कोरोना भाईरसका कारण अघिल्लो शैक्षिक सत्र पुरा हुन नपाउँदै बन्द भएका विद्यालय पुनः सूचारु हुन सकेका छैनन् । ग्रामिण भेगमा विद्यालय संचालनमा आए पनि शहरी क्षेत्रका सामुदायिक विद्यालय संचालन हुन सकेका छैनन् । बालबालिकाहरु यो विचमा कता कता गए ? कस्तो अवस्थामा छन् ? के गर्दैछन् ? विद्यालयलाई चासोको विषय बनेको जस्तो लाग्दैन । सामुदायिक विद्यालयहरुमा त झनै संकट छ । विद्यालयमा क्वारेन्टाईन र आइसोलेसन वार्ड छन् । अघिल्लो वर्ष सरकारले विद्यालयमा भर्ना अभियान शुरु गरेको थियो । देशभर सामुदायिक तथा नीजि विद्यालयहरुले बालबालिकाहरुको उज्वल भविश्यका लागि अभियान शुरु गरिरहेका छन् । विद्यालयमा विद्यार्थीहरुको स्वागतका लागि गरिएका योजनाहरु पनि भब्य छन् । पहिलाको जस्तो अवस्था अहिले रहेन । पहिले बालबालिकाहरु विद्यालय गए जाउन नगए नजाउन भन्ने सोच हुन्थ्यो । पढेर के हुन्छ र ? विद्यालय नजाँदा के हुन्छ र ? भन्ने सोच पनि हुन्थ्यो । तर अहिले त्यस्तो छैन । विद्यालय नगएका बालबालिकाहरुलाई विद्यालय पु¥याउने र विद्यालय पुगेकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान छ ।
राष्ट्रको सोच पनि निरक्षर नागरिक नबनुन् भन्ने हो । साक्षर नेपाल घोषणा अभियानमा बालबालिकाहरु विद्यालय जाने उमेरले पनि प्रभाव पार्छ । अध्ययन गर्दा मात्रै ब्यक्तिको आँखा खुल्छ । समाजको विकासमा सहजता आउँछ । शिक्षित ब्यक्तिहरुको समाज भएको स्थानमा अध्यारोले गति लिदैन । तर उज्यालोलाई अँध्यारो बनाउने तत्वहरु समाजमा छन् । समाजमा त्यस्ता ब्यक्तिहरु रहँदासम्म मुलुक समृद्ध हुन सक्दैन । कानुन, ऐन जे जे भए पनि ब्यक्तिको सोचमा परिवर्तन ल्याउन नसक्दा सम्म अपराधहरुको न्यूनिकरण गर्न कठिन रहेछ । यो वर्ष त धेरै बालबालिकाहरु विद्यालय जान पाएनन् । विद्यालयमा भर्ना हुने अवसर पनि छैन । सबै विद्यार्थीहरु विद्यलाय जान नपाउँदा सरकारले अघिल्लो वर्ष गरेको अभियान यो वर्ष हुन सकेको छैन । सामाजिक मुल्य र मान्यता एकातिर राख्दै समाजमा बालबालिकाहरुको संरक्षण गर्न अभियानमा लागिरहँदा केहि ब्यक्तिहरुको खराव सोचले ब्यक्तिको जीवनमा प्रभाव पार्ने रहेछ । अहिले हरेक संरचनाहरु बालमैत्री बन्दै गएका छन् । बालमैत्री शासनका नाममा बालबालिकाहरुको अभ्यास पृथक छ । हामी पनि विद्यालयमा कहिलेकाँहि त्यस्तो अनुभुति गर्न पाउँछौं । स्थानीय सरकार, पदेश र संघको समेत अभियान विद्यालय क्षेत्र होस् वा अन्य क्षेत्र सबै बालमैत्री बनाउनु पर्छ भन्ने नै छ । बालबालिकाहरुलाई उमेर र क्षमता भन्दा धेरै काममा लगाउने, श्रम शोषण गर्ने, शारिरिक, मानसिक शोषण गर्ने घटनाहरु अझै नभएका होईनन् । त्यस्ता घटनाहरु रोेक्न वा न्युनिकरण गर्न बालबालिकाहरुसँग सम्बन्धित कानुन र अधिकारका बारेमा समाजमा समय समयमा जानकारी गराउनु पर्छ ।
