक्षारोपण कार्यक्रमले रोशी गाउँपालिकामा एभोकाड़ो ३ सय, दाँते ओखर – ५ सय, मेकाडेमियाँ नट ५ सय, स्याउ १ सय विरुवा वितरण गरी फलफूलको क्षेत्रफल विस्तार गरिएको छ । किवि बगैँचा थाक्रो व्यवस्थापनको लागी पोलमा अनुदान कार्यक्रम मार्फत रोशी गाउँपालिकामा किवि उत्पादन तथा बगैँचा व्यवस्थापनका लागी ९० पोल वितरण गरिएको छ । विभिन्न ब्लक तथा पकेट संचालन कार्यक्रम मार्फत पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका, पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, चौरीदेउराली गाउँपालिकामा २ सय ६० थान मिनि टिलर, पावर टिलर वितरण गरिएको, पनौतिमा १८ वटा फलामको प्लाष्टिक घर निर्माण, पाँचखाल १३ मा ७ वटा माछा पोखरी निर्माण, नमोबुद्ध २ मा ३ हजार ड्रागन विरुवा रोपण तथा १ हजार पोल गाडिएको छ । कोरोना भाईरसका कारण अधिकांश कार्यक्रम सम्पन्न हुन नसकेको तथा भएका कार्यक्रमहरुको पनि प्रभावकारीता नभएको बताईएको छ ।
समुह, सहकारी, नीजि क्षेत्रको ५० प्रतिशत साझेदारीमा मेशिनरी औजार वितरण गर्ने कार्यक्रम राखिएको छ । सोहि कार्यक्रममा ५० प्रतिशत रकम जम्मा गर्न नसक्ने वर्गका कृषकहरुलाई समेटन सहकारीलाई प्राथमिकतामा राख्नु पर्ने सुझाव प्रस्तुत गरिएको छ । उच्च प्रविधियुक्ति संरक्षित संरचनामा तरकारी खेति, उन्नत विउ उत्पादन तथा प्रवद्र्धन, एक निर्वाचन क्षेत्र मोडेल फर्म विकास तथा विस्तार, साना सिचाई, प्लास्टिक पोखरी निर्माण तथा मर्मत कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । कृषि मेला महोत्सव आयोजना गर्ने, कृषि कर्जा तथा विमामा कृषकको पहुँच बढाउन बैक, विमा कम्पनी तथा कृषकहरुसँग अन्र्तक्रिया गर्ने, राष्ट्रपति कृषक पुरस्कार, कृषि तथ्याङ्क संकलन तथा प्रशोधन, आकस्मिक बालि संरक्षण लगायतका कार्यक्रम चालु वर्षमै गरिनेछ । कृषिको एउटा तस्विर राख्ने
यि हुन् प्राथमिकताका बाली
काभ्रेपलाञ्चोक जिल्लामा प्राथमिकता प्राप्त बालीहरुको छनौट गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई काभ्रेपलाञ्चोकले जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठक आयोजना गरी बालीहरुको छनौट गरेको हो ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्वव केसीको अध्यक्षतामा बसेको बैठकले धान, मकै, गहुँ, तरकारी, आलु, सुन्तला, स्याउ, आँप, केरा, दुध (गाई, भंैसी) माछा, मासु (बाख्रा, बंगुर), निर्यात प्रर्वद्धन बाली (कफि, अलैची, अदुवा, बेसार), दलहन÷तेलहन बाली, मौरी प्राथमिकतमा राख्ने निर्णय गरेको छ । जिल्लामा प्राथमिकतामा परेको बालीलाई स्थानीय तहले स्थानीय भुगोल तथा मौषम अनुसार कार्यपालिकाको बैठक मार्फत निर्णय गरी कार्यान्वयनमा ल्याउने निर्णय गरिएको वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलले बताउनु भयो । बैठकमा प्राथमिकता प्राप्त बालीहरुको छनौट र चक्लाबन्दी सम्वन्धी नीतिगत व्यवस्था एवं स्थानीय तहहरुको भूमिकाका बारेमा बैठकमा छलफल भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लक्ष्य बमोजिम प्रदेश सरकारका जिल्ला स्थित कृषि ज्ञान केन्द्र र भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत सञ्चालन हुँदै आइरहेका ब्लकहरुलाई जोनको तहमा स्तरोन्नति गर्ने निर्णय भएको छ । दुध (गाई भैंसी), तरकारी, मासुजन्य (बाख्रा), फलफूल, निर्यात प्रर्वद्धन वाली (कफी) लाई प्राथमिकतामा राखेर जोनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
स्थानीय तहहरुले पालिका भित्रका १२ डिग्री भन्दा कम भिरालोपना भएका र तत्काल वस्ती विस्तार हुने सम्भावना नरहेका खेतीयोग्य क्षेत्रहरु स्थानीय भू–उपयोग परिषद् मार्फत पहिचान एवं वर्गिकरण गरी उक्त क्षेत्रमा जग्गाको चक्लाबन्दी गरी आधुनिक खेती गर्न गराउन नीतिगत व्यवस्था गर्ने निर्णय भएको छ । बेथानचोक गाउँपालिकाको भुमेवेशीमा २ सय रोपनीमा चक्लाबन्दीको कार्य शुरु भएको छ । पाँचखाल नगरपालिकाको शेराबेसीमा २ सय रोपनी, दुधेश्वरमा ५० रोपनी र अनेकोटमा २ सय रोपनीमा चक्लाबन्दी शुरु भएको छ । मण्डनदेउपुरको ज्वानेटारमा १ सय रोपनी र बाँसगढीमा १ सय रोपनीमा चक्लाबन्दीको कार्य सम्पन्न भएको छ । पनौतीमा चार सय रोपनीमा, मण्डनदेउपुरको कुन्ताबेशीमा २ सय रोपनी, धुलिखेलको शंखुमा चक्लाबन्दीको कार्य शुरु गरिएको छ ।
परियोजना कार्यान्वयनको लागि स्थानीय स्तरमा सहजीकरण एवं समन्वय गर्न जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिले अनुगमन गर्नेछ । परियोजना सञ्चालनमा सहजीकरण गर्ने, परियोजनामा तोकिएका कार्यक्रमहरुमा समन्वय तथा अनुगमन गर्ने, अन्तर निकाय समन्वय गर्ने, परियोजना संचालनमा आइपरेका समस्याहरु समाधानका लागि पहल गर्ने जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताउनु भयो ।
सम्मानित कृषकको अनुभव-‘कृषि सम्मानित पेशा जस्तो लागेको थिएन’
सिन्धुपाल्चोक जिल्लाका चोगेल शेर्पाले ब्यवासायिक खेती शुरु गरेका दशक नाघिसकेको छ । सामान्य अक्षर मात्रै चिनेका चोगेल केहि वर्ष लाङटाङ राष्ट्रिय निकुञ्जमा जागिरे थिए । जागिरबाट सन्तुष्ट नभएका चोगेलले केहि वर्ष कार्पेट ब्यापारमा संलग्न भए । काठमाडौमा ब्यापार गरेर बसेका चोगेलको मन सन्तुष्ट भएन । लगत्तै गाउँ फर्किएर बाँझो भएको जमिनमा शुरु गरेको ब्यवसायले जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान उपलब्ध गरायो । चोगेललाई कृषक भएकै अवस्थामा सम्मान हुन्छ जस्तो लागेकै थिएन । सम्मान भए पछिको खुशीले कृषि ब्यवसाय गर्न थप हौसला मिलेको चोगेलले बताउनु भयो ।
