मोतीराम तिमल्सिना
बनेपा
सिन्धुपाल्चोकको मेलम्ची घर भएकी ३१ वर्षीया एक महिलाका दुई छोरी छन् । श्रीमान्् सवारी चालक हुन् । सासुससुराले नाति खेलाउने रहर छ भन्दै पटक पटक छोरालाई गरेको टोकेसोका कारण तेश्रो सन्तान छोरा जन्माउने चाहना भयो । अस्थायी साधनको प्रयोग छाडेलगत्तै महिलाको गर्भ रह्यो । प्रविधिको प्रयोगले लिङ्ग पहिचान भयो । छोरी रहेको जानकारीसँगै पहिलो पटक २०७४ साल बैशाखमा उनले गर्भपतन गरिन् ।
गर्भमा छोरी रहेको थाहा पाएपछि गर्भपतन गरेको कुराले श्रीमतीलाई मानसिक पीडा थपिदै गयो । आफ्नै सन्तानको हत्या ? उनमा अनेक प्रश्न र डर पैदा भयो । तर विवश हुनुको विकल्प थिएन उनीसँग । सासुससुराले नाति खेलाउनै पर्ने नभए अर्काे विवाह गर्न छोरालाई दिएको दवाबले श्रीमान् पनि तनावमा थिए । उनले रुढिवादी सोचका आमाबुबालाई बुझाउन सकेनन् । पुनः २०७४ साल चैत्र महिनामै गर्भ बस्यो । दम्पत्तिमा उत्साह भरियो । प्रकृया त्यही भयो । उनीहरूले निजी क्लिनिकमा भिडियो एक्सरे गराएपछि गर्भको शिशु छोरी भएको थाहा भयो । आफूहरूलाई भाग्यले ठगेको भन्दै श्रीमान्ले दोश्रोपटक पनि गर्भपतनका लागि श्रीमतीलाई दबाब दिए । यसकै कारण केही दिन श्रीमान् श्रीमतीबीच बोलचाल बन्द भयो । उनले दुखेसो पोखिन्, ‘आफ्नै सन्तानको हत्या कसरी गर्नु ? कतिपटक गर्नु ? छोरा भए पनि छोरी भए पनि केहीफरक पर्दैन, छोराले गर्ने सबै काम छोरीलाई नै सिकाउँला । जे भए पनि जन्माउनु पर्छ भनें तर उहाँलाई सम्झाउन सकिनँ । उहाँ बाबुआमाको यति दबाबमा परिसक्नुभएको थियो कि मेरो कुरा सुन्ने हिम्मतै थिएन ।’ उनको प्रस्ताव सुनेर बरु श्रीमान्ले धम्कि दिँदै ‘अब दोश्रो विवाह गर्नुको विकल्प रहेन’ भनेपछि आफ्नो केही सीप नलागेको र लिङ्ग पहिचानको ७ दिनपछि एक्लै क्लिनिक गएर छोरीको भ्रूण निमोठ्न लगाएको सुनाइन् ।
हुन त उनले छोरा जन्माउनकै लागि श्रीमान्लाई दोश्रो विवाहका लागि अनुमति पनि दिईन् । छोरीहरू हुर्कदै थिए । छोरा नै चाहिने बाबु, हजुरबुबा र हजुरआमाको दबाबले उनीहरूलाई छोरी भएर जन्मनु अभिषाप नै हो भन्ने छाप परिरहेको थियो । परिवारका सदस्यहरूप्रति उनीहरू सकारात्मक थिएनन् । आमाको स्वास्थ्य अवस्थाप्रति पनि चिन्तित थिए । आमालाई रगत बग्ने, खान मन नलाग्ने, टाउको दुख्ने, हातगोडा गल्ने, कमजोरी महसुस हुने भएकाले उनीहरूले खाना पकाउन तथा घरको अन्य काममा सहयोग गरिरहेका थिए ।
