भकुण्ड/नमोबुद्ध नगरपालिकामा नगरभित्रका युवाहरुलाई परामर्शका कार्यक्रमहरुको थालनी भएको छ । नगर युवा परिषद्ले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न तथा समाजमा सुशासन र पारदर्शिता कायम गर्दै दिगो विकासका अवधारणालाई युवाहरु मार्फत स्थानियकरण गर्ने लक्ष्य सहित युवा परामर्शका कार्यक्रम सुरु गरेको हो ।
नगरपालिकाको वडा नंं. ११ भित्रका युवालाई सोमबार परामर्शको कार्यक्रम गरेको छ । नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालको अध्यक्षतामा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, नगर युवा परिषद्का सदस्य सचिव एवं शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जनार्रदन रिजाल, वडा नं १० का वडा अध्यक्ष रामकृष्ण उपाध्याय, वडा नं ११ का वडा अध्यक्ष कृष्ण बहादुर तामाङ नगर युवा परिषद्का सदस्य लगायत ४० जना युवाहरुको सहभागिता थियो । कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले नगरपालिकाभित्र युवाहरुको उद्यमशिलता रोजगारीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउने, युवाहरुको क्षमाता विकास गर्दै नगरलाई युवामैत्री नगर बनाउने प्रतिवद्धता व्यक्त गर्दै यस्को सुरुवात ११ नंम्वर वडा बाट भएको बताए ।









