2026 July 06/ 10:16: 49pm

    बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आज २८ औं स्थापना दिवस तथा बार्षिक साधारण सभा हुने भएको छ । सभाको उद्घाटन केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले गर्नु हुनेछ ।
    बनेपाको पञ्चकन्या बेन्क्वैटमा हुने साधारण सभामा स्वास्थ्य मापदण्ड पुरा गरिनेछ । महासंघले २०७४ सालको पौष २ गते रजत महोत्सव मनाएको थियो । सोहि अवसरमा स्मारिका प्रकाशन, संस्थापक सदस्यहरुको सम्मान गरेको थियो । भौतिक पूर्वाधार, संस्थागत विकास, क्षमता अभिबृद्धि तथा दिर्घकालीन योजनाका साथ पत्रकार महासंघले पत्रकारहरुको दुर्घटना विमा, कोरोना विमा गराएको छ । जिल्लामा ११ जना पत्रकारहरु कोराना संक्रमित भई सक्नु भएको छ भने दुर्घटनामा परी एक जना पत्रकारहरुले उपचार बापत्को रकम विमाबाट प्राप्त गर्नु भएको छ । बैठकले स्व. पत्रकार विष्णु चौलागाईप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ । त्यस्तै पत्रकारहरुको पुनः दुर्घटना विमाका लागि मंसिर २५ गतेसम्मको समयावधी तोकिएको सचिव नगेन्द्र अधिकारीले जानकारी दिनुभयो । दुर्घटना विमाका लागि सदस्यहरुले सूचना विभागको परिचयपत्र, नागरिकता र महासंघले प्रदान गरेको सदस्यता परिचयपत्रको प्रतिलिपि सहित इच्छाईएको ब्यक्तिका बारेमा खुलाई महासंघ कार्यालयमा पठाउनु पर्ने छ । 
    महासंघले साधारण सभाकै अवसरमा स्व. भरतराज पत्रकार पुरस्कार कोषबाट संचारकर्मी सम्मान गर्न पुर्व अध्यक्ष एवं सल्लाहकार भोला थापाको अध्यक्षतामा राजाराम कार्की र रमा दाहाल सदस्य रहेको समिति गठन गरेको थियो । उक्त समितिले गरेको निर्णय अनुसार एक जना पत्रकारलाई सम्मान गरिनेछ । साधारण सभामा महासंघले गरेका निर्णयहरुलाई सबै सदस्यहरुका बीच पु¥याउन निर्णय पुस्तिका प्रकाशन, बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रकाशित गरेको छ ।  महासंघको यो कार्य समितिले प्रिफ्याबको तल्ला थप, फर्निचर तथा कार्यालय ब्यवस्थापन, कम्पाउण्ड वाल, सडक स्तरोन्नती, पक्कि नाली, पार्किङ्ग, पार्क लगायतका संरचना निर्माण गरिसकेको छ भने पत्रकारहरुलाई सहयोग गर्ने विपद् कोष स्थापना गरेको छ । १० लाख पु¥याउने उदेश्यले निर्माण गरिएको कोषमा हाल ५ लाख जम्मा गरिसकिएको छ । उक्त कोष संचालनका लागि तयार गरिएको कार्यविधि अनुसार पत्रकार शिव पन्तलाई सहयोग गरिएको छ । कोरोना फैलन नदिन गरिएको लकडाउनमा सदस्य तथा कार्यरत कर्मचारीहरुलाई सहयोग, पत्रकारहरुको पहिचानका लागि परिचयपत्र र प्रेस ज्याकेट वितरण, शुद्धिकरण तथा सुरक्षाका लागि विभिन्न कार्यक्रमहरु गरिएका छन् । जिल्लामा हालसम्म १४ जना पत्रकार संक्रमित भएका छन् भने एक जनाको निधन भएको छ । क्षमता अभिबृद्धिका लागि आधारभुत तथा एड्भान्स तालिम, स्थानीय तहमा एक आधारभुत पत्रकारिताका बारेमा जानकारी गराउने उद्देश्यले स्थानीय सरकारकै सहयोगमा तालिम संचालन भएका छन् । प्रेस मैत्री कानुन निर्माणका लागि आवश्यक छलफल तथा सुझाव पेश गरिएको छ भने पत्रकारहरुको उपचारका लागि बनेपा हेल्थ केयरमा उपचारमा सहुलियत गरिएको छ । 
    लोगो प्रकाशन, फेलोशिपका लागि सहजिकरण, विज्ञापनमा एकरुपता तथा सहजिकरण गरिएको अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिनुभयो । महासंघले भवन अगाडी स्मारक निर्माण गर्ने निर्णय गरिसकेको छ ।