पहिलो र दोस्रोपटक छोरी भएका कारण पेटमै हत्या गर्न बाध्य उनलाई फेरि छोरा जन्माउन कर थियो । तर यसपटक उनले मुटु दह्रो पारेर अडान राखिन्, ‘जे भए पनि जन्म दिने भए गर्भ राख्छु, नत्र अस्थायी साधन प्रयोग गर्न छाडदिनँ ।’ उनको कुरामा श्रीमान् सहमत भए । उनी तेश्रोपटक २०७५ माघमा गर्भवती भइन् । त्यतिबेला उनी साहस र धैर्यले भरिएकी थिइन् । तर उनका श्रीमान्ले बाचा तोडे । तेश्रोपटकको गर्भ पनि छोरी भएको थाहा पाएपछि उनलाई पोलिक्लिनिकमै छाडेर हिडे । तर उनले छोरीलाई साथमा लिएर गएकाले सहज भयो । आमाछोरी र स्वास्थ्यकर्मीको पनि सहयोगमा शिशु जन्माउनु उपयुक्त हुने निश्कर्षपछि श्रीमान्ले छाडे पनि एक्लै तीन छोरीको सहारामा बाँच्ने आशामा गर्भपतन गराइनन् । श्रीमतीले छोरीलाई जन्म दिने निर्णय गरेपछि श्रीमान् ७ महिना घर आएनन् । उनलाई गर्भावस्थामै रगत बग्यो । तत्काल अस्पताल लैजाने पैसा पनि भएन । सासु ससुराको छीःछी र दूरःदूर त्यतिकै थियो । तर पनि छोरी, आफन्त र छिमेकीको सहयोगमा उनी धुलिखेल अस्पताल पुगिन् । विडम्वना शिशुको पेटभित्रै मृत्यु भइसकेको थियो । अप्रेसनपछि उनलाई स्वास्थ्यकर्मीहरूले बचाए । परिवारमा भने अझै सम्बन्ध सुध्रिन सकेको छैन ।
२०७७ मंसिर ७ गते सिन्धुपाल्चोक मेलम्ची २ कि ३५ वर्षीया एक महिलाले सन्तान पुगेका कारण गर्भपतन गराएको बताइन् । अस्थायी साधन तीन महिने संगिनी सुईको प्रयोगले मोटोपन बढेकाले विकल्प सोचिरहेका बेला गर्भ रहन पुगेकाले छोरी जन्मने आशंकामा गर्भपतन गराएको उनले बताइन् । ‘छोरा जन्मिए त ठिकै हो, छोरी जन्मियो भने किन बोझ बोक्ने ?’ उनले भनिन्, ‘छोरी जन्मिने त्रासले श्रीमान्कै सहमतिमा गर्भपतन गराएँ ।’
काभ्रेको रोशी गाउँपालिका घर भएकी ३१ वर्षीया एक महिलाले पनि दुई छोरी जन्मिसकेकाले तेश्रो सन्तान छोरी जन्मने डरमा २०७७ कार्तिक २४ गते गर्भपतन गराएको बताइन् । श्रीमान्कै सहमतिमा अब फेरि छोरी नपाउने निर्णयपछि आफूहरूको इच्छा बिपरित रहेको गर्भपतन गराएको उनले बताइन् । छोरा भइदिएको भए हुन्थ्यो भन्ने चाहाना भए पनि आफ्ना दुई छोरीलाई बिना कुनै भेदभाव शिक्षादीक्षा दिइरहेको उनको भनाई छ ।
छोरी जन्मनुमा महिलाको कुनै भूमिका नै हुन्न भन्ने कुरा आफूलाई थाहा भएको तर समाज र परिवारमा छोरा नै चाहिन्छ भन्ने गलत बुझाईका कारण हरेक दम्पतीहरू छोराको पखाईमै छोरीको भ्रूण हत्या गर्ने निर्णयमा पुग्ने गरेको पनि उनले बताइन् । उनका श्रीमान्ले १० कक्षासम्म अध्ययन गरेका छन् । उनले भने सामान्य अक्षरबाहेक चिनेकी छैनन् । आफूले विविध कारणले पढ्न नपाएको र आफ्नो पढ्ने चाहानालाई दुई छोरीले धेरै पढेर पूरा गरुन् भन्ने सोच राखेको बताइन् ।
सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काठमाडौ उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंलगायत काभ्र्रे जिल्लाका छोरा चाहाने दम्पतीहरू लिङ्ग पहिचान र १२ हप्तापछिको भू्रण हत्या गर्ने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्लिनिकमा गर्भपतनका लागि आउने गरेका छन् । जिल्लाबाहिरका महिलाहरू आफ्नै जिल्लाका क्लिनिकहरूमा गर्भपतन गराउँदा पहिचान खुल्ने डरले काभ्रे आउने गरेको बताइन्छ ।
गर्भपतनका लागि आउनेहरू उपत्यका भित्रका केही अविवाहित जोडीहरू पनि छन् । जिल्लाको केन्द्र बनेपामा तीनवटा गर्भपतन गराउने पोलिक्लिनिक छन् । नीजि क्षेत्रबाट सञ्चालित केही क्लिनिकहरूमा अवैध गर्भपतन हुने गरेको गुनासो छ । सरकारी अनुमगन हुन नसक्दा उनीहरूको मनोबृत्ति बृद्धी हुँदै गएको र त्यही अवैध गर्भपतनमा छोरीहरू मारिदै छन् । शहरमा मासु काट्ने बधशाला नभए पनि गर्भमै छोरीको हत्या गर्ने प्रयोगशाला फस्टाउँदै गएको छ । लिङ्गका आधारमा हुने अवैध गर्भपतनलाई रोक्न सरकारी अनुगमन र नियमन जरुरी रहेको छ ।
जिल्लामा सत्यसाई, मेरिस्टोप्स र परिवार नियोजन संघले मात्रै गर्भपतनका लागि अनुमति पाएका छन् । सरकारी स्तरका चारवटा प्राथमिक स्वास्थ्य केन्द्रले केही वर्ष गर्भपतन सेवा दिए पनि जनशक्ति अभावका कारण अहिले बन्द छन् ।
नेपाल परिवार नियोजन संघ काभ्रे शाखाका प्रमुख रमेश श्रेष्ठले १२ हप्तासम्मको गर्भपतनका लागि आउने महिलाहरूका लागि सेवा दिने गरेको बताए । ‘धेरै कुरा खुलाउन उनीहरू तयार हुँदैनन्, सोध्न पनि सहज हुँदैन’, श्रेष्ठले भने, ‘श्रीमान् श्रीमती नै आएर सहमतिमै गर्भपतन गराउँन तयार हुन्छन् । पारिवारिक अवस्था र विवरण त भर्छाै तर कति सत्य हो भन्ने कुरा बुझ्न कठिन हुन्छ ।’ शाखामा आउने सेवाग्राहीले सन्तानको चाहना नभएर गर्भपतन गराउन खोजेको भने पनि अधिकांश जोडीहरू छोरी छोरी भएकाले अब फेरि छोरी जन्मिन्छ भन्ने डरले गर्भपतन गराउन आउने उनको भनाई छ । परिवार नियोजन संघले समुदाय स्तरमै पुगेर परिवार नियोजनको सेवा उपलब्ध गराएको छ भने स्थानीय सरकारसँगको समन्वयमा स्वास्थ्य सेवा दिँदै आएको श्रेष्ठले बताए ।
उनका अनुसार गर्भपतन गराउन आउने अधिकांश महिलाहरूले कारणचाहिँ ढाट्ने गरेका छन् । ‘गर्भपतन गराउन आउने महिलाहरूलाई सकेसम्म गर्भपतन नगर्न अनुरोध गर्ने गरेका छौं’ प्रमुख श्रेष्ठले भने, ‘तर कतिपयले त गर्भपतन गर्न नसके विष सेवन गरेर आत्महत्या गर्नुको विकल्प नभएको समेत बताउने गरेका छन् ।’ सकेसम्म नगर्न, गरे पनि स्वास्थ्यमा ध्यान दिन, परिवार र व्यक्तिगत चाहना अनुसार मात्रै कानुनी प्रकृया अनुसार गर्न सम्झाउने गरेको प्रमुख श्रेष्ठले बताए ।