जिल्लामा केहि वडा बालमैत्री घोषणा गरिएको छ । केहि घोषणा हुने क्रममा पनि छन् । विद्यालयहरुमा बालमैत्री भौतिक संरचना निर्माण भईरहेको छ । वातावरण पनि त्यहितर्फ उन्मुख छ । सरकारले गर्ने हरेक गतिविधिहरुमा बालमैत्री बनाउने प्रयास भएको छ । कानुन नहुँदा वा ब्यक्तिको सोचमा परिवर्तन हुन नसक्दा बालबालिकाहरुलाई गरिन ब्यवहार फरक नै थियो । अहिले त्यो अवस्थाबाट समाज र सरकार धेरै अगाडी बढिसकेको अनुभूति भएको छ । कक्षा ५ मा अध्ययन गर्दै थिएँ । २०७४ माघ १० गतेको घटना हो । सानै उमेर भएकाले होला मलाई त्यसअघिका खासै घटनाहरु याद छैनन् । भएका यादहरु पनि सामान्य नै थिए । बालचञ्चलता अरुमा जस्तै ममा पनि हुने नै भयो । सधैझै त्यो दिन पनि विद्यालय आएर फर्कदै थिए । आईतबारको दिन भएकाले साथीहरुमा उत्साह थियो । शनिबार विद्यालय विदा भएर भोलिपल्ट विद्यालय जाँदा फरक खालको अनुभुति हुन्थ्यो । गरिब र न्युन आयस्तर भएको मेरो परिवार थियो । मलाई मेरा आवश्यकताहरुमा कहिल्यै अभिभावकले रोक लगाउनु भएन । तर पनि मेरा आवश्यकता असिमित थिए । उमेर अनुसार साथीभाईहरुसँग खाजा खाँदा होस् वा अन्य केहि प्रयोजनका लागि मसँग भने जस्तो सम्भावनाको श्रोत थिएन । त्यो दिन मेरो जीवनको अविश्मरणीय बन्न पुग्यो । अहिले बालबालिकाहरुको भर्ना अभियान चलिरहँदा म त्यो घटनाबाट पटक पटक तड्पिन पुग्छु ।
नियमित विद्यालय जान सक्ने अवस्था नहुँदा नहुँदै मप्रति देखाईएको सद्भाव र मेरो भविष्यका बारेमा गरिएको चिन्ताले मलाई हौसला मिल्न गयो । त्यहि हौसला, साहस र आँटकै आधारमा पुनः विद्यालय नियमित जान थालें । राम्रो नम्वर ल्याएर उत्तिर्ण पनि भएँ । भर्खरै भएको परिक्षाफलबाट कक्षा ५ मा पुगेको खुशीले गद्गद् भएँ । नयाँ शैक्षिक सत्र २०७५ का लागि नियमित विद्यालय जाने र अझै उत्कृष्ट हुने योजना बनाएको छु । हेरौं वातावरण त्यस्तो भयो पनि सबै साथीहरुलाई कक्षामा उछिन्न सक्छु भन्ने मनको साहस बढेको छ । साहससँगै धैर्यता पनि थपिदै गएको छ । सानै उमेरमा सबै कुरा भोग्नुपर्दा जिम्मेवारीबोध पनि गराएको छ । माघ १० गते आईतबार । दिउँसो ४ बजे स्कुल छुट्टी भई आफ्नो घरतर्फ एक्लै गईरहेको थिएँ । सोहि अवस्थामा धुलिखेल न.पा. वडा नम्वर १० नजिकैको जंगल नजिकै पुग्दा एकजना ब्यक्ति बसिरहेको रहेछ । उसको नाम कृष्ण बराईली रहेछ पछि थाहा पाएँ । उसले मलाई देख्ने बित्तिकै एक्कासी मेरो हातमा समातेर तानी जंगलतर्फ लान खोज्यो । म चिच्याएपछी बाटोमा गुडिरहेको टिपर चालकले सुनेछन् । म चिच्याएको सुनी कराउँदा मलाई त्यहि अवस्थामा छाडेर उनी भागे । टिपर चालकले नै मलाई एकजना आमाको साथ लगाई घर पठाई दिए । ति आमा