2026 July 07/ 01:56: 33am

कोभिड १९ मा सामुदायिक वनको भूमिका

    बनेपा/विश्वभरी फैलिएको कोभिड १९ ले विश्वका सबै क्षेत्र प्रभावित बनाएको छ । यस्तो संकटमा नागरिकहरुलाई महामारी फैलन दिन विभिन्न क्षेत्रका नागरिकहरु, संघसंस्थाहरुको भूमिका फरक फरक रहेको थियो । आज हामीले महामारी रोकथाम, नियन्त्रण र ब्यवस्थापनसँगै सामुदायिक वन उपभोक्ता महासंघ अन्र्तगत वन समुहको कस्तो भूमिका रह्यो ? कोभिडले समुहका सदस्यहरु आफैलाई संकट बनायो कि बनाएन ? विपद्मा सामुदायिक वनहरुको भूमिकालाई कस्तो बनाउनु जरुरी छ ? बनेपा नगरपालिका वडा नम्वर ६ मा रहेको गोसाईकुण्ड सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुसँग अन्र्तक्रिया गरेका छौं । अन्र्तक्रियामा सामुदायिक वन उपभोक्ता समुहले गरेका गतिविधिहरुसँगै उहाँहरुका ब्यक्त विचारहरुः 

राजेन्द्र थापा
अध्यक्ष
गोसाईकुण्ड सामुदायिक वन उपभोक्ता समुह

    बनेपा र धुलिखेल नगरपालिकाको सिमानामा पर्ने गोसाईकुण्ड सामुदायिक वन संरक्षणका लागि १० वर्षे कार्ययोजना तयार गरिएको छ । जिल्लाका पुराना बनहरु मध्ये गोसाईकुण्ड पर्दछ । २०१९–२०२५ सालसम्म गोसाईकुण्ड क्षेत्रको नाङ्गो पाखालाई हरियाली बनाउन अष्ट्रेलियन वन सामुदायिक परियोजना मार्फत सल्लाका विरुवाहरु बृक्षारोपण गरिएको थियो । उक्त विरुवाहरु संरक्षण भएकै कारण उक्त क्षेत्र हरियाली देखिएको छ । सुख्खा र उजाड क्षेत्र हरियाली हुँदा त्यसले नागरिकहरुलाई दिएको स्वच्छ हावा, निरन्तर पिउने पानी र आन्तरिक तथा बाह्य पर्यटकिय क्षेत्र हुँदै दैनिक मर्निङ्गवाक आउनेहरुका लागि शारिरीक र मानसिक रुपमा पनि सहज बनाई रहेको छ । उपभोक्ताहरुको सक्रियता रहँदासम्म उक्त वनको संरक्षण भईरहे पनि खुल्ला क्षेत्रका कारण सिमानाबाट अतिक्रमण अर्थात धार्मिक क्षेत्र भएकाले त्यसले प्रभाव पारिनै रहेको छ । 
    एकवर्ष अघि मात्रै गठन भएको नयाँ समितिले १० वर्षे गुरुयोजना तयार गरेको छ । गुरुयोजना अन्तर्गत सल्लाका रुखहरु विस्थापित बनाउने योजना छ । सल्लाका रुखहरुले पानी सोस्ने र मुलहरु सुकाउँदै गएकाले त्यसका ठाउँमा रसिला रुखहरु अध्ययन गरेर लगाउने तयारी गरिएको छ । उतिस, चिलाउने जातका रुखहरुलाई समेत सल्लोले छायाँमा पारेको छ । उक्त वन भित्र हरेक वर्ष जनैपुर्णिमाको दिन छिमेकी जिल्लाहरुबाट समेत धार्मिक पर्यटकहरुको घुईचो लाग्ने गर्दछ । हिन्दु धर्मावलम्बीहरुको अलावा बुद्ध धर्म मान्नेहरु पनि उक्त दिन मेला भर्ने गरेका छन् । कोभिड १९ का कारण उक्त जात्रा यो पटक हुन सकेन । जात्रा नभएकै कारण उक्त क्षेत्रमा आवतजावत कमी हुन गयो । जात्रा ब्यवस्थापन समितिले सूचना प्रकाशन गरेरै मेला भर्न नआउन अनुरोध गरेको थियो । उक्त वन भित्र गुरुकुल विद्यालय स्थापना गरिएको छ । जसबाट गत वर्ष ७ जनाले एसईई दिएका छन् । वन क्षेत्र भित्र विद्यालय स्थापना गरिएको विषयमा मुद्दा परेको छ । वन क्षेत्र भित्र बनेका पक्की घरहरुका कारण समस्या भएको छ । उपभोक्ताहरुको सहमतिमा वन मन्त्रालय र सरकारले मात्रै भाडामा दिन सक्ने ब्यवस्थाका बारेमा जानकारी भएन । 
    कोभिड १९ ले वन योजना तयार गर्न र कार्ययोजना कार्यान्वयनमा चुनौती थपियो । समुहका सदस्यहरु समेत भेला भएर बैठक तथा भेला गर्न नसके पछि तत्काल कार्य अगाडि बढाउन सकिएन । वन क्षेत्र भित्र बनेपा नगरपालिका सहितका सरोकारवाला निकायको सहयोगमा निर्माण हुन लागेको सिंढी निर्माणमा सामुदायिक वनले समन्वय गर्ने निर्णय गरेको छ । त्यसको तयारी पनि कोभिडकै कारण हुन सकेन । कोभिड १९ मा घर भित्रै बसिरहँदा ब्यक्तिमा पर्ने नकारात्मक असर छल्न तथा ब्यक्ति स्वस्थ बन्न शहरी क्षेत्रबाट ब्यक्तिहरुको घुँईचो लाग्यो । एक पटक त बनमा आगलागी समेत भयो । कोभिड १९ को बेला बनमा आगलागी भए पछि आगो नियन्त्रणमा लिन हम्मे हम्मे भयो । दैनिक २÷३ सय ब्यक्तिहरु बन भित्र स्वच्छ हावाका लागि आएका कारण वन क्षेत्र सुरक्षित पनि भयो । कोभिडले उपभोक्ताहरुलाई सचेत मात्रै गराएन सामुदायिक वनहरुको संरक्षण हुँदा विपद्मा आश्रय लिन सहज हुने रहेछ । यो वनबाट नेपालका प्रमुख हिमालहरु सगरमाथा, अन्नपूर्ण, गणेश, जुगल देखिन्छन् । गोसाईकुण्ड सामुदायिक वनले शहरी क्षेत्रको उकुसमुकुसलाई राहत दिएको छ । कोभिडको बेला यो राहत धेरै नागरिकहरुले प्राप्त गर्नु भएको छ । 

