तेमाल/नमोबुद्ध नगरपालिका वडा नम्वर ५ कालिमाटीका ९ बर्षीय निरोज तामाङ अघिल्लो शैक्षिक सत्रको चैत्र मसान्तसमम धुलिखेलमा रहेको निजी विद्यालयमा अध्ययन गरिरहेका थिए । उनि मात्रै होईन उनकी दिदी पनि कक्षा ५ मा अध्ययन गरिरहेकी थिईन् । उनी कक्षा २ मा अध्ययन गर्दथे ।
कोरोना भाईरसका कारण विश्व संकटमा परिरहेको थियो । चैत्र ६ गते देखि शुरु हुने एसईई परीक्षा रोकेर सरकारले चैत्र ११ गते देखि लकडाउनको घोषणा ग¥यो । चैत्रको दोश्रो साता मात्रै परिक्षाको तयारी गरेका सबै विद्यालयहरुले फागुन मसान्त भित्रै परिक्षा सम्पन्न गरे । केहि विद्यालयले ढिलो गरी सम्पन्न गरे तर परिक्षाफल प्रकाशन हुन सकेको थिएन । शुरुमा एक साता भनेर गरिएको लकडाउनको समयावधी अनिश्चित बन्यो । शहरमा मजदुरी गरेर बसिरहेका नागरिक दुःखसुख गाउँमै विताउने योजनाका साथ गाउँ फर्किए । शहरमा गरिरहेको मजदुरी छुट्यो । निरोजका बुबा आमा नै शहरमा मजदुरी गर्दै आएका थिए । डेराभाडा तिर्नै समस्या भए पछि उनिहरु दुई सन्तान बोकेर गाउँ फर्किए । तत्काल शहर आउने योजना बनाउन नसके पछि उनिहरुको परिवार गाउँमा बस्यो । निरोजका बाबु इन्टरनेट कम्पनीमा काम गर्ने भएकाले राजधानी पुगे । दुई सन्तान गाउँमै रहेको विद्यालयमा भर्ना भएर अध्ययन गर्न थाले ।
दोश्रो पटकको लकडाउन सकिए लगत्तै स्थानीय सरकारले विद्यालयहरु संचालनको निर्णय लिएका छन् । शहरमा विद्यालय खोल्ने सम्भावना नभएका बेला गाउँमा रहेका विद्यालयहरुमा अध्ययन शुरु भएको छ । निरोज जस्ता थुप्रै बालबालिकाहरु शहरका नीजि विद्यालयका पढाई छाडेर गाउँका सामुदायिक विद्यालयमा भर्ना भएका छन् । नागरिकहरुको आर्थिक अवस्था कमजोर भएका कारण शहरी क्षेत्रमा रहन सहन कम भएको छ । शहरी बसोबास कम भएका कारण गाउँमा भएको बाँझो जमिन मलिलो हुन थालेको छ । निरोज जस्तै थुप्रै ब्यक्तिहरु गाउँ फर्किएर सामुदायिक विद्यालय अध्ययन गर्न थालेका छन् ।









