2026 July 06/ 11:26: 37pm

    बनेपा/काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २३ औ बार्षिक साधारण सभा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    अध्यक्ष रामहरी केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी कँडेलले सहकारी ऐन कार्यान्वयनमा देखिएका जटिलताहरुको समाधानका लागि महासंघले पहल गरिरहेको बताउनु भयो । सहकारीहरुले संकटका बेला नागरिकहरुको समृद्ध जीवन निर्माण गर्न खेलेको भूमिकालाई अझै फराकिलो बनाउनु पर्ने उहाँले बताउनु भयो । कार्यक्रममा नेफ्सकुनका अध्यक्ष परितोष पौडेलले सन्र्दभ ब्याजमा साझा धारणा बनाउँदै सुधार गर्न सरोकारवाला निकायहरु बीच समझदारी भएको बताउनु भयो । कार्यक्रममा बोल्दै पौडेलले दोहोरो सदस्यता क्रमिक रुपमा कार्यान्वयन गर्दै जाने र तत्काल नगरेमा कारवाही गर्ने कुरामा सहजिकरण गरिएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले सहकारीहरुले तमाम राम्रा काम गरेको तर केहि नराम्रा कामहरुले सहकारी अभियान नै बदनाम हुन लागेको बताउनु भयो । साधारण सभामा अध्यक्ष केसीले काभ्रेपलाञ्चोक जिल्लाले विभिन्न कार्यक्रमहरु मार्फत सहकारी सदस्यहरुलाई क्षमता अभिबृद्धी गराईरहेको बताउनु भयो । प्रथम उपाध्यक्ष इन्द्र अधिकारी, द्वितीय उपाध्यक्ष तिर्थमाया प्रधान, सचिव उदयराम कायस्थ, सह–सचिव सुरेन्द्र पौडेल, कोषाध्यक्ष जितेन्द्र नकर्मी, लेखा संयोजक जेन लामा लगायतले सहकारीले गरेका राम्रा कार्यहरुको निरन्तरता दिन सुझाव दिनु भएको थियो । संघमा ३ करोड ४८ लाख ३३ हजार शेयर रकम छ भने १ अर्ब ७ करोड ७७ लाख ५३ हजार बचत र ३१ करोड ७० लाख ३७ हजार ऋण लगानी गरेको छ । साधारण सभामा समग्र क्षेत्रबाट अधिकृत शेयर खरिद गरेको सामुदायिक साकोस पनौती, बचत गरेको विन्द्यबासिनी साकोस, ऋण कारोवार गर्ने आर्थिक विकास मित्र साकोसलाई सम्मान गरिएको थियो । ग्रामिण तर्फ मंगलेश्वर वित्तिय सहकारी रोशी ९ र सुर्यमुखी साकोस खानिखोला ५ लाई सम्मान गरिएको छ । महिला तर्फ नारी जागरण साकोस बनेपा ४ शेयरतर्फ उत्कृष्ट भएको छ भने लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बचत तर्फ सम्मानित भएको छ । बर्ष उत्कृष्ट कर्मचारी रविकुमार केसी सम्मानित भएका छन् ।