पछिल्लो समय कृषिमा ब्यवसायीकरण सँगै अनुदान प्राप्ती गर्न नक्कली ब्यवसायीकरणको शुरुवात भएकोमा कृषकहरु चिन्तित बनेका छन् । करोडौ रुपैया अनुदान लिने तर ब्यवसायलाई निरन्तरता नदिने प्रचलनले राज्यको सम्पती लुटिरहेको भन्दै चोगेलले सरकारी अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । कृषि ज्ञान केन्द्र काभ्रेले सिन्धुपाल्चोकका चागेल शेर्पा र अर्जुनबहादुर सापकोटालाई जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट कृषकबाट सम्मान गरेको छ भने काभ्रेपलाञ्चोक जिल्लाका मण्डनदेउपुर ७ का गोविन्दप्रसाद नेपाललाई सम्मान गरेको छ । सम्मान पाएका अगुवा कृषकहरुले राज्यको सहयोग पर्याप्त नभए पनि सम्झिएकोमा खुशी ब्यक्त गरेका छन् । कृषकका नाममा भएको अनियमिततालाई अनुगमन गरी रोक्न उनिहरुले सुझाव दिए । चोगेलले इलामबाट कृषि सम्वन्धी तालिम लिएर जडिबुटी खेति गरे । पछि किवी शुरु गरे । बार्षिक ३ हजार ५ सय केजी किवी फलाएका चोगेलले मुस्ताङ्गमा फल्ने स्याउ, ट्राउट माछाको ब्यवसायीक खेति गरेका छन् । पहिले किवी नविकेर हैरान भएका चोगेल फल्नु अघि नै ब्यापारीहरुले खरिदका लागि रकम दिए पछि हौसिएका छन् । सिन्धुपाल्चोकको ओखरेनीमा फल्ने किवी रसिलो र स्वादिलो भएकाले ग्राहकहरुलाई सहज भएको उहाँको अनुभव छ ।
चोगेल जस्तै सिन्धुपाल्चोक जिल्लामा ब्यवसायीक खेति शुरु गरेका अर्जुनबहादुर श्रेष्ठले यातायात मजदुर, ब्यापारी हुँदै भुकम्प पछि ब्यवसायीक खेति शुरु गरेको बताउनु भयो । खेतिमा जति सन्तुष्टी र आनन्द कतै नभएको उहाँको अनुभव छ । उहाँले ४ सय भन्दा धेरै रोपनीमा किवी खेतिका लागि २ करोड लगानी गर्नु भएको छ । कृषकहरुलाई सहुलियत दरको ऋण सहज रुपमा बैंकले उपलब्ध नगराउने, पालिकाहरुमा राजनीतिक आस्थाका आधारमा ब्यवहार गर्ने गरेको उहाँको गुनासो छ । घरघरमा पु¥याउँदा समेत विक्री नभएको तरकारी तथा किवी अहिले अनलाईन मार्फत विक्री शुरु भएको छ । ब्यवसायीक खेतीका लागि मन देखि नै लाग्दा सफल हुने उहाँको विश्वास छ ।
काभ्रे मण्डनदेउपुर ७ का गोविन्दप्रसाद नेपालले धानको विउ उत्पादन गरेर नमुना र उत्कृष्ट कृषकको उपाधी प्राप्त गरेका छन् । पुरानो खेती प्रणालीलाई विस्थापित गरी नयाँ प्रविधि अनुसारको खेति गर्दा सहज र धेरै फल्ने उहाँको अनुभव छ । आम्दानीको हिसाबले पनि खेतियोग्य जमिनमा प्रविधिलाई प्रयोग गरी उन्नत खालको विउ लगाउन सुझाव दिनु भयो । जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडी, भेटनरी केन्द्रका डा. मोगलप्रसाद यादव, उत्कृष्ट कृषकहरुले ब्यवसायीक खेतिका बारेमा जानकारी गराउनु भएको थियो । सम्मानित कृषकहरुलाई प्रमाणपत्रका साथै नगद १० हजार उपलब्ध गराईएको छ ।





