धुलिखेल/धुलिखेल नगरपालिकाले सेवाहरुलाई डिजिटल गर्ने उद्देश्य अनुरुप नेपालकै दोस्रो नगरपालिकाका रुपमा नागरिकहरुले तिर्नु पर्ने सम्पूर्ण कर ई पेमेन्ट सिस्टमबाट तिर्न सकिने प्रणाली शुरु गरेको छ ।
सेवाको नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नुभयो । नगर प्रमुख ब्याञ्जुले नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने नगरको योजना अनुरुप नगरपालिकामा तिर्नुपर्ने सम्पत्ति कर, व्यवसाय कर, घर बहाल कर लगायतका अन्य करहरु अनलाईन प्रणाली मार्फत भुक्तानी गर्न सकिने बताउनु भयो । नगरपालिकाले संचालन गर्न लागेको ई पेमेन्ट सिस्टमबाट नगरपालिकामा तिर्नु पर्ने राजश्व अनलाईन प्रणाली मार्फत भुक्तानी गरि समय र प्रविधिको सदुपयोग गर्न नगरबासीहरुलाई नगर प्रमुख ब्याञ्जुले अनुरोध गर्नु भयो । समयको बचत, छिटो छरितो सेवा भएकाले प्रविधी अनुसार चल्नुपर्ने उहाँले बताउनु भयो । केहि समय नगरबासीहरुलाई गाह्रो भए समन्वय र सहजीकरण गरी प्रविधीमा जोडिने उहाँले बताउनु भयो । नगरपालिकालाई स्मार्ट सिटी बनाउन नेपालमै पहिलो पटक २ वर्ष अगाडी मोबाईल एप्स संचालन, प्रत्येक वडामा नगरपालिकाको अपाm्नै सफ्टवेयर मार्फत सिसिटिभी, फ्रि वाईफाई संचालन गरेको र छिटै युट्युब मार्फत नगरका विकासका गतिविधि राखिने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।
नगरका १२ वटै वडाका सेवाहरुलाई डिजिटल प्रबिधिमा जोडिन लागेकाले नगरपालिकाले ८ वटा वडामा फाईबर पु¥याई सकेको छ । बाँकी वडामा छिट्टै फाईबर पु¥याउने उहाँले बताउनु भयो । नगरपालिकाले ३ वटा कम्पनी कनेक्ट आईपिएस, ई सेवा र खल्ति डिजिटल वालेट मार्फत भुक्तानी गर्न सकिने नगर प्रमुख ब्यान्जुले वताउनु भयो । नगरपालिका संघले अन्य नगरपालिकामा समेत उक्त सेवा शुरु गर्न तयारी गरेकाले समय र प्रविधी अनुसार सबै पालिकाहरुले सेवा दिनु पर्ने उहाँले बताउनु भयो । उक्त कार्यक्रममा उपप्रमुख विमला शर्माले जननिर्वाचित भए पछि जनताका कामहरु कसरी छिटो गर्न सकिन्छ भन्ने उद्देश्यले नगरपालिकाले काम गरिरहेको बताउनुभयो । विकासको गति सँगै प्रविधिको समेत प्रयोग गरी जनताका कामहरुलाई प्राथमिकतामा राखेको शर्माले बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष पुष्पराज राउत, निमित्त प्रमुख धनबहादुर बस्नेत, कम्पनीका तर्फबाट आशिष गौतम लगायतले डिजिटल सेवाका बारेमा जानकारी दिनु भएको थियो । संघीय सरकार अन्य संघ संस्था हुँदै स्थानीय सरकारमा सेवा शुरु भएकोमा कम्पनीलाई धन्यबाद दिएको थियो । कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य, पत्रकार, नेपाल क्लियरिङ्ग हाउसका ई–सेवा तथा खल्ती, प्रदायक संस्था सांग्रिला, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
नमोबुद्धमा अनलाईन सेवा
त्यस्तै नमोबुद्ध नगरपालिकाले अनलाइन भुक्तानी सेवाको सुरुवात गरिएको छ । नगरप्रमुख टिपी शर्माले बुधबारबाट उक्त सेवाको शुरु गर्नु भएको थियो । शर्माले जनताहरुलाई छिटो भन्दा छिटो कसरी सेवा दिन सकिन्छ भन्ने उदेश्यले नयाँ प्रविधी अनुसार सेवा दिन लागिएको बताउनु भयो । समयको ब्यस्तता, प्रविधीको प्रयोग र नगरवासीहरुले कुनै पनि प्रकारका कर तिर्न नगरपालिका धाउनु नपर्ने शर्माले वताउनु भयो । भौतिक विकास सगै प्रविधीको समेत विकास गरिएको शर्माको भनाई थियो । नगर प्रमुख शर्मा