–केशव थापा
वि.सं.२०४६ सालको जनान्दोलनले वहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाको पुर्नस्थापना गरेपछि नेपालको राजनीतिक दलहरुप्रति सर्वसाधरणको आकर्षण ह्वात्तै बढ्ेको छ । यसैको परिणामस्वरुप नेपालका ठूला दलहरुमा नेताहरु मात्रै हजारौंको सङ्ख्यामा छन् । सदस्यताधारित कार्यकर्ताको संख्या दशौंलाख भएको समाचार सार्वजनिक भैरहेका छन् । राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त दर्जनौ संख्यामा अन्य साना दलहरु पनि उत्तिकै मात्रामा अस्तित्वमा रहेका छन् । के सहर के गाउँ सबै ठाउँका अधिकांश नेपालीहरुले राजनीतिप्रति बढी नै चासो राख्ने गरेको पाइन्छ । आधिकारिक अध्ययन, विश्लेषण र अनुसन्धानबिना अन्यथा भन्नु अलि हतारो भएपनि केही युवाहरु राजनीतिलाई देश र जनताको सेवाको उपयुक्त माध्यमको रुपमा देखी सेवाभावले यसतर्फ आकर्षित भएका पाइन्छन् भने केहीचाहिं राजनीतिलाई माध्यम बनाएर नवधनाढ्य बन्ने निच स्वार्थकासाथ राजनीतिमा लागेका भेटिन्छन् । केही व्यक्तिहरुले भने सामाजिक प्रतिष्ठा र सानका लागि राजनीतिलाई रोजेको पाइन्छ । अनेकानेक आरोहावरोहकाबीच कैयन वर्षदेखि नेपाली राजनीति टेस्टेड बुढापाकाहरुको कहर काट्न वाध्य छ । निरङ्कुशताको अन्त र प्रजातन्त्रको स्थापनाको निमित्त उहाँहरुको योगदान उल्लेख्य रहेपनि कैयन वर्षदेखि नेपाली राजनीति औंलामा गन्न सकिने वरिष्ठ भनिने वृद्ध राजनीतिज्ञ व्यहोर्न अभीशप्त छ । विद्यार्थी राजनीति हुँदै दलीय राजनीतिमा हाम फालेका युवा भनिने नेताहरु पनि साठीको उमेरको छेउछाउमा पुग्न थालिसकेका छन् । उनीहरुको उत्साह र जाँगर पनि अवसरको अभाव र गुटको चेपुवामा परेर दिनानुदिन ¥हासोन्मुख बन्दो छ । आफूले अवसर नपाउँदा एक व्यक्ति एक पद भनेर नथाक्ने नेताहरु पनि आफू पदमा पुगेपछि हिजोका आफ्नो अलाप बिर्सेर पद र शक्तिको मादमा उन्मत्त भएका देखिन्छन् । विगतमा लामो समय पदको अवसर पाउँदा पनि अपेक्षित योगदान गर्न नसकेका नेतागणहरु केही समय शक्ति र सत्ताबाट अलिपर बस्नु पर्दा मानौं अब राजनीतिक भविष्य नै समाप्त भएझै गरी वाञ्छित÷अवाञ्छित सबैखाले चाल चल्न थालेको देखिन्छ । यो कुनै अतिशयोक्ति नभएर नेपाली राजनीतिको अहिलेको तीतोसत्य हो । यस आलेखमा यी सबैका सम्बन्धमा चर्चा नगरेर असल मनासायकासाथ देश र जनताको पक्षमा केही योगदान गर्ने अभिप्रायले राजनीतिमा आकर्षित युवाहरुले ध्यान दिनुपर्ने केही आधारभूत विषयका संबन्धमा मात्र सामान्य चर्चा गर्ने जमर्काे गरिएको छ ।
विगतको लामो शान्तिपूर्ण एवं सशस्त्र सबैखालका आन्दोलनका चरणहरु पारगर्दै वि.सं. २०६२÷६३ को जनान्दोलनपछि नेपालको शासकीयस्वरुप परिवर्तन गर्न खालको राजनीतिक आन्दोलन तत्काललाई विश्राममा रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको प्रस्तावनामा उल्लिखित व्यवस्थालाई भरदिने खालको पूर्वाधारहरु खडा गरियो, भ्रष्ट्राचारविहीन सुशासन कायम हुन सक्यो, बेरोजगारी र बेथितिको समस्यालाई निष्पक्षढङ्गले हल गर्दै शिक्षा, स्वास्थ्य र सामाजिकसुरक्षाजस्ता जनतासँग प्रत्यक्ष संबन्धित आधारभूत विषयमा राज्य जिम्मेवार बन्दै समयको पदचापलाई पछ्याउँदै समयसापेक्ष कदमसहित दिनानुदिन झनझन् जनउत्तरदायी बन्नेतर्फ ध्यान