सार्वजनिक जग्गा निजी भएको ४५ वर्ष पछि नगरपालिकाले खरिद गर्यो
पनौती/पनौती नगरपालिकाले पनौती नगरपालिका साविक वडा नम्वर ५ सिरानचौर हालको वडा नम्वर ७ मा रहेको कित्ता नम्वर १३२ को १७ रोपनी १४ आना २ पैसा जमिन खरिद गरेको छ । निर्माण अधुरो रहेको क्षेत्रीय स्तरको रंगशाला अब प्रदेश स्तरको रुपमा रंगशालाको रुपमा निर्माण सम्पन्न हुनेछ ।
आर्थिक वर्ष २०७७/०७८ मा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले न्यूनतम मूल्यांकन कायम गरे भन्दा कम दरमा नगरपालिकाले उक्त जग्गा खरिद गरेको हो । ‘मालपोत कार्यालयको मूल्यांकनमा उक्त जग्गाको मूल्य ४ करोड ९ लाख ६९ हजार ५ सय रुपैयाँ पर्नेमा नगरपालिकाले ३ करोड ६२ लाख २४ हजार २ सय ३७ रुपैयाँ तिर्ने गरी खरिद गरेको छ’–पनौती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाईले भन्नुभयो–‘नगरपालिकाले चालु वर्षका लागि आन्तरिक श्रोतबाट विनियोजन गरेको शहरी जग्गा पूर्वाधार ब्यवस्थापन कार्यक्रमबाट २ करोड र बसपार्क जग्गा ब्यवस्थापन कार्यक्रमबाट वाँकी रकम भुक्तानी गरिएको हो ।’ उक्त रकम सोहि जग्गा खरिदका लागि भुक्तानी गर्न कार्यपालिकाको मंगलबार विहान बसेको बैठकले स्विकृत दिएको थियो । पनौती नगरपालिकाको आठौ नगर सभाबाट जग्गा ब्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाईले बताउनु भयो । जग्गा खरिद बापत लाग्ने रजिष्ट्रेशन दस्तुर निःशुल्क भए पनि लाभकर बापत १० लाख २४ हजार रुपैयाँ मालपोतमा बुझाईएको छ ।
२०७० सालमा शहरी विकास तथा भवन निर्माण विभागले आर्थिक वर्ष २०६९/०७० मा उक्त क्षेत्रमा क्षेत्रीय स्तरको रंगशाला निर्माणका लागि नगरपालिकासँग सहकार्य गरेको थियो । सोहि अवसरमा कित्ता नम्वर १३२ को उक्त क्षेत्रफलको जमिन गंगाप्रसाद कँडेलको नाममा दर्ता भएको देखिए पछि विवाद शुरु भएको थियो । सार्वजनिक जग्गा ब्यक्तिका नाममा दर्ता भए पनि भोगचलन हुन सकेको थिएन । नगरपालिकाले जग्गा फिर्ताका लागि गरेको अनेक पहल विफल भएसँगै जग्गा खरिद गर्ने निर्णयमा पुगेको थियो । नगरको आठौं सभाले जग्गा ब्यवस्थापन गर्ने निर्णयसँग बजेट समेत ब्यवस्थापन गरे पछि जग्गा खरिद गरिएको नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो । जग्गाको क्षेत्रफल भित्र पर्ने सिमानाको माथिल्लो र तल्लो भागको अलग अलग मुल्य कायम गरी खरिद गरिएको बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । नगरपालिका विरुद्ध कँडेल परिवारले २०७१ सालमा मुद्दा दर्ता गरेका थिए । नगरपालिकाले भौतिक पूर्वाधारका लागि काम शुरु गरे पछि कँडेल परिवारले जग्गाको स्वामित्व आफ्नो रहेको भन्दै मुद्दामा गएका थिए । नगरपालिकाले पछिल्लो समय उनिहरुको परिवारलाई सिफारिस समेत रोक्का राखेको थियो ।
