2026 July 06/ 05:22: 22pm

६ सय ४७ नागरिकको अन्धोपन निवारण 
बनेपा/रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाले बनेपा नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत हेल्थपोस्ट र ओपिडी इन्चार्जहरुलाई एकदिने आँखा रोग सम्बन्धी अभिमुखीकरण गराएको छ । 
अभिमुखीकरण कार्यक्रममा बोल्दै बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले नगरबासीहरुको स्वास्थ्यलाई ध्यान पु¥याउँदै निशुल्क मोतियाविन्दुको शल्यक्रियामा सहकार्य गरेको बताउनु भयो । स्वास्थ्यकर्मीहरुको सचेतना रहँदा नागरिकहरुले सेवाबाट बञ्चित नभई सहज सुविधा प्राप्त गर्ने भएकाले त्यस्तो अभियानमा ध्यान दिन अनुरोध गर्नु भयो । नागरिकहरु कोहि पनि आँखासँग सम्वन्धित रोग लाग्दा असाधावनीका कारण दृष्टिविहिन हुनु नपरोस् भन्ने उदेश्यले नगरपालिकाले रेयुकाई एईको मासुनागा आँखा अस्पतालसँगको सहकार्य अघि बढाएको बताउनु भयो । 
‘थोरै असाधावनीका कारण सदाका लागि आँखा बन्द हुने अवस्था आउन नदिन स्वास्थ्यकर्मी, महिला स्वयंसेविकाहरु, धामीझाँक्रीहरु, मेडिकल संचालकहरु, हेल्थपोस्ट इन्चार्ज तथा ओपिडी इन्चार्जहरुलाई अभिमुखीकरण गर्न लागिएको हो’–अस्पतालका महासचिव हिरामणी शर्माले भन्नुभयो– ‘हाम्रो अभियान आँखा सम्वन्धी समस्या भएका सबै खालका ब्यक्तिहरुले अस्पतालसम्मको पहुँच पु¥याउन सकुन भन्ने हो ।’ पहिलो चरणमा बनेपा नगरपालिका भित्रका हेल्थपोस्ट र ओपिडी इन्चार्जहरुलाई आँखा रोग सम्बन्धी अभिमुखीकरण गराईने छ भने दोश्रो चरणमा अन्य पालिकाकाका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गराईने महासचिव शर्माले बताउनु भयो । बनेपा नगरपालिकाले निःशुल्क मोतियाविन्दुका लागि सहकार्य गरे पछि गत असार महिनाको अन्त्यसम्ममा ६ सय ४७ जनाको अप्रेसन गरिएको छ । सामान्यतया मोतियाविन्दुको अप्रेसनका लागि न्युनतम ८ हजार रुपैयाँ पर्ने गरेको छ । 
अभिमुखीकरण कार्यक्रममा आँखा रोग विशेषज्ञ विमल पौड्यालले नेपालमा दैनिक १ सय २५ जना ब्यक्तिहरु दृष्टिविहिन हुने गरेकाले उक्त संख्या घटाउन हरेक क्षेत्रका ब्यक्तिहरुले आँखासँग सम्वन्धित विषयमा जानकारी लिई त्यस्ता ब्यक्तिहरुलाई आँखाको अस्पताल पु¥याउनु पर्ने बताउनु भयो । अस्पतालका अध्यक्ष मधु आचार्यले आँखा अस्पतालले विशुद्ध ब्यक्तिहरुको सेवा गरेकाले सेवाको भावले हेरिदन अनुरोध गर्नुभयो । अस्पतालले एकजना नागरिकलाई मात्रै दृष्टि उपलब्ध गराउन र भएको दृष्टिलाई जोगाउन सकेको अवस्थामा पुण्य प्राप्त हुने अध्यक्ष आचार्यले बताउनु भयो । आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डम्बरु पराजुलीले सामाजिक संस्थाहरुले सेवाको भावले काम गर्दा समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले अस्पतालको सेवाका कारण सयौं नागरिकहरु दृष्टिविहिन हुनबाट जोगिएको बताउनु भयो । कार्यक्रममा अस्पतालका कोषाध्यक्ष दिनेशराज कायस्थ, सहसचिव धर्मभक्त प्रधान लगायतले आँखा अस्पतालले नागरिकहरुलाई सहज ढंगबाट सेवा उपलब्ध गराउन पहल गरिरहेको बताउनु भयो । आँखासँग कुनै रोग लिएर गएको ब्यक्तिलाई अस्पतालसम्म पु-याउन सबैको सहयोग आवश्यक रहेको सहभागीहरुले बताएका थिए ।