2026 July 07/ 12:33: 11am

- सहदेव थापा
वीरहरुले ताँदो माथितिर चढाए
तिरहरुले अचूक निशाना लगाए
माटोको बास्ना बोकेर माटोकै गीत बोकेर
हजार हजार मुटुहरुले मानवताको स्वर मचाए
                                           - चन्द्र भण्डारी
शहिद दिवस वर्षमा एक पटक सम्झने लोकाचार गर्ने श्रद्धा मात्र हुनुहुँदैन । शहिदको सपनामा आफूलाई समाहित गराउन सकेमात्र साँच्चै शहिदहरुलाई सम्मान हुन्छ । सेनाको जागिर छोडेर राणाको जहानियाँ शासनको विरोधमा लागेका लखन थापा वि.सं. १९३६ मा प्रथम शहिद भए । त्यस्तै राणाकै जहानियाँ शासनको विरुद्ध जीवन आहूति दिने शहिद शुक्रराज शास्त्रीको जन्म वि.सं. १९५० सहादत १९९७ माघ १०, दशरथ चन्दको जन्म वि.सं. १९६० सहादत १९९७ माघ १५, धर्मभक्त माथेमा जन्म वि.सं. १९६६ सहादत १९९७ माघ १३, गंगालाल श्रेष्ठ जन्म वि.सं. १९७५ सहादत १९९७ माघ १५ गते । यी चार शहिद सम्झनामा राष्ट्रले माघ १६ लाई शहिद दिवसको रुपमा मनाउँदै आएको छ । सहादत पाउने कोटामा परेमा ब्राम्हण भएको हुनाले नमारेकोले टंकप्रसाद आचार्यलाई जिउँदो शहिद भनिन्छ । २०६२÷०६३ को आन्दोलनमा गोली लागेर बेडमा छट्पटाइरहेका काभ्रेका मुकेश कायस्थ अर्काे जिउँदो शहिद हुन् । २००७ सालको क्रान्तिमा भोगेन्द्रमान सिंह, थिरबम मल्ल किसान आन्दोलनमा भिमदत्त पन्त शहिद हुनुभयो । 
    २०२९ सालमा झापा आन्दोलनमा लागे बापत पञ्चायती निरंकुश सरकारले वर्तमान प्रधानमन्त्री केपी ओलीको सहपाठीहरु रामनाथ दाहाल, कृष्ण कुइँकेल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठलाई २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगि गोली हानी शहिद बनायो । पञ्चायती सरकारले धनकुटाको खोकु छिन्ताङमा होस् वा सिन्धुपाल्चोकको पिस्करमा माघे संक्रान्तिमा मेला भर्दा सहादत प्राप्त गरेका ठूले थामी हुन् । यी सबै सहिदहरुले छाना, नाना, खाना र लोकतन्त्रका लागि आफ्ना जीवन उत्सर्ग गरेका थिए । के आज गणतन्त्र आउँदा पनि शहिदको सपना पूरा भएको छ त ? सामाजिक परिवर्तनले जब सार्थक गति लिन्छ त्यसपछि मात्र राजनीतिक परिवर्तनको औचित्यले सार्थक गति लिन्छ । राजनीतिक प्रणाली बदले पनि सामाजिक अवस्था बदल्न किन सकिरहेका छैनौं ? यो हाम्रो समाजको लागि बहसको विषय बनेको छ । विकृतिलाई जहाँको त्यहि राखेर प्राप्त हुने व्यक्तिगत उपलब्धि भन्दा समाजको एक सामान्य मान्छे कहलिन पाउने गौरवको इज्जत छुट्टै मिठो हुन्छ । जनताको जीवन आक्रान्त छ सामाजिक दुःख व्यथाहरु छन् । यि कथाहरु हेर्दै कहिलेसम्म आनन्दले निदाउन सकिन्छ । हाम्रा वीर पुर्खाहरुको गौरवका गाथाहरु थुप्रै छन् । हाम्रा जनताहरुको व्यथाहरु पनि थुप्रै छन् । व्यथाहरुलाई केस्रा केस्रा केलाउनु पर्ने अवस्था छ । 