मंगलबार नगरपालिकामा डोर झिकाएर उक्त जग्गा खरिद गरिएको हो । मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले डोर दस्तुर ५ हजार राजश्व लिएर नगरपालिकाले आवश्यकता महसुस गरे पछि उक्त जग्गा खरिद गर्ने कार्यमा नगरपालिकामा उपस्थित भएको जानकारी दिनुभयो । नगरपालिकामा स्व. गंगाप्रसाद कँडेलका दुई श्रीमती नानिगिता कँडेल र गणेशकुमारी कँडेलले नगरपालिकालाई जग्गा विक्री गरेका थिए । नगर प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, जनप्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, स्थानीयहरुको सहभागिता रहेको थियो । ४५ वर्ष पछि उक्त जग्गा नगरपालिकाले आफ्नै नाममा फर्काएको छ । नगर प्रमुख भिम न्यौपानेले उक्त क्षेत्रमा रोकिएका निर्माणका कार्य अब सुचारु हुने बताउनु भयो । पनौतीको ठुलो विवादका रुपमा रहेको उक्त जग्गा ब्यवस्थापन पछि पनौतीले अब बसपार्क र बैकल्पिक मार्गका बारेमा बनाएको योजना कार्यान्वयन गर्ने बताएको छ ।
कँडेल परिवारका २ जनाको नाममा रहेको जग्गाबाट ५ दाजुभाई र तिनका ३५ सन्तानहरुलाई उक्त जग्गा बापतको रकम भाग लगाईएको छ । जग्गा विक्री गर्ने क्रममा उनिहरुको परिवारका सदस्यहरु सहभागी भएका थिए ।
जग्गाको बास्तविकता
शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगत धुलिखेल डिभिजन कार्यालयले पनौती नगरपालिकाले समेटेको गुरुयोजनालाई मूर्तरुप दिन विभागको बहुबर्षीय योजनामा समेटेर साविक पनौती ५ सिरानचौरमा क्षेत्रीय स्तरको रंगशाला निर्माणको प्रकृया अगाडि बढाएको थियो । तत्कालिन समयमा करिब साँढे ८ करोडको उक्त रंगशाला निर्माणको पहिलो चरण अन्र्तगत डिटेल सर्भे गरिएको थियो । आर्थिक वर्ष २०६९/०७० भित्रै सम्झौता गर्ने गरी २०७० बैशाख १७ गते पहिलो खण्डको बोलपत्र आब्हान गरिएको थियो ।
प्रशासनिक भवन, प्याराफिट (पूर्व पश्चिम र दक्षिणतर्फ), टिकट काउण्टर, गार्ड हाउस, कम्पाउण्ड वाल (गेट सहित), कर्भड हल र फुटबल ग्राउण्ड निर्माणका लागि बोलपत्र आब्हान गरिएको थियो । सोहि बोलपत्र अनुसार केहि काम सम्पन्न भएको थियो । कार्यक्रमका लागि सोहि आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । उक्त क्षेत्रमा सुविधा सम्पन्न रंगशाला निर्माणका लागि विभागले केहि वर्ष पहिले देखि अध्ययन गरिरहेको थियो । पनौतीमा उपयुक्त जग्गा र राजधानीबाट समेत नजिक भएकाले उक्त क्षेत्रमा स्विमिङ्ग पूल सहितको रंगशाला बनाउने तयारी भए पनि जग्गा अपुग हुने भएकाले सम्भव भएको थिएन । सार्वजनिक देखिएको केहि जग्गा ब्यक्तिको नाममा देखिए पछि डिभिजन कार्यालयले तत्काल जग्गाको समस्या समाधानका लागि पनौती नगरपालिकालाई अनुरोध गरेको थियो । नगरपालिकाले जग्गा विवाद मिलाउन दलहरुको समिति बनाएको थियो ।
