2026 July 06/ 08:11: 31pm

धुलिखेल/काभ्रे उपत्यकाको समृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन ब्यापार र पूर्वाधार भन्ने नाराका साथ बनेपा, धुलिखेल, पनौती नगरपालिका र बेथान्चोक गाउँपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्न चारवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, इन्जिनियरहरु सम्मिलित बैठकले आवश्यक तयारी गर्ने निर्णय गरेको छ । 
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको संयोजकत्वमा सम्पन्न बैठकमा चारवटा स्थानीय सरकारले स्मार्ट सिटीका लागि गर्ने र गर्न सकिने विषयमा छललफल भएको थियो । ‘काभ्रे उपत्यकाको समृद्धिका लागि स्मार्ट सिटी बनाउने विषयमा मास्टर प्लान तयार भईरहेको छ’–संयोजक एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘स्मार्ट सिटीका लागि आवश्यक पूर्वाधार सहितको तयारी अन्तिम चरणमा पुगेको छ ।’ तीनवटा नगरपालिका र गाउँपालिकामा भएका विकासका पुर्वाधार तथा अब गर्ने निर्माणमा साझेदारी र स्मार्ट बनाउने गरी मास्टर प्लान तयार भईरहेको छ । कृषि, पर्यटन, सांस्कृतिक सम्पदा, स्वास्थ्य, शिक्षा लगायतका विषयमा संयुक्त विकासका लागि तयारी भएको छ । 
काभ्रेका तीनवटा नगरपालिकामा शुरु भएको एकिकृत खानेपानी, करिडोर निर्माण पछि बेथान्चोक गाउँपालिकालाई समेत समेटेर गर्न लागिएको यो अर्काे परियोजना हो । प्रस्तावित उपमहानगरपालिकाका लागि पनि यो परियोजनाले थप बल पु¥याउने छ । बेथान्चोक कृषि उपजका लागि महत्वपूर्ण स्थानका रुपमा चिनिदै आएको छ । जिल्लाको अग्लो स्थान बेथान्चोक नारायण बेथान्चोक गाउँपालिकामै पर्छ । महाभारत ट्रेलको निर्माण हुँदै र पर्यटकहरुका लागि आर्कषक बन्दै गरेको बेथान्चोकलाई स्मार्ट सिटी बनाउने मास्टर प्लानमा समेटिएको छ । पनौती कृषि र पशुपालनसँगै ऐतिहासिक सांस्कृतिक शहर हो । विश्व सम्पदा सूचीमा समावेश गराउन उक्त नगरपालिकाका लागि थप पूर्वाधार निर्माण र अन्य थप कार्य गर्ने तयारी भएको छ । शुसासन, प्रविधिको प्रयोग सहित स्मार्ट सिटीका लागि आवश्यक पर्नै अन्य तयारी गरिएको छ । बनेपा ब्यापारीक शहर हो । उद्योग, ब्यापारसँगै कृषि, पर्यटन र प्राकृतिक श्रोतको संरक्षण सहितका कार्य मास्टर प्लानमा समेटिएको छ । त्यस्तै धुलिखेल नगरपालिका पर्यटकहरुका लागि आर्कषक र ब्यवस्थित बन्दै गएकाले त्यसको थप विकासका लागि आवश्यक तयारीका बारेमा छलफल गरिएको छ । साझेदारीमा गर्न सकिने कार्यहरु, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार निर्माणलाई सहज बनाउन उक्त परियोजना सफल हुने जनप्रतिनिधिहरुले बताएका छन् । 
बैठकमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत बासुदेव उप्रेति, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाई, बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछाने, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा र चारवटै पालिकाका इन्जिनियरहरु सहभागि थिए ।