धुलिखेल/विश्वका विभिन्न मुलुकहरुमा संक्रमणका रुपमा रहेको कोभिड १९ (कोरोना भाईरस) बाट बच्न जिल्लामा पूर्व तयारी स्वरुप स्थानीय तहहरु सक्रिय भएका छन् । स्थानीय तहहरुले विपद् ब्यवस्थापन समितिको बैठक राखी तयारी गरेका छन् ।
बनेपा नगरपालिकाले आयोजना गरेको विपद् ब्यवस्थापन समितिको बैठकमा कोरोना भाईरसबाट बच्न नगरबासीहरुलाई सचेत गराउन विभिन्न प्रचार प्रसारका कार्यक्रमहरु गर्ने, घनाबस्ति क्षेत्रमा थुप्रिएका फोहोरहरु उठाउने हटाउने, फोहोरका सवारी साधनहरु आएको समयमा मात्रै फोहोर घरबाट निकाल्न नगरबासीहरुलाई अनुरोध गर्ने, ब्यापारीक फर्म तथा संघसंस्थाहरुले आफ्ना ब्यापारीक, निर्माण तथा अन्य प्रकारका बस्तुहरु सार्वजनिक आवागमनमा असर नपर्ने गरी सुरक्षित राख्न, बनेपा नगरपालिका क्षेत्र भित्र धेरै मानिसहरुको जमघट हुने समारोह नगर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले चैत्र ५ गते भित्र कक्षा ९ सम्मका सबै परीक्षाहरु सम्पन्न गर्न निर्देशन दिएको छ । जसअनुसार सबै विद्यालयहरुले परीक्षा शुरु गरिसकेका छन् । उपप्रमुख रेखा सापकोटा दाहालको अध्यक्षतामा बसेको बैठकमा नगर भित्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकले बनेपाको शिर मेमोरियल अस्पताल भित्र आईसोलेसन वार्डको स्थापना गर्न, अस्थायी शिविर बनाउनु पर्ने अवस्था आए पोलिटेक्नि स्कुलको फुटबल ग्राउण्डलाई तयारी अवस्थामा राख्न र अत्यावश्यक औषधीको अभाव हुन नदिने निर्णय गरेको छ । विपद्मा सबै समुदाय, संघ संस्थाहरु परिचालन हुन र त्यसको तयारीमा लाग्न बैठकले आब्हान गरेको छ ।
त्यस्तै निजी तथा आवासिय विद्यालय प्याब्सन काभ्रेले सरकारले तोकेको समय सिमा भित्रै विद्यालय तहको परीक्षा सम्पन्न गर्न सदस्य विद्यालयहरुलाई आब्हान गरेको थियो । अध्यक्ष पूर्णकुमार श्रेष्ठले जिल्लाका सबै विद्यालयहरुले उक्त निर्देशनलाई पालना गर्ने गरी तयारी गरिएको बताउनु भयो । एन प्याब्सन लगायतका संस्थाहरुले पनि निजी क्षेत्रका विद्यालयहरुको परिक्षा समय भित्रै सम्पन्न गरी विद्यार्थीहरुलाई सहज वातावरण सिर्जना गर्न निर्देशन दिएका छन् । स्थानीय तहका शिक्षा शाखाहरुले परीक्षा तालिका प्रकाशन गरी सबै विद्यालयहरुलाई सोहि तालिका भित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएका छन् । जिल्ला स्तरीय विपद ब्यवस्थापन समितिले फागुन २० गते नै उक्त निर्देशन दिएको थियो । जिल्ला स्तरीय भेला, सम्मेलन, महोत्सव स्थगित गरी कोरोनाको संक्रमण हुन नदिन सजगता अपनाउन अपिल गरेको थियो । स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, प्रमुख प्रशासकिय प्रमुखहरु सहितको तयारी बैठक शुक्रबार आयोजना गरिएको थियो जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बताउनु भयो । उक्त बैठकले सबै तह, निकाय, संघ संस्थाहरुले संक्रमण फैलन नदिन सर्तकता अपनाउने र फैलिएको अवस्थामा उपचारका लागि तयारी गर्ने योजना बनाएका छन् ।