जिल्लामा छोरी बचाउन अर्थात् छोरी पनि छोरासरह सन्तान हुन् भन्ने सचेतनामूलक अभियानको खाँचो छ । काभ्रेमा यस्ताखालका सन्देशमूलक कार्यक्रम वा छोरीकै लागि कुनै अभियान संचालन गरेका छै्रनन् । स्थानीय सरकार, सामाजिक संघ संस्थाहरू कसैले पनि छोरी बचाउ अभियान संचालन नगरेको गैर सरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष टोम सापकोटाले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जिल्लामा गर्भपतन गराउने पोलिक्लिनिक तथा सरकारी स्वास्थ्य संस्थाको अनुगमन नभएको बताए । स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरू स्थानीय सरकारले अनुगमन गर्नुपर्ने भए पनि स्थानीय सरकारको प्राथमिकता स्वास्थ्य नपरेकाले त्यसैको फाईदा उठाउँदै क्लिनिकहरूमा अवैध कार्य भईरहेको हुनसक्ने डा. झाको भनाई छ ।
लिङ्ग पहिचान गर्ने र लिङ्ग पहिचानपछि गर्भपतन गर्ने कार्य कानुन विपरीत भए पनि यसरी कानुन विपरीत काम गरिरहेका क्लिनिक बारे कसैले पनि उजुरी नगरेको पनि स्वास्थ्य कार्यालय प्रमुख डा. झाले बताए । स्वास्थ्य कार्यालय काभ्रेले स्थानीय सरकारको अनुरोधमा जिल्ला स्तरमा अनुगमन गर्न सक्ने भए पनि हालसम्म त्यस्तो नभएको उनको भनाई छ ।
‘हाम्रो अधिकार क्षेत्रभित्र अनुमगन छैन । त्यो काम स्थानीय सरकारको कार्य क्षेत्रभित्र पर्ने भएकाले हामीलाई सहयोग माग भएमा अनुगमनमा सहयोग गर्नेछौं’ वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले भने, ‘लिङ्ग पहिचानपछि गर्भपतन गराएको कुरा गर्ने गराउने कसैले पनि जानकारी दिदैनन् ।’ स्वास्थ्य कार्यालयको अधिकार स्थानीय तहमा हस्तान्तरण भएको तीन वर्ष बितेको छ । चार वर्षदेखि अवैध गर्भपतन गराउने संस्थाहरूको अनुगमन नभएको उनले बताए ।
स्थानीय सरकार गठन भएको तीन वर्ष बितिसकेको छ । शुरुमा अधिकार क्षेत्रको अलमलका कारण अनुगमन हुन सकेन । दोश्रो र तेश्रो वर्ष अनुगमनका लागि तयारी नै हुन सकेको छैन । बनेपा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सत्यश्वर मकै श्रेष्ठले मेडिकल र पोलिक्लिनिकहरूको अनुगमन गर्नुपर्ने भए पनि गर्न नसकिएको बताए । कानुन विपरीत हुने कृयाकलाप, लिङ्ग पहिचानपछिको भू्रण हत्याका बारेमा नगरपालिकामा उजुरी नआएको श्रेष्ठले जानकारी दिए । ‘जनशक्ति अभाव, कोरोना तथा विविध कारणले नियमित अनुगमन हुन सकेको छैन’ उनले भने ।
काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ मा १ हजार ९ सय १ जनाले गर्भपतन गराएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार ती मध्ये १ हजार ४ सय ४१ जनाले औषधिबाट गर्भपतन गराएका छन् भने ४ सय ६० जनाले औजार प्रयोग गरि गर्भपतन गराएका छन् ।
गर्भपतन गराउनेहरू मध्ये आधा भन्दा धेरैले छोरी भएकै कारण गर्भपतन गराउने गरेको प्रारम्भिक अध्ययनले देखाएको धुलिखेल अस्पताल तथा काठमाडौं विश्वविद्यालयमा कार्यरत प्रो.डा सुमनराज ताम्राकारले बताए ।