साँच्चिकै आमा रहिछन् । उनले मेरी आमालाई घटनाका बारेमा सबै सुनाई दिनुभयो । उहाँ बस्तुलाई घाँस काट्न नजिकै जानु भएको रहेछ । घाँस काटिरहेको अवस्थामा एक्कासी आमा भनी चिच्याई रहँदा उहाँले मेरो स्वर सुन्नु भएछ । म कराउँदै गर्दा मसँगै एक जना पुरुषको पनि आवाज सुन्नु भएको रहेछ । मेरो चिच्याहाट र पुरुषको स्वर सुने पछि उहाँ दौडिएर म भए तिर आउन भयो । उहाँ आउँदा भगवान उपस्थित भए जस्तो लाग्यो । टिपर चालक र उहाँले मेरो जीवनमा आउन लागेको औंशीको रात रोकियो । धन्न मेरो जीवनमा अप्रिय घटना हुन पाएन ।
सधै विद्यालयबाट जाने क्रममा साथीहरु हुन्थे । कोहि अघि कोहि पछि । बाटोमा पनि मान्छेहरु हुन्थे । विद्यालयबाट घर आउने जाने क्रममा बाटोमा एकान्त जंगल पनि पर्छ । जंगलको बीचमा आजसम्म त्यस्तो कहिल्यै भएको थिएन । भर्खर १० वर्षको भएकाले मलाई अरु कुरामा चासो हुने पनि भएन । कहिलेकाँहि त्यहाँ चोर लाग्छन् भन्ने गरिएको थियो । मलाई चोर लागेर आपत्ति थिएन । मसँग लैजाने कुरा के नै थियो र । विद्यालय पोशाकमै थिएँ । साथमा ब्याग बोकेको थिएँ । विहान लगेको खाजा दिउँसै खाएकाले मलाई भोक पनि लागिरहेको थियो । घरमा पुगेर आमाले पकाएको खाजा कतिबेला खाउँला भनेर दौडिरहेको थिएँ । एक्कासी मेरो हात कसैले समायो । उसले मेरो हात समाएपछि म झसँग भएँ । किन समाएको ? को हो ? मैले उसलाई चिनेको थिईन । शुरुमा मलाई लाग्यो कोहि मलाई चिनेका साथीहरु आएछन् । अघि ढिला भएछ क्यार अहिले मलाई भेट्टाए । अझ मैले छाडेर आएको भएर उनिहरुले मेरो हात समाए । कुरा त्यस्तो होईन रहेछ । गाउँमा लामो समय देखि बसिरहेको एउटा ब्यक्तिले म माथी गिद्दे दृष्टि राख्ने योजनाका साथ बाटो ढुकेर हात समाएको रहेछ । मेरो दिन बलियो भएकाले मात्रै म लुटिनबाट बचें । नत्र त्यसले त्यहि दिन मेरो जीवन लुट्ने रहेछ । हात समाएर एक्कासी तानेर अझै जंगल भित्र लैजान थाल्यो । मैले शुरुमा मेरो हात किन समाएको छाडि दिनुस् भनें । उसले मानेन । मैल उसको हात टोकिदिएँ । तर पनि उसले छाडेन । त्यो हात टोकि दिएपछि अर्काे हात समात्न पुग्यो । एकछिन उसको र मेरो घम्साघम्सी जस्तै भयो । तर पनि उसले मेरो हात छाडेन । बालकै भएकाले मेरो हात कमलो र सानो थियो । उसको बलियो हातले मेरो हातलाई जोडले समाई रह्यो ।
म चिच्याउन थालें । उसले मलाई हातमा समाएर काखमा बोक्न खोजेको थियो । मैले मानिनँ । शुरुमा फकायो । उसले म तिम्रै बाबाको साथी समेत हो भन्यो । बाबाको साथी भएकाले मसँग जान डर मान्नु पर्दैन भन्यो । पैसा दिन्छु भन्यो । चकलेट दिन्छु भन्यो । केहि गर्दा पनि मेरो सहमति हुन सकेन । अन्तिममा उसले मलाई धम्क्याउन थाल्यो । सहज रुपमा नमाने मारिदिन्छु समेत भन्यो । म ठुलो स्वरले चिच्याएँ । अरनिको राजमार्ग समेत नजिक भएकाले मेरो आवाज सुन्ने सवारी साधनका ब्यक्तिहरु पनि हुनुहुँदो रहेछ । हातबाट उसले मेरो शरीरमा समाउन खोजेको थियो । मैले मान्दै नमानेपछि उसले जर्बजस्तिको प्रयास गरेको थियो । आवाजका कारण घाँस काटिरहनु भएका अन्य ब्यक्तिहरुले पनि सुन्नु भएछ । बाटोमा गाडी चलाउने चालकहरुले पनि सुन्नु भएछ । मलाई बचाउनु भयो । मलाई जर्बजस्ति प्रयास गर्ने युवक प्रहरी नियन्त्रणमा थिए । अहिले पनि कारवाही भोगिरहेका छन् । उसले कुटाई पनि खायो । भोलिपल्ट हामीले प्रहरीलाई खबर गरे पश्चात उसलाई प्रहरीले पक्राउ गरेको थियो । टिपर चालकले मलाई गाउँकै एकजना बृद्ध आमा जसलाई मैले चिनिरहेको थिएँ उहाँको साथमा घर पठाई दिनु भयो । उहाँले मलाई धेरै ममता र सान्त्वना दिनुभयो । घरमा पुगे पछि आमाले तत्काल प्रहरीलाई खबर गर्न भन्नुभयो । भोलिपल्ट अर्थात माघ ७ गते हामीले प्रहरीकोमा लिखित जाहेरी दिएपछि उसलाई पक्राउ गरिएको थियो । म त घटना भई हाल्यो भनेर चुप लागेर बसेको थिएँ । एकदिन बाटोमा यस्तो गर्ने ब्यक्तिले अरु दिन अरु मान्छेहरुलाई पनि त्यस्तै गर्छ भन्ने सोच आयो । अपराध प्रोत्साहन गर्नु हुँदैन भन्ने सल्लाह भयो । त्यहि सल्लाह अनुसार प्रहरीलाई दिएको जाहेरीका आधारमा उसलाई पक्राउ गरी मुद्दा चलाईएको हो ।
आखिर आमा भनेको आमा नै हुनुहुँदो रहेछ । मलाई घर सम्म पु¥याउन जाने आमाले पनि मलाई आफ्नै छोरी सम्झनु भयो । टिपर चालकले पनि आफ्नै छोरी सम्झनु भयो । त्यसकारण म बचें । म जस्ता बालिकाहरु अन्य स्थानमा यस्तो अवस्थामा कसरी बच्न सक्लान् ? जसले मलाई जर्बजस्तिको प्रयास ग¥यो त्यो ब्यक्ति सानै देखी त्यहि बस्दो रहेछ । उसकै आमा संगै बस्दै आएकोमा आमा बिते पछि सानी आमाको छाप्रो घरमा बसी ज्यामी काम गर्दाे रहेछ । बिहान देखि नै मादक पदार्थ सेवन गरी खाना समेत नखाई बसेको रहेछ । मादक पदार्थ रक्सी नशाको सुरमा विद्यालयबाट फर्कने क्रममा जबरजस्ती करणी गर्ने उद्देश्यले मेरो हात समातेर मलाई बोकी जंगलतर्फ लैजान लाग्दा म चिच्याई कराई गरे पश्चात टिपर चालक आई बच्चालाई छाड्दे भने पछि मात्रै उसले छाडेको थियो । मसँग उसले यौनतृष्णा मेटाउने उदेश्यले गरेको उक्त घटनाबाट केहि समय म विक्षिप्त भएँ । विद्यालय आउन जान डर पनि लाग्यो । विस्तारै मेरो मनोबल बढ्यो । उसलाई पक्राउ गरिसके पछि मलाई झनै साहस बढ्यो । मैले सबै बालबालिकाहरुलाई भन्न सक्ने भएँ । बालिकाहरुले अभिभावकहरु जस्तो ब्यक्तिबाट प्राप्त गर्ने ब्यवहारकै कारण समाजमा पुरुषहरुलाई हेर्ने दृष्टिकोण बदलिएको छ । सबै ब्यक्ति त्यस्ता छैनन् र हुँदैनन् पनि । आफै साहस बटुल्नु पर्छ । धैर्य गरी अपराधीलाई सजायँ दिलाउनु पर्छ ।
रेमिका खत्री
धुलिखेल, काभ्रे