पनौती नगरपालिकाले सार्वजनिक जग्गाको सदुपयोग गर्ने गरी केहि वर्ष अघि रंगशाला निर्माणको गुरुयोजना बनाएको थियो । नगरपालिकाले तयार गरेको गुरुयोजनालाई आफ्नै बहुवर्षिय योजनामा समावेश गरी डिभिजन कार्यालयले तीनवर्ष भित्र निर्माण कार्य सक्ने योजना बनाएको थियो । निर्माण कार्य सम्पन्न भएपछि उक्त पूर्वाधार कार्यालयले पनौती नगरपालिकालाई हस्तान्तरण गर्ने सहमति थियो । प्रत्येक जिल्लामा एउटा सभागृह, रंगशाला, स्टेडियम, सभाहल निर्माण गर्ने विभागकै योजना अनुसार शहरी क्षेत्रमा रंगशाला आवश्यक ठानी काभ्रेमा रंगशाला निर्माणको काम शुरु भएको थियोे । १ सय ३० मिटर लम्बाई र ९० मिटर चौडाई भएको रंगशालामा बाहिरी भाग पुरै प्याराफिट सहितको कम्पाउण्ड हुनेछ ।
नगरपालिका र स्थानीयहरुले सनातन देखि नै सार्वजनिक भन्दै आएको पनौती ५ सिरानचौरको केहि जग्गा ब्यक्तिको नाममा पास भएको देखिए पछि विवाद समाधानका लागि राजनीतिक संयन्त्र गठन भएको थियो । नगरपालिकाले सरकारी जग्गा ब्यक्तिको नाममा भएको भेट्टाए पछि वार्ताद्वारा समाधान गर्न राजनीतिक दलहरु सम्मिलित तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । तत्कालिन समयमा समितिमा नेपाली कांग्रेसका नगर सभापति केदारबहादुर भण्डारी संयोजक रहेका थिए भने एमालेका राजाराम सैजु र एमाओवादीका प्रभुराम केसी सदस्य थिए । फुटबल ग्राउण्ड बन्न लागेको सिरानचौरको जग्गा तीन कित्तामा विभाजन भएको थियो ।
जिल्ला नापी कार्यालयबाट खटिएका अमिनहरुको प्रतिवेदनका आधारमा सिरानचौरको १३० कित्ताको १४ आना १ पैसा १ दाम जोताहा, सार्वजनिक, १३२ नम्वर कित्ताको १७ रोपनी १४ आना २ पैसा गंगाप्रसाद कँडेलका नाममा र १३६ नम्वर कित्ताको ४२ रोपनी जग्गा सार्वजनिक देखिएको थियो । २०३३ सालको जग्गा नापीका बेला कँडेलले सिरानचौरको जग्गालाई आफ्नै साँधबाट अलि पर धकेलेर कित्ता नम्वर १३२ को १७ रोपनी १४ आना २ पैसा जग्गा ब्यक्तिगत बनाई दर्ता गराएका थिए । गंगाप्रसाद कँडेलको निधन भैसके पनि उनको नाममा भएको उक्त सरकारी जग्गा त्यतिबेलासम्म नामसारी भएको थिएन । विवादित जग्गालाई जनप्रतिनिधि नभएकै अवस्थामा कर्मचारीहरुले स्व. गंगाप्रसाद कँडेलका नामबाट उहाँका दुई श्रीमती नानिगिता कँडेल र गणेशकुमारी कँडेलका नाममा २०७० साल जेठ १४ गते नामसारी गरिएको थियो । सार्वजनिक जग्गा ब्यक्तिका नाममा दर्ता गरेको जानकारी हुँदा हुँदै कर्मचारीहरुले उक्त जग्गाको दस्तुर लिदै सिफारिस गरेका थिए । त्यस पछि शुरु भएको विवाद अदातलसम्म पुगेको थियो । जनप्रतिनिधि नआउँदै पुनरावेदन अदालतबाट २०७१ बैशाख ३ गते कँडेल परिवारको पक्षमा फैसला सुनाएको थियो । नगरपालिका त्यसका विरुद्ध सर्वाेच्च पुगेको नगरपालिकालाई २०७३ भदौ १९ गते पुनरावेदनकै फैसला सदर गरी कँडेलको पक्षमा फैसला गरेपछि नगरपालिका जग्गा दुषित बदरको प्रयासमा लाग्यो । त्यो पनि सम्भव भएन । जनप्रतिनिधि २०७४ बैशाख ३१ गते निर्वाचित भए लगत्तै शुरु भएको सहमतिको प्रयास तीन वर्ष पछि टुङ्गिएको हो ।
ब्यक्तिगत रुपमा सार्वजनिक जग्गा कित्ताकाट गरेको भए पनि कमाउन सकेको अवस्था थिएन । पछिल्लो समय नगरपालिकाले उक्त क्षेत्रमा क्षेत्रीय रंगशाला निर्माण गर्न लागेपछि मात्रै सार्वजनिक जग्गा ब्यक्तिको नाममा भएको खुलासा भएको थियो । कँडेल परिवारले पनौती नगरपालिका, शहरी विकास विभाग र भवन डिभिजन कार्यालयलाई विपक्षी बनाउँदै पुनरावेदन अदालत पाटनमा मुद्दा दायर थिए । ब्यक्तिको नाममा भएको जग्गामा सहमति नै नलिई सार्वजनिक रुपमा टेण्डर आब्हान गरी रंगशाला निर्माण गर्न लागेको कँडेल परिवारको आरोप थियो । स्थानीयबासी र नगरबासी उक्त जग्गा ब्यक्तिको भएको स्विकार्न तयार थिएनन् ।
यस्तो थियो इतिहास
पनौती नगरपालिका वडा नं.५ अन्तर्गत पर्माडीटोल इन्द्रेश्वर प्रावि पूर्व दक्षिणपट्टि एउटा ढिस्को छ । मल्लकालमा त्यो ढिस्को पनौती राज्यको एउटा सैनिक किल्ला अर्थात व्यारेक थियो । त्यसताकाको सैनिक व्यवस्थाको महत्वपुर्ण पक्ष राजधानी वा शहरहरु र सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेका वस्ती र क्षेत्रहरुलाई ठूला र अग्ला पसलेहरुले घेर्ने र यस्ता पर्खालहरुमा ठाउँ ठाउँमा ठूला साना ढोकाहरु बनाइएका हुन्थे । आपत्कालमा ढोकाहरु थुनेर शहरलाई सुरक्षित गर्ने कार्य गरिन्थ्यो । प्राचीनकालमा पनौतीमा ६ ढोकामध्ये उक्त क्वाठमा एक थिए । क्वाठमा रहेका सैनिकहरु हरेक दिन परेड खेल्न माथिल्लो चौरमा जान्थे । क्वाठका सैनिकहरु परेक खेल्ने भएकोले उक्त चौरको नाम नै क्वाठ ख्य भयो । पछि अपभ्रंश भई क्वाप ख्य भयो । नेवारहरु अझै उक्त चौरको नाम क्वाप ख्य नै भन्छन् । अर्काेतर्फ नेपाली भाषाको विकास भएपछि पनौती बजारको सिरानी झै रहेकोले उक्त चौरको नाम सिरान चौर हुन पुगेको हो ।
पनौती एक स्वतन्त्र राज्य भएको बखत अथवा कुन राजाको समयमा हो वैज्ञानिक परिक्षण गरे पत्ता लाग्ला पनौती शहरभन्दा माथि सुरक्षित ठाउँमा हाल कँडेलहरुको घर भएको स्थानमा त्यहाँ फलामका कच्चा पदार्थ ल्याई खार्ने भट्टि हुनुपर्दछ । किन भने कँडेलहरुको घर भएको पूर्व उत्तर र दक्षिणको खेर गएको ठाउँहरुमा फलाम खार्दा निस्कने फलामका टुक्राटाक्रीहरु अझै प्रशस्त भेटिन्छन् । डाँडापारी वा ढुंखर्कतिर फलाम खानी छ भनिन्थ्यो सायद त्यतैतिरबाट कच्चा पदार्थ ल्याई त्यहाँ भट्टि बनाई खारेको हुनुपर्छ । त्यस्तो ऐतिहासिक बोकेको सिरानचौरको जग्गा कसरी कँडेलहरुको हुन पुग्यो ? उनीहरुले को सित कहिले किने ? अथवा तत्कालीन राजा महाराजा राणाहरुबाट दान दक्षिणा वा विर्तामा पो पाए ? उपहार, वक्सिस जागिर वा....खाएर पो पाए ? पाएको भए कति रोपनी वा आना त्यो पनि जनताले जान्नुपर्ने अवस्था आए झैं छ । रंगशाला निर्माण गर्ने कार्य उनीहरुले नै गर्दा स्थगित भएको छ किनभने विवादित स्थानमा योजना सम्झौता नगर्ने भवन डिभिजन कार्यालयको अडान छ ।