नेपाल परिवार नियोजन संघ बनेपा र पाँचखाल शाखामा तीन वर्षमा ८ सय २२ जनाले गर्भपतन गराएका छन् । शाखा प्रमुख रमेश श्रेष्ठका अनुसार २५ वर्ष मुनीका १ सय ९० जना किशोरीले पनि गर्भपतन गराएका छन् भने २५ वर्ष भन्दा माथि उमेरका ६ सय ३२ जनाले गर्भपतन गराएका छन् । सन् २०१८ मा ३ सय ५८ जना, सन् २०१९ मा २ सय ८८ र सन् २०२० को सेप्टेम्बरसम्ममा १ सय ७६ जनाले गर्भपतन गराएका छन् । कानुनले अधिकार दिएको बाहेक गर्भपतन नगराउने भएकाले परिवार नियोजन संघमा भने वर्षेनी गर्भपतन गराउन जानेहरूको सङ्ख्या घटेको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेकी महिला सेल प्रमुख सई सिता श्रेष्ठले प्रहरी कार्यालयमा गर्भपतन सम्बन्धी मुद्दा नआएको बताइन् । ‘आफ्नो इच्छा विपरीत गर्भाधारण गराएको, छोरा नभएकै कारण छोरी भएर गर्भपतन गराउन बाध्य पारेको, जबर्जस्ती गर्भपतन गराएको भन्ने उजुरी परेको छैन’ सई श्रेष्ठले भनिन्, ‘पारिवारिक विचलन हुन सक्ने भएकाले त्यस्ता घटनाहरू प्राय प्रहरीकोमा आउँदैनन् । गर्भपतन गराउने क्लिनिकहरूको अनुगमन भएको जानकारी पनि छैन ।’
लिङ्गका आधारमा गर्भपतन गराउनु अपराध हुने कानुन व्यवसायी सरिता सापकोटाले बताइन् । गर्भवती महिलाको स्वीकृतिविना, करकाप, धम्की, ललाईफकाई, झुक्याई वा प्रलोभन दिई, भू्रणको लिङ्ग पहिचान गरि गर्भपतन गर्न पाइँदैन । कानुनले तोकेको अवस्था र अवधि बाहेक अन्य कुनै पनि अवस्थामा गर्भपतन गराएमा ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको सापकोटाले बताइन् ।
गर्भपतन सेवाबारे भएका पहलहरू
– २०५९ असोज १० गते गर्भपतनलाई कानुनी मान्यता ।
– २०६० असारमा सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति पारित ।
– २०६० चैत्र ५ गते परोपकार, प्रसूति गृह काठमाडौंमा सुरक्षित गर्भपतन सेवाको शुरुआत ।
– २०६२ बाट नर्सिङ स्टाफद्वारा सुरक्षित गर्भपतन सेवा शुरु ।
– २०६३ बाट १२ हप्तापछिको सुरक्षित गर्भपतन सेवा शुरु ।
– २०६५ बाट औषधिद्धारा गरिने गर्भपतन सेवाको शुरु ।
– २०६६ बाट देशभरकै जिल्ला अस्पतालबाट गर्भपतन सेवा शुरुवात ।
गर्भपतनबारे केही तथ्य
– विश्वमा १३ प्रतिशत अर्थात् ८ जना मातृ मृत्युमध्ये एक जनाको असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गरेको छ ।
– विश्वमा प्रत्येक वर्ष ४७ हजार महिलाको मृत्यु असुरक्षित गर्भपतनका कारणले हुने गरेको छ ।
– विश्वमा प्रत्येक वर्ष ५० लाख महिलाहरू असुरक्षित गर्भपतनको जटिलताले विभिन्न रोगको सिकार हुन्छन् ।
– नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ । ३८ प्रतिशत प्रजनन् उमेरका महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको ज्ञान छ ।
– अशिक्षित र कानुनी ज्ञान नभएका २० प्रतिशत र आर्थिक अवस्था कमजोर भएका २२ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउँछन् । एक सय गर्भवती महिलामध्ये ८ जनाले गर्भपतन गराउँछन् । कुल गर्भवतीमध्ये २५ प्रतिशत महिलाहरू आफ्नो चाहना विपरीत गर्भवती हुन्छन् ।
लिङ्ग पहिचान पछिको गर्भपतन, कानुनको दुरुपयोग हो
प्राध्यापक डा. सुमनराज ताम्राकार
स्त्री रोग विशेषज्ञ
काभ्रेपलाञ्चोक जिल्लामा १० वर्षको तथ्याङ्कमा छोरी जन्मन कम भएका छन् । १० वर्ष अघि ५१ प्रतिशत छोरा र ४९ प्रतिशत छोरा जन्मिने गरेका थिए । धुलिखेल अस्पतालको तथ्याङ्कमा पनि छोरा र छोरीमा खासै भिन्नता देखिदैन थियो । एक दशक यता छोरा धेरै र छोरी कम जन्मने क्रम बढेको छ । धुलिखेल अस्पतालमा भर्ना भएका महिलाहरूबाट जन्मने सन्तानहरू मध्ये ४५ प्रतिशत छोरी र ५५ प्रतिशत छोरा रहेका छन् ।
नेपालमा छिमेकी देश भारतको पञ्जाव र गुजरातको प्रभाव पर्न थालेको छ । नेपाल सरकारले तयार गरेका कानुन पीडित र गरिबका लागि उपयोगी भन्दा पनि दुरुपयोग हुन थालेको छ । कानुनको दुरुपयोग बढेपछि महिलाहरूमा गर्भपतनपछिका समस्या एकातिर छन् भने अर्काेतिर सामाजिक विकृति र सद्भाव भड्किने, पारिवारिक विचलन समेत हुन थालेको छ । अस्पतालमा उपचार गराउन आएका ग्रामिण महिलाहरूका समस्या र शहरी क्षेत्रका महिलाहरूका समस्या निकै फरक छन् । अझ प्रत्येक महिलाहरूमा गर्भपतनपछिका समस्याहरू अलग अलग रहेका छन् । महिलाको हितका लागि ल्याइएको गर्भपतन सम्बन्धी अधिकारलाई केही नागरिकले दुरुपयोग गरे । नेपालमा गर्भपतनले २०५९ सालमा कानुनी मान्यता पायो । विशेष अवस्थामा गर्भपतन गराउन सकिने व्यवस्थाको गलत व्यक्तिले गलत फाइदा लिए ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १३ को दफा १ सय ८८ ले कसैले गर्भवती महिलालाई करकाप गरि वा धम्की दिई ललाईफकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन नहुने व्यवस्था गरेको छ ।
हामी चिकित्सकहरूले भने यो ऐनको सदुपयोग गरी महिलाहरूको ज्यान बचाएका छौं । जस्तै पेटमा भएको शिशुको लिङ्ग पहिचान गरि महिलाको उपचार गर्ने र पेटको शिशुको पनि लिङ्गका आधारमा उपचार गर्ने गरिएको छ । महिलाहरू करणीमा परी गर्भ रहेको, महिला शारीरिक रुपले अपाङ्ग भई शिशु जन्माउन नसकेको तथा पेटमा भएको शिशु अपाङ्ग जस्तो रहेको र पेटभित्रै मरेको पुष्टी भएमा चिकित्सकले लिङ्ग पहिचानका आधारमा कानुनी रुपमै गर्भपतन गराउन सक्छन् । तर चिकित्सकहरूले गरिरहेको यो विधी र प्रविधिको भने अवैध तरिकाले दुरुपयोग गरिएको छ ।
