2026 July 07/ 12:33: 17am

आर्थिक वर्ष २०७६/२०७७ मा सबै भन्दा आयकर, मुअकर, अन्त शुल्क र ब्याज समेत गरी उत्कृष्ट कर तिर्ने संस्थाका रुपमा जिल्लामा नाम चलेका संस्थाहरु परेका छन् । उत्कृष्ट २५ संस्था मध्ये जिल्लामा केहि फर्म आयकर, मुअकर, अन्तःशुल्क र ब्याजमा दोहोरिएका छन् । 
मोतीराम तिमल्सिना
धुलिखेल

    आन्तरिक राजश्व कार्यालय धुलिखेलले चालु आर्थिक वर्षको ६ महिना अर्थात पौष मसान्तसम्म राजश्व असुली लक्ष्यको ४१ प्रतिशत धेरै असुली गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६८ करोड रकम असुल गरेको छ । १ अर्ब १८ करोड लक्ष्य रहेकोमा १ अर्ब ६८ करोड असुल गरी लक्ष्यको झण्डै ५० प्रतिशत धेरै असुल गरेको आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कर अधिकृत कमबलबहादुर राजलवटले जानकारी दिनु भएको छ । 
    कार्यालयले आय कर बापत ७८ करोड ५ लाख, घर भाडा बापत २ करोड ४४ लाख, ब्याज कर १३ करोड ३२ लाख ६६ हजार, भ्याट बापत ५९ करोड ७० लाख, अन्तःशुल्क बापत १४ करोड ३८ लाख असुल गरेको छ । आन्तरिक राजश्व कार्यालय धुलिखेलमा १ हजार ८ सय ६१ सहकारी, ३० वटा शैक्षिक संस्था, ३ वटा अस्पताल, आईएनजिओ ५ वटा, ज्वाईन्ट भेन्चर कम्पनी २ सय ९२ वटा, एनजिओ २ हजार ६ सय ६ र परोपकारी संस्था ५० वटा दर्ता भएका छन् । आयकरमा ३६ हजार ५ सय ४६ फर्म दर्ता भएका छन् । ब्यक्तिगत पान लिनेहरुको संख्या ३४ हजार ३ सय २७ पुगेको छ । मुअकरमा ५ हजार ४८ वटा फर्म दर्ता भएका छन् । अन्तःशुल्कमा १ हजार ५ सय ४९ वटा कम्पनी दर्ता भएका छन् । कार्यालयले लिएका पानको संख्या ५ सय ९५ रहेको छ । 
    आर्थिक वर्ष २०७६/०७७ को एक आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालय धुलिखेलमा सबै भन्दा धेरै कर बुझाउने २५ वटा संस्थाहरु मध्ये अधिकाश काभ्रेपलाञ्चोक जिल्लामा कारोवार गर्ने कम्पनीहरु छन् । रोयल काठमाडौ हिमालय बेभरेज, स्वरोजगार लघुवित्त वित्तिय संस्था, स्रोम्यान वाईनरी, मिर्मिरे लघुवित्त, संकटा वाईन, मेलम्ची इन्द्रावती ह्युम पाईप उद्योग, मेलम्ची एण्ड इन्द्रावती स्टोन, विक्रम खाद्य स्टोर, सामुदायिक लघु वित्त, विन्धबासिनी सहकारी, नाङशाल रोडा ढुंङ्गा उद्योग, सामुदायिक सहकारी, नयाँ नेपाल लघु वित्त, यति प्लास्टिक इण्डस्ट्रिज, होटल कन्ट्रि भिल्ला र मानुषी लघुवित्त वित्तिय संस्था रहेका छन् । उक्त संस्थाहरुले आयकर, मुअकर, अन्तःशुल्क र ब्याज समेत गरी जिल्लामा उत्कृष्ट कर तिर्ने संस्थाका रुपमा चिनिएका हुन् । 