तिमल्सिनाले आफूले उच्च शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका दुईजना विद्यार्थीका लागि छात्रवृत्ति रकम समेत प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा नगरले बुधबारबाटै ध्वनी सहितको बडापत्रको सुरुवात, सबै सेवाग्राहीका लागि चिया महिला सेवाग्राहीका लागि लक्षित गर्दै अटोमेटिक स्यानिटरी प्याड डिस्पेन्सको शुरुवात, नगर कार्यालय परिसरमा फ्री वाइफाई जोनको सुरुवात तथा वडा नम्वर ४ मा वडा कार्यालयबाटै राजस्व संकलन कार्यको सुरुवात भएको बताउनु भएको थियो । कार्यक्रममा नगरपालिका उप प्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले सेवाग्राहीको सुविधाका लागि अधिकृतम रुपमा नयाँ प्रविधिको उपयोग गर्न थालिएको बताउनु भएको थियो । अहिले यसको सुरुवात मात्रै भएको भन्दै पौडेलले आगामी दिनमा यसलाई थप परिस्कृत र निरन्तरता दिने बताउनु भयो । त्यसै गरी कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले अनलाइन मार्फत राजस्व तिर्न सक्ने व्यवस्था गर्नु राम्रो भए पनि आम जनताको पहुँचमा यसलाई पु¥याउनु चुनौतीपूर्ण रहेको बताउनु भयो । तिमल्सिनाले आम जनताको पहुँचमा इन्टरनेट सेवा पु¥याउन, अनलाइन सेवाको फाईदाबारे बुझाउन नगरपालिकालाई आग्रह गर्नु भएको थियो ।
बनेपाले शुरु गर्यो अनलाईन
बनेपा/बनेपा नगरपालिकामा नगरपालिकाको राजस्व डिजिटल प्रणाली मार्फत भुक्तानी गरी इ–पेमेन्ट सेवा सुरु भएको छ । उक्त सेवाको शुरुवात नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले एक कार्यक्रमका विच शुभारम्भ गर्नु भएको थियो । नगर प्रमुख बादेले नगरका नगरबासीहरुले घरमै बसी इ–सेवा तथा खल्ती एप प्रयोग गरेर राजस्व बुझाउन सकिने बताउनु भयो ।
उक्त सेवा सुरु भएसँगै नगरबासीले सम्पति कर, घर वहाल कर, भुमिसुधार, सरसफाई, नविकरण सेवा कर, ब्यबसाय कर लगाएतका नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर अब आफ्नै मोबाईलबाट घरमै बसेर तिर्न सकिने बादेले बताउनु भयो । नगरले विकासको फ्डको मार्ने क्रममा नगरलाई डिजिटल प्रविधीमा लगिएको र देश तथा विदेशमा रहने नगरबासीहरुका लागी प्रविधिको सदुपयोग गर्न समेत बादेले आग्रह गर्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले अहिलेको प्रविधीको विकास सगै नगरपालिकाले पनि प्रविधी लाई प्रयोग गरी सेवा ग्राहिहरुलाई सेवा दिन लागीएको बताउनुभयो । नगरलाई स्मार्ट सिटी बनाउने योजना अनुरुप कागज रहितको सेवाको यो पहिलो शुरुवाती भएको उप्रेतिले बताउनु भयो । नगरबासीहरुलाई उक्त सेवा बारे पहंच पुरयाउका लागी समन्वय सहजीकरण गरिने बताउनु भयो । करदातालाई उत्साहि बनाई कुन तरिकाबाट सहज हुन्छ सोहि तरिका अपनाएर कर मैत्री बताउन लागिएको उपे्रतिले बताउनु भयो । उप्रेतिले नगरपालिका परिसरमा फ्रि वाईफाईको ब्यबस्था गरी उक्त सेवालाई अझै सरल बनाईएको बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रबक्ता श्याम सुन्दर श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष सचिता नन्द केसी, वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, १२ का वडा अध्यक्ष राम बहादुर कुंवर, १४ का वडा अध्यक्ष गौरी राउत, शाखा प्रमुखहरु लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन योजना अधिकृत शर्मिला बन्जाडेले गर्नु भएको थियो ।