गर्भपतन गराउँदा हुने समस्याका बारेमा बुझेर वा बुझ पचाएर पनि महिलाहरू बाध्य हुने गरेका छन् । समस्या भएर आउने अधिकांश महिलाहरूका भित्री पीडा अलग अलग छन् । धेरैले भन्नै चाहँदैनन् । भनेकाहरूले पनि सही विवरण दिदैनन् । श्रीमान्ले कुटेको, आँखा तथा अनुहारमा चाया पोतो बसेको, उच्च रक्तचाप भएको, टाउको दुख्ने, राति निद्रा नलागेको, सुत्ने बेला चिटचिट पसिना आउने गरेको जस्ता लक्षणहरू महिलाहरूले लुकाउने गरेका छन् ।
गर्भपतनका लागि सहज छ । सरकारको अनुमति लिएका पोलिक्लिनिक, सरकारी अस्पताल बाहेक गैर कानुनी रुपमा मेडिकलहरूले गर्भपतन हुने औषधि महङ्गो मुल्यमा बिक्री गर्ने गरेका छन् । सरकारीस्तरको अनुगमन फितलो हुँदा बाध्यतामा परेका महिलाहरूले त्यस्ता मेडिकलहरूबाट चकलेट किने भन्दा पनि सहज रुपले औषधि खरिद गरि गर्भपतन गराउने गरेका छन् । अस्पतालमा पुगेका महिलाहरूलाई स्वास्थ्य तथा कानुनी अड्चनहरू जानकारी गराउँदै अवैध तरिकाले गर्भपतन गर्न मिल्दैन भनेर फर्काउँदा उनीहरू नीजि मेडिकल तथा त्यस्ता औषधि पसलहरूमा पुगेर आफै औषधि किनेर सेवन गर्ने गरेका छन् । त्यसपछि उत्पन्न भएका समस्याको उपचार गराउन भने सरकारी अस्पताल आएपछि गर्भपतन गराएको खुलासा हुने गरेको छ । यसरी समस्या भएर आउने महिलाहरूलाई आईसीयूसम्म पु¥याउनु परेको छ । आईसीयूमा पुगेका महिलाहरूलाई पाठेघरको समस्या, रगत बग्ने, रिङ्गटा चल्ने, कमजोर हुने जस्ता समस्या देखिएका छन् ।
स्वास्थ्यकर्मीहरूले त्यसरी गर्भपतनका लागि आएका महिलाहरूलाई गर्भपतन नगर्न सुझाव दिए आत्महत्या गर्ने धम्कि दिने गरेका छन् । सरकारी अस्पतालहरूमा तालिमप्राप्त स्वास्थ्यकर्मीले मात्रै गर्भपतन गराउँछन् । रगत नबग्ने औषधि दिएर उनीहरूले गर्भपतन गराउन सक्ने व्यवस्था छ । जहाँ लिङ्गको पहिचान हुँदैन । १२ हप्तासम्मको मात्रै गर्भपतन हुन्छ । तर कतिपय नीजि क्लिनिकमा त्यस्तो हुँदैन । जसले महिलाहरूमा रगत बग्ने, गर्भपतनका कारण संक्रमण भई शरीरका अन्य भागहरूमा असर पु¥याउने, उच्च रक्तचाप जस्ता रोगहरू थ्पिने गर्छन् ।
दुईवटा छोरी छन्, तेश्रो सन्तान पनि छोरी नै भएकाले गर्भपतन गराउँदासमस्या भएकी एक महिलाको भर्खरै सफल शल्यक्रिया गरिएको छ । उहाँमा भएका अन्य समस्याहरूको पनि उपचार गरिएको छ । सरकारले अवैध गर्भपतनलाई रोकी कानुनको सदुपयोग गराउन सकेमा महिलाहरूको स्वास्थ्य जोखिममा पर्नबाट मात्रै जोगिदैन, छोरी जन्मने सङ्ख्यामा बृद्धी भई लैङ्गिक सन्तुलन पनि कायम गर्छ ।
(स्त्री रोग विशेषज्ञ प्रो.डा ताम्राकारसँग गरिएको कुराकानीमा आधारित)









