धुलिखेल/धुलिखेल नगरपालिकाले नगरपालिका भित्र संक्रमित नागरिकहरुको संख्या बढ्दै गए पछि अस्पतालले मात्रै विरामीहरुको ब्यवस्थापन गर्न नसक्ने भएकाले नगरपालिका आफैले ५० शैयाको आईसोलेसन कक्ष तयार गरी विरामीहरुको ब्यवस्थापन गर्न शुरु गरेको छ ।
यसअघि नगरपालिकाले तयार गरेको एकसय बेडको क्वारेन्टिनलाई नगरपालिकाले ५० बेडको आईसोलेसन कक्ष तयार गरेको छ । क्वारेन्टिन र आईसोलेसन कक्षका लागि फरक फरक तयारी आवश्यक छ । नगरपालिकाले अलग्गै बेड, विरामीहरुको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, स्वास्थ्यकर्मी तथा विरामीहरुको उपचारका लागि आवश्यक पर्ने अन्य पूर्वाधारहरुको तयार गरेको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले आईसोलेसन कक्ष निर्माण गरी विरामीहरुको उपचार शुरु गरिएको बताउनु भयो । धुलिखेल नगरपालिका वडा नम्वर ९ को काभ्रेभन्ज्याङ्गमा एकै दिन २५ जना संक्रमित विरामीहरु फेला परेसँगै नगरपालिकाले आईसोलेसन कक्ष तयार गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।
धुलिखेल नगरपालिकाले कोभिड १९ रोकथामको लागि जनचेतना अभियान, क्वारेन्टाइन ब्यबस्थापन, आइसोलेशन ब्यबस्थापन, उचित समयमा कन्ट्याक्ट् ट्रेसिङ्गका अतिरिक्त कोभिड अनुसन्धान समेतको कार्य गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो । नगरबासीलाई स्वाब परिक्षण गर्न असहज नहोस भन्ने उद्देश्यले १ हजार जनाको स्वाब संकलन तथा परिक्षण लक्ष्य सहित कार्य शुरु गरेकोमा हालसम्म ९ सय ७० जनाको परिक्षण गरिसकेको शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो । धुलिखेल नगरपालिका वडा नम्वर ९ मा समेत २७ जना सम्पर्क परिक्षण गर्नु पर्नेमा ५१ जनाको समुदायको समेत परिक्षण गरिएकोमा संक्रमित २५ जना फेला परेका थिए । वडा नम्वर ९ का संक्रमितहरु २५ जनाकै नियमानुसार अस्पताल, आइशोलेसन तथा घरमा समेत ब्यबस्थापन गरिएको उहाँले बताउनु भयो । रिपोर्ट प्राप्त भएको ६ घण्टा भित्रै सबै विरामीहरुको ब्यवस्थापन भईसकेको उहाँले बताउनु भयो । समुदायमा संक्रमण फैलन नदिई रोकथामका सबै उपायहरू समयमै संचालन गरिने नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।