    ब्याजकर बुझाउने उत्कृष्ट संस्थाहरुमा सहकारी धेरै छन् । जिल्लामा रहेका विन्धबासिनी, स्वारोजगार लघु वित्त, सामुदायिक साकोस, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ, ज्योती सहकारी, मिर्मिरे लघुवित्त, मनकामना सहकारी, बुडोल सामुदायिक, चण्डेश्वरी साकोस, उग्रतारा बहुउद्देश्यीय सहकारी, महिला लघुवित्त, आभाष साकोस, ज्योति मिर्मिरे सामुहिक बचत, नागरिक विकास सेभिङ्ग एण्ड क्रेडिट सहकारी, राष्ट्र उत्थान लघुवित्त, शुलभ साकोस, गोर्खा विकास सहकारी, क्यापिटल सहकारी, अग्नि सहकारी र आर्थिक विकास मित्र बचत सहकारी २५ औ संस्था भित्र परेका छन् । अन्य संस्थाहरुले कारोबार धेरै भए पनि ब्याज कर लुकाएका छन् । थोरै कर बुझाएर राजश्व छलेका छन् । 
    अन्तःशुल्कमा कारोवार गर्ने रोयल काठमाडौ हिमालय बेभरेज, स्रोम्यान वाईनरी, संकटा वाईन, शिखर लिकर एण्ड डिस्टिलरी, चण्डीका प्रिन्ट प्याक, नासिका पोलिमर्स, वाईनस वाईन, एभरेष्ट नुडल्स एण्ड फुडस प्राली, युनिभर्सल वाईन इण्डस्ट्रिज, नानीमैया किराना पसल, एस कुमार स्टोर्स, आर्यन होटल, न्यौपाने ट्रेडर्स, रोशन इन्टरप्राईजेज, के आर ट्रेडर्स, राजिव स्टोर, के वि आर टि ट्रेडर्स, इन्द्र मदिरा पसल, जय भिमसेन स्टोर, राज दिप इन्टरप्राईजेज २५ वटा उत्कृष्ट अन्त शुल्क तिर्ने फर्म भित्र पर्दछन् । जिल्लामा अन्य थुप्रै फर्म भए पनि अन्तःशुल्क कम बुझाएका छन् । 
    जिल्लामा उत्कृष्ट मुअकर बुझाउने फर्महरुमा विक्रम खाद्य स्टोर, मेलम्ची इन्द्रावती ह्युम पाईप उद्योग, मेलम्ची एण्ड इन्द्रावती स्टोन, रोयल काठमाडौ हिमालय वेभरेज, यति प्लास्टिक इन्डस्ट्रिज, स्रोम्यान वाईनरी प्राली, न्यू ड्राईगन निर्माण सेवा, नाङशाल रोडा ढुंगा उद्योग, होटल कन्ट्रि भिल्ला, जयमाता इन्जिनियरिङ्ग कन्ट्रक्सन प्राली, ब्राईट मल्टि कन्ट्रक्सन प्राली, त्रिवेणी ट्रेडिङ्गग एण्ड सप्लायर्स, भगवती निर्माण सेवा, नमोबुद्ध नगरपालिका र धुलिखेल निर्माण सेवा प्रालि रहेका छन् । 
    आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट आयकर तिर्ने फर्महरुमा स्वरोजगार लघुवित्त, मिर्मिरे लघुवित्त, समुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्त, पुर्वाधार विकास कार्यालय, मेलम्ची इन्द्रावती ह्युम पाईप उद्योग, शिर मेमोरियल अस्पताल, मानुषी लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, नाङसाल ढुंगा रोडा उद्योग, विन्धबासिनी सहकारी, रोयल काठमाडौ वेभरेज, मेलम्ची एण्ड इन्द्रावती स्टोन प्राली, महिला लघुवित्त, सामुदायिक साकोस र बनेपामा रहेको माँ चण्डेश्वरी अटो स्पेयर रहेका छन् । बनेपाको माँ चण्डेश्वरी अटो स्पेयरले गुणस्तरीय सेवासँगै एक वर्षमा ५० लाख ८८ हजार राजश्व बुझाएको छ । २०७७/०७८ मा उक्त संस्थाले अग्रिम आयकर ७२ लाख बुझाएको छ । उक्त वर्ष उक्त फर्महरु धेरै आय कर बुझाउने २५ वटा संस्था भित्र परेका थिए । सोहि आर्थिक वर्षमा सिन्धुपाल्चोक जिल्लाबाट सिन्धु विकास बैंक र काभ्रेपलाञ्चोक जिल्लाबाट स्वरोजगार लघु वित्त संस्था उत्कृष्ट कर तिर्ने संस्थाका रुपमा सम्मानित भएका थिए । जिल्लामा धेरै कर  लघुवित्त संस्थाबाट संकलन भईरहेको छ ।