2026 July 07/ 01:56: 31am

    बनेपा/७१ औं प्रजातन्त्र दिवसको अवसर पारी नेपाल भुतपूर्व सैनिक संघ काभ्रे जिल्ला समितिले नेपाली कांग्रेस काभ्रेको नवनिर्मित भवन परिसरमा विपी कोईरालाको अर्धकदको शालिक शिल्यान्यास गरेको छ । प्रजातन्त्र सेनानी शिव बडाल ‘कंगाल’ले शालिक शिल्यान्यास गर्नु भएको थियो । 
    ‘राजपरिवारको हत्या गरेसँगै नेपालमा हिन्दु धर्म नाश गर्ने कार्य शुरु भयो’–प्रजातन्त्र सेनानी शिव बडाल ‘कंगाल’ले भन्नुभयो–‘प्रजातन्त्र पटक–पटक मास्ने काम भयो, नेतृत्व सहि नहुँदा प्रजातन्त्र नै असफल भयो ।’ प्रजातन्त्र ब्यवसायीहरुको हातमा पुगेकाले त्यसलाई टिकाउन नसकिएको उहाँको भनाई थियो । ‘राजा नरहे मुलुकमा प्रजातन्त्र रहँदैन भन्ने विपीको विचार अहिले लागु हुँदैछ’–बडालले भन्नुभयो–‘हेर्दै जानुस मुलुकमा राजा नहुँदा के के हुन्छ ? हेर्दै जानुस, राजतन्त्र मास्न नेपालमा आन्दोलन भएकै थिएन ।’ दुई ठुला मुलुकको बीचमा नेपाल भएकाले नेपाललाई धार्मिक आश्थाका आधारमा थिचोमिचो हुन सक्ने भएकाले हिन्दु धर्मको रक्षाका लागि सबै एक हुनुपर्ने उहाँले बताउनु भयो । 
    शालिक शिल्यान्यास कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले विपीले मान्दै आउनु भएको राष्ट्रियता, प्रजातन्त्र र समाजबादलाई एकै साथ लिएर हिड्न सके मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउनु भयो । आजको आवश्यकता मुलुकका लागि यि तिनैवटा विषय भएकाले त्यसलाई आत्मसाथ गर्नु पर्ने बताउनु भयो । नेपाल भुतपूर्व सैनिक संघ काभ्रेका अध्यक्ष इन्द्रबहादुर दाहालले विपीको विचारलाई ब्यवहारमै कार्यान्वयन गर्न सधैं झक्झक्याउने उद्देश्यले कांग्रेस कार्यालय परिसरमा शालिक निर्माणको योजना तयार गरी प्रजातन्त्र दिवसको अवसरमा शिल्यान्यास गरिएको बताउनु भयो । शालिक निर्माणका लागि १७ लाख खर्च हुने इस्टमेट गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले प्रजातन्त्र बलियो हुँदा मात्रै प्रेस स्वतन्त्रता रहने बताउनु भयो । 
    सदस्य हेमशंकर गिरीले विपीका शालिक विभिन्न स्थानमा निर्माण गरी विपीको विचारलाई फैलाउनु पर्ने बताउनु भयो । कार्यक्रममा राजु सिग्देलले शालिक निर्माणका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।