2026 July 06/ 09:07: 29pm

    पाँचखाल/बोक्सी भगाउन भन्दै ३७ बर्षीया एक महिलालाई आफुलाई माता बताउने एक बालिकाले गाला तथा शरीरका अन्य भागमा तातो पन्युले डामेकी छिन् । महिलाको श्रीमानले मातालाई घरमै बोलाएर झारफुक गरिदिन भने पछि बोक्सी भगाउन पन्यु तताएर महिलाको गाला, हातको औला र शरीरका विभिन्न भागमा डामिएको थियो । 
    पाँचखाल नगरपालिका वडा नम्वर १० घर भएकी ३७ बर्षिया शर्मिला विकलाई सोहि नगरपालिका वडा नम्वर १२ घर भएकी १६ बर्षिया आफुलाई माता बताउने बालिकाले बोक्सी भगाउन भन्दै तातो पन्युले डामेकी हुन् । लामो समय देखि मानसिक रोगबाट पीडित महिलालाई बोक्सी भगाउँदा निको हुन्छ भन्ने अन्धविश्वासका कारण पन्यु डामिएको हो । श्रीमान् सानुबाबु विकले मातालाई घरमै बोलाएर श्रीमतीलाई झारफुक गर्न अनुरोध गरेका थिए । ‘लामो समय देखि दिदी मानसिक रोगबाट पीडित भएकाले राजधानीका विभिन्न अस्पतालमा उपचार गराईरहेका थियौं’–पीडित महिलाका भाई दिपक रसाईलीले भन्नुभयो–‘राजधानीमा बस्दै आए पनि लकडाउन पछि परिवारका सबै सदस्य पाँचखालमा रहनु भएको थियो । त्यहि बेला दिदीलाई थप गाह्रो भएकाले झारफुकमा विश्वास गर्ने गरी उहाँलाई बोलाएर फुक्न लगाउँदा पन्यु तताएर डामिएको रहेछ ।’
    शर्मिलालाई छोप्ने र दिमागसँग सम्वन्धित मानसिक रोग थियो । श्रीमान केहि वर्ष विदेश बसेर गत वर्ष मात्रै फर्कनु भएको थियो । अनेक स्थानमा उपचार गर्दा पनि निको नभएकाले झारफुकबाट निको हुन्छ भन्ने सोचेर मातालाई बोलाएको जानकारी गराएको महिलाको भाई दिपक रसाईलीले जानकारी दिनुभयो । आईतबार महिला विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा बोक्सी भगाउने भनी गरिएको अमानविय ब्यवहारका विरुद्ध पीडकलाई कारवाही, पीडितको उपचार र क्षतिपूर्ति विरुद्ध जोहरी दर्ता गरिएको छ । प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापाले बोक्सी भगाउने भन्दै महिला माथी गरिएको अमानवीय घटना विरुद्ध जाहेरी दर्ता भएको र माता बताउने बालिकालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको बताउनु भयो । महिलालाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याईए पनि थप उपचारका लागि राजधानीको छाला सम्वन्धी अस्पतालमा उपचारका लागि रिफर गरिएको भाई दिपकले बताउनु भयो । 
    डेढ वर्ष अघि घरमा कुलायनको पुजा लगाउँदा आफुलाई माता चढेको बालिकाले बताउनु भयो । एक वर्ष देखि माताकै रुपमा उपचार गर्दै आएकाले विश्वासका कारण महिलाको श्रीमान सानुबाबु विकले एक महिना देखि बोलाएको भए पनि आफु नगएको उहाँले बताउनु भयो । ‘कार्तिक १४ गते साँझ म पसलमा ग्याँस लिन जाँदै थिएँ । महिलाको श्रीमानले बाटोमै रोक्नु भयो । मेरो घरमा आफै ग्याँस पु¥याई दिनु भयो र मलाई उहाँको घरमा जर्बजस्ति लैजानु भयो । घरमा महिलालाई ८ जनाले समाएर राख्नु भएको रहेछ । म पुग्ने वितिक्कै उहाँहरुले महिलालाई छाडिदिनु भयो । उहाँले मेरो कपाल समाएर भुईमा गाड्नु भयो । मैले दुईवटा धुप र सिस्नु पानी लगाउन खोजेको थिएँ । उहाँहरु सबैले मलाई पन्यु तताएर गालामा डाम्नु पर्छ भन्नु भयो । मैले उहाँहरुले ग्याँसमा तताएर ल्याएको पन्युले केहि समस्या पर्दैन परेको हामी ब्यहोरौला भने पछि डामेको हुँ’–बालिकाले भन्नुभयो–‘भर्खर एसईई दिएर बसेकी मैले यस्ता धेरै महिलाहरुलाई निको पारेको छु । सामान्य परिवारको सदस्य भएकाले मैले धेरै तान्त्रिक विद्या केहि आर्जन गरेको छैन ।’