दिने हो भने नेपाली छोराछोरीको रगतको भोगखाने प्रकृतिको राजनीतिक क्रान्ति तत्कालै आवश्यकता पर्ने देखिदैन । नेपालको अहिलेको आवश्यकता भनेको गरिबीको दूष्चक्रबाट मुक्त गराउने न्यायपूर्ण आर्थिक समृद्धि हो । समृद्धिको शिखर चुम्दै विश्वको शक्तिशाली राष्ट्र बन्न उद्यत छिमेकी राष्ट्रहरु चीन र भारतको दयाको पात्र नबनी स्वाभिमानी नेपालीको सान राख्न र नेपाल आमाको अस्मिताको जर्गेना गर्न पनि आर्थिक समृद्धि नेपालको अपरिहार्य आवश्यकता हो । राज्य र नागरिक सम्बद्ध निकायहरुको सम्मानजनक सहकार्यले मात्र अपेक्षित समृद्धि संभव हुन्छ ।
राज्यले दीर्घकालीन सोचकासाथ प्राथमिकतापूर्ण तवरले भौतिक पूर्वाधारहरुको विकास, नीतिगत सहजीकरण, सर्वसाधरणको जिउधनको सुरक्षा र निष्पक्ष नियमनमा ध्यान दिने हो र देशका श्रमयोग्य नागरिकहरुले पनि आफ्नो रुची, सीप र क्षमता अनुसारको काममा दत्तचित्त हुने हो भने समृद्धिको सपना सहजै साकार हुनेछ । बिनाश्रम (शारीरिक वा मानसिक) व्यक्ति र राष्ट्र दुवैको सम्पन्नता असंभव हुन्छ । यस तथ्यलाई हेक्का राख्दै राजनीतिमा रुची राख्नेहरुमा उत्साहकासाथ श्रममा सहभागिता जनाउने जाँगर र तत्परताको आवश्यकता पर्छ । चियापसल वा जुवाको खालमा बसेर बा¥हसत्ताइस कुरा गर्ने र गणेशभक्ति गरेर वा भेटी चढाएर निर्वाचनको बेला टिकट फुत्काउने छट्टुहरुलाई जनताले अब आफ्नो नेता नस्वीकार्ने तथ्यलाई हेक्का राख्नुपर्छ । सर्वसाधरणको घरटोललाई मन्दिर मानी सदा उपस्थित हुने, निष्ठा–इमानमा दृढ, जनताको सुखदुःखमा सहभागी हुने, लोभलालच, दुष्ट्याँइफट्टयाँईबाट बा¥हहात परै बस्ने, हरेक दृष्टिकोणले अनुकरणीय र विरोधीप्रति पनि सहिष्णु नेता आम मतदाताको रोजाई पर्ने निश्चित छ । अपवादलाई छाडेर अबउप्रान्त सायदै पैसाले मत किन्न सकिएला । केही वर्षको यताको आमनिर्वाचनमा सर्वसाधरणको मत किनी खन्याई दिने भ्रममा पारेर उमेदवारलाई ऋणमा डुबाएर दलका छट्टुहरुले तर मारेको तथ्य जनताले मेसो पाइसकेको छन् । अब त्यस्ता बिरालोको थुतुनो जनताले तातोदूधले डामी दिने पक्का छ ।
कोभिड–१९ को कारणले रोजगारी गुमेर वा यो विषम अवस्थामा परिवारको मायाले गाँजेर लाखौं युवा स्वदेश फर्कने निश्चित छ । उनीहरु फर्केर आउँदा मुढो ज्यानमात्र नभएर आफू गएको देशको विकास, त्यहाँको संस्थागत संरचना र विधिमा आधारित प्रणाली, देशका नागरिकप्रति सरकारको उत्तरदायित्व र जिम्मेवारी, वर्षाैसम्म आफूले देखेभोगेको जीवनशैली र देश समृद्ध बनोस् भन्ने सपना पनि सँगै बोकेर आएका हुन्छन् । आंकक्षा र अपेक्षाको अतिरिक्त केही सीप, पुँजी र दृष्टिकोण लिएर फर्केका जनतासँग नियमित साक्षात्कार गर्ने, उनीहरुका राम्रा सुझावहरु ग्रहण गरी व्यवहारमा लागू गर्ने र राष्ट्रिय एवं स्थानीय वास्तविकता र विशेषता स्पष्ट बुझाउन सक्ने राजनीतिक नेतृत्व मात्र उनीहरुका लागि प्रीतिकर हुने तथ्यलाई पनि हेक्का राख्नैपर्छ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिवेस र तिनीहरुले अहिले पारेको प्रभाव तथा भविष्यमा पार्न सक्ने असर अनदेखा गरी एकोहोरा ढिपी मात्र गर्ने जिद्दीवाल नेतृत्व अबको जनतालाई अजीर्ण हुने निश्चित नै छ । (लेखक काभ्रे सेवा समाज,काभ्रेका वर्तमान अध्यक्ष हुन ।)