आज शहिद दिवस आइरहँदा हामीले आफैले आफैलाई प्रश्न गरी आफ्ना राम्रा नराम्रा काममा आत्मआलोचना गर्न तयार हुनुपर्छ । राजनीतिक चरित्रको कुरो गर्दा ग्रीक दार्शनिक प्लेटोको भनाई छ “मान्छेको पहिचान भनेकै उसालई दिएको शक्तिको कस्तो प्रयोग गर्छ भन्ने हो ।” तर हाम्रो देशको समस्या भनेको आफूले पाएको पद छोड्नै नचाहने यदि छोड्नु परे त्यसलाई भत्ताभुङ्ग पार्ने प्रवृत्ति छ । आफ्नो कार्यसमयको ‘लिगेसी’ के हुने भन्नेबारे चासो र चिन्ता देखिँदैन । समाज सफल बनाउन भावी पिँढीलाई सोचेर नीति निर्माण र कार्यान्वयन गर्ने साहस भएको दूरदर्शी नेतृत्व चाहिन्छ नकि आफू र आफ्नो परिवारको स्वार्थ हो । आज सबैतिर प्रश्न छ यो देश कस्को हो ? भुइँमान्छेको हाकी, केहि स्वार्थी मुठ्ठीभर नेताहरुको हो ? २००७ सालमा राणा फालियो, राणा पछि देश राजाको भयो देशमा पञ्चायतको रजगज भयो । पञ्चायतको विरुद्ध आन्दोलन भयो २०३६ सालको संघर्षले पञ्चायती जग हल्लियो । २०४६ सालको आन्दोलनले पञ्चायती जग नै उखालेर फाल्यो । नागरिक समाजको शासनको पिलर गाड्यो । राजाको मान्छे होइन नागरिक मान्छेलाई सत्तामा पु¥यायौं। सत्ता हाम्रो देश हाम्रो हो भन्यौ । त्यसबेला पनि शासन हाम्रो भएन । राजाले हामीलाई शासन गर्न दिएन भने हाम्रा नेताहरुले हामीलाई लाग्यो राजा फाल्दा हाम्रो शासन आउँछ भनेर राजा फाल्यौं । 
हामीलाई अब त पक्कै रैतिबाट नागरिक भयौ । हाम्रो शासन आयो राजा फाल्यौ गणतन्त्र ल्यायौं । अफसोच होइन रहेछ हामी नागरिक भएका रहेनछौं । हाम्रा जनप्रतिनिधिहरु नगरपालिका सितलनिवास सिंहदरबार छिरेपछि उनीहरु कोही छोटे राजा, कोहि बडेराजा, कोहि बडे महारानी बने । सत्ताको उन्मादको बिच जनता पिसिए । नागरिक हुन् नेपालीहरुले संघर्ष गरीरिहें तर कहिले नागरिक भएनन् । नेताहरुले कुर्सीको लडाई लडिरहे जनताको टाउकोमा खेलिरहे । तैपनि आशा गरेर जनताले कम्युनिष्टलाई बहुमत दिए तर त्यो मतलाई आफ्नै व्यक्तिगत र गुटगत स्वार्थमा प्रयोग गरे । जनताले पठाएका नेताहरु राजशैलीमा नाचिरहेका छन् । राजनीति कमाउनीतिमा परिणत भएको छ । बाटो देखाउनेहरुले बाटो विराउन हुन्न अभ्यास गराउनेहरुले गल्ती सिकाउन हुन्न । पाँच दर्जन सरकार बने, सात संविधान बने तर सँस्कार, सँस्कृति, प्रवृत्ति र पद्दति मान्नेमा कुनै परिवर्तन आएन । यसैले आत्मासाँची राखी मन बचन कर्मले आज समाजमा रहेको विकृत्तिलाई निर्मल पार्नु शहिदको सपनालाई साकार पार्नु हो । शहिदलाई साँची राखी सुसँस्कृतिको विकास गरौं । आजको मुख्य ऐजेण्डा ओलीको विस्थापन र संसद्को पुनःस्थापना मात्र होइन आजको एजेण्डा भनेको सम्पूर्ण न्याय र लोकतन्त्रको समावेशीकरण र सम्बृद्धिको हुनुपर्छ । देश निमाृणमा लालझण्डा र चारतारे झण्डाको विवाद हुनसक्छ । यदि शहिदको सपना साकार पार्ने हो भने चन्द्र सूर्य अंकित झण्डा बोकेमात्र आम जनताको चाहना पूरा हुन्छ । शहिद दिवसले सार्थकता पाउँछ ।