ज्ञानमणी न्यौपाने
उपाध्यक्ष

    विगतमा जस्तो सामुदायिक वनबाटै आश्रित हुनेहरुको संख्या कमी हुँदै गएको छ । वन क्षेत्रसँग जोडिएका केहि उपभोक्ताहरु बाहेक अधिकांशले वनलाई प्रयोग गरेर जीवन धान्नु पर्ने अवस्था छैन । शहरी क्षेत्रको बढ्दो प्रभावले वनलाई प्रत्यक्ष भन्दा अप्रत्यक्ष रुपमा प्रयोग गर्नेहरुको संख्या बढेको छ । विहान विहानै शरीरलाई स्वस्थ बनाउन मर्निङ्ग वाक गर्ने र वनमा गएर स्वच्छ हावा खाएर फर्कनेहरुलाई गोसाईकुण्ड सामुदायिक वन आकर्षण बन्न थालेको छ । वन क्षेत्र नजिकै निर्माण हुँदै गरेको होटल, गुरुकुल विद्यालय तथा वनभोज लगायतका कारण बनको आकर्षण छ । आकर्षणलाई जोगाउँदै बन क्षेत्र संरक्षण गर्ने, चोरी निकासी हुन नदिने लगायतका अन्य पूर्वाधार सहितको संरक्षणका कार्यहरु राखेर वन कार्ययोजना तयार गरेका छौं । कोभिडले नयाँ योजनालाई कार्यान्वयनमा असर पु¥याएको छ । कोभिडमा हरेक हिसाबले धेरै ब्यक्तिहरुलाई राहत दिएको छ । हरेक दिन विहान उठ्ने वित्तिक्कै शहरी क्षेत्रको उकुसमुकुसलाई सामुदायिक वनले सहजता प्रदान गरेको छ । 

मञ्जु थापा
सचिव 

    सामुदायिक वन महिलाहरुको प्रमुख श्रोत थियो । अहिले हरेक ब्यक्तिको घरमा ग्याँस भएकाले दाउरा लिन जानु पर्दैन । गाई बस्तु पाल्ने कृषकहरुको संख्या पनि कम भएकाले बन उपभोगमा कमी आए जस्तो देखिन्छ । तर पनि वन उपभोग गर्नेहरु बढिरहेका छन् । हामीले संरक्षण गर्ने अभियानमा कोभिड १९ का बीचमा पनि वनको रेखदेख गर्ने, वनमा भएको आगलागी नियन्त्रण गर्ने तथा वन कार्ययोजनाका बारेमा छलफल गर्ने काम भएको छ । अनेक ढंगबाट संरक्षण गरिए पनि कोभिडले घरबाट निस्कन नसक्दा संकट बनायो । हामीले वन क्षेत्रलाई आम्दानीको श्रोत बनाउने उदेश्यले वन कार्ययोजनामा समावेश गरेका विषयलाई कार्यान्वयन गर्ने सोच बनाएका छौं । 

संगीता केसी
कोषाध्यक्ष 

    कोभिडले वनलाई समेत असर पु¥यायो । कार्ययोजनाका बारेमा छलफल हुन दिएन । भेला हुन सकिएन । त्यतिबेला बन क्षेत्रमा जथाभावी प्रवेशका कारण आगलागी भयो । चोरी निकासी हुन खोज्यो । बन्यजन्तुहरुको संरक्षण गर्ने भनिए पनि हरेक क्षेत्रमा खुल्ला भएकाले सम्भव भएन । वनलाई आधार बनाएर रोजगार गर्ने महिलाहरुको संख्या पनि कम हुँदै गएको छ । वस्तु पाल्नेहरुलाई सहुलियत प्रदान गर्ने, वनबाटै आयआर्जन हुने खालका कार्यहरु गर्ने योजना कार्यान्वयन गरेका छौं । 

सागर सिग्देल
सदस्य

    वन संरक्षणले वातावरणीय क्षेत्रमा ठुलो प्रभाव पारेको छ । शहरी क्षेत्रको बाक्लो बस्ति, धुलो धुुँवा तथा आसपासको क्षेत्रमा स्वच्छ खानेपानी र हावा उपलब्ध गराउने वनले कोभिडको बेला धेरै राहत दिएको छ । तर पनि प्रत्यक्ष रुपमा वन प्रयोग गर्नेहरु घटिरहेका छन् । सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरुको अधिकारका बारेमा प्रशक्षिण गर्नुपर्ने, वनका बारेमा जानकारी गराउने कार्य हुनु जरुरी छ । वन भित्र रिचार्ज पोखरी खनिएको छ तर वातावरणमैत्री हुन सकेको छैन । धार्मिक पर्यापटन, रिचार्ज पोखरी, संस्कृत गुरुकुल विद्यालय, गोसाईकुण्डको संरक्षण तथा खानेपानीका मुहानहरुको संरक्षण गर्ने अभियानमा कोभिडकै कारण बृहत्त छलफल हुन सकेन । तर पनि वन संरक्षणले नागरिकहरुलाई ठुलो राहत भएको छ । 

सरस्वती आचार्य
सदस्य

    वनमा सुरक्षा नभएका कारण कोभिडको समयमा आगलागी भयो । पहिला पहिला दाउरा काट्न, घाँस काट्न समुहलाई पत्र लेख्नु पर्दथ्यो । वन जाने उपभोक्ताहरु धेरै हुन्थे अहिले त्यस्तो छैन । वन जोगाउने, संरक्षण गरी उपभोक्ताहरुलाई आय–आर्जन गर्ने गरी बनेको कार्ययोजनालाई कोभिडले छलफल अघि बढाउन दिएन । ग्याँसको प्रयोगका कारण दाउरा आवश्यक भएन । गाई बस्तु नहुँदा घाँस आवश्यक भएन । त्यसकारण पनि वनको उपभोग गर्ने तरिका पनि फरक भएको छ । कोभिडले सामुहिक छलफल गर्न दिएन । 

यशोदा बोगटी, सदस्य
    विपद्मा समेत सामुदायिक वनको महत्व बढेकाले यसको संरक्षण गर्नु जरुरी छ । महिलाहरु पहिला विकल्प नहुँदा वनमा मात्रै जाने आउने गरेको भए पनि अहिले विकल्पहरु धेरै भएकाले नियमित वनमा पुगेर त्यसकै भरमा मात्रै बाँच्नु पर्ने अवस्था छैन । तर पनि सामुदायिक वन जोगाउन र वन संरक्षण गर्न, वनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पु¥याएको फाईदाका बारेमा सबै जानकार छन् । कोभिडका कारण घर भित्र निस्सासिनु परेको अवस्थामा वनले राहत दिएको छ । 

सदस्य पदमबहादुर परियार
सदस्य सुनिल भुजेल
सदस्य शिवप्रसाद पौडेल
सदस्य नारायणबहादुर शाही
सदस्य उत्सव कुईकेल 

    सामुदायिक वन भित्र हुने अनाधिकृत प्रवेशलाई रोक्न नसक्दा कोभिडको समयमा धेरै स्थानबाट ग्रैह सदस्यहरुको प्रवेशले कोभिड १९ को समयमा झण्डै वन सखाप हुन पुगेको थियो । उपभोक्ताहरु तथा सुरक्षाकर्मीहरुको सहयोगमा आगो नियन्त्रणमा लिए पनि वन क्षेत्र भित्र हुने ग्रैह्कानुननी कृयाकलापलाई रोक लगाउँदै विपद्मा सबै नागरिकहरुका लागि उपयोगी हुने सामुदायिक वनको संरक्षणमा सबैका ध्यान जान जरुरी छ । गोसाईकुण्ड आफैमा धार्मिक स्थान भएकाले यसको संरक्षण, प्रर्वद्धन र प्रचारात्मक योजान बनाई आयआर्जन बृद्धि गर्नु जरुरी छ ।