2026 April 30/ 07:57: 52pm

देवीटार, महाभारत/विद्यार्थीहरुलाई क्षमताको विकाससँगै समृद्ध र साक्षर पालिका कायम राख्ने उद्देश्यले महाभारत गाउँपालिकाले विविध कार्यक्रम आयोजना गरेको छ । बाँसको कप्टेराले बारेको कार्यालय विद्यालयको भवनबाट आफ्नै स्वामित्व रहेको जमिनमा कार्यालय निर्माण गरी सेवा प्रारम्भ गरेको छ । सोहि अवसरमा गाउँपालिकाले निःशुल्क जग्गा दान गर्ने दाताहरुलाई विशेष सम्मान गरेको छ । साक्षर गाउँपालिका घोषणासँगै गाउँपालिकाले दाताहरुलