2026 July 06/ 09:07: 27pm

मदन भण्डारी विश्वविद्यालय, सेज, हरित उद्यम, खानेपानी, सिंचाई
    पाँचखाल/तीन तहका सरकारको कृयाशिलताले नागरिकहरुले विकासको अनुभूति गर्न थालेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरु संचालन गर्ने र त्यसको जग राख्ने काम तीनै तहका सरकारले शुरु गरेका छन् । पाँचखाल नगरपालिकामा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा राष्ट्रिय गौरवका आयोजना शुरु भएका हुन् । 
    प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री नेकपा काभ्रेका इन्चार्ज तथा नेकपाका केन्द्रिय सदस्य गोकुल बास्कोटाले पाँचखाल नगरपालिका वडा नम्वर ७, १०, १२ र नमोबुद्ध नगरपालिका वडा नम्वर २ को झण्डै १३ हजार रोपनी जमिन मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालयका लागि जग्गाको ब्यवस्थापन गर्नु भएको छ । वडा नम्वर ७ को वडा कार्यालय नजिकै सोहि विश्वविद्यालयका लागि ६ सय २८ रोपनी जमिन उपलब्ध गराईएको वडा अध्यक्ष पुस्कर ढकालले जानकारी दिनु भयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, उपप्रमुख मञ्जु गौतमको टोलीले विश्वविद्यालय निर्माणस्थलका लागि तयार गरिएको जमिनको अवलोकन गरेको छ । विश्वविद्यालय निर्माणका लागि अहिले तयारी भईरहेको पूर्व मन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो । पाँचखालको थप विकासका लागि विश्वविद्यालय महत्वपूर्ण क्षेत्र भएको उहाँले बताउनु भयो । 
    अर्काे महत्वपूर्ण आयोजना पाँचखाल नगरपालिकाको वडा नम्वर ७ र ८ मा निर्माण भईरहेको पाँचखाल विशेष आर्थिक क्षेत्रमा ६३ वटा उद्योग रहनेछन् । जग्गा ब्यवस्थापन भएर पनि निर्माण कार्य शुरु हुन नसकेको आर्थिक क्षेत्रको प्रशासनिक भवन निर्माण भएको हो । प्रशासनिक भवन निर्माण भए सँगै जग्गाको प्लट गरी उद्योगलाई आवश्यक पर्ने जग्गा भाडामा उपलब्ध गराउने तयारी गरिएको छ । जहाँ सडक, पानी, विजुली लगायतका पूर्वाधारहरु सरकारले निर्माण गरिदिने छ । ११ करोड ९५ लाख ६३ हजार रुपैयाँमा प्रशासनिक भवन निर्माण भईरहेको छ । वडा अध्यक्ष पुस्कर ढकालका अनुसार प्रशासनिक भवन निर्माण पछि उद्योगहरु स्थापनाका लागि सहजता हुनेछ । पाँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वनको १ हजार रोपनी जमिन विशेष आर्थिक क्षेत्रका लागि उपयोग गरिने पाँचखालका युवा नेता कञ्चन अधिकारीले बताउनु भयो । 
    पाँचखालमा राष्ट्रिय गौरवका अन्य आयोजनाहरु पनि संचालन भएका छन् । खानेपानी, सिंचाईका योजनासँगै महिला हरित उद्यम ग्राम अर्काे महत्वपूर्ण आयोजना हो । ९१ रोपनी जमिनमा निर्माण हुने उक्त हरित उद्यम ग्राममा पाँचखाल नगरपालिकाका महिलाहरुले उत्पादन गरेको स्थानीय उत्पादनहरुलाई उद्योगका रुपमा विकास गर्ने छन् । महिलाहरुलाई उद्योगको मालिक बनाउँदै स्थानीय उत्पादनहरुलाई उद्योग मार्फत थप आयआर्जन बनाउन उद्यम ग्राम महत्वपूर्ण आयोजना हुने नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो । पाँचखाल कृषिका महत्वपूर्ण क्षेत्र भएकाले चक्लाबन्दी अनुसार खेति गर्ने योजना बनाईएको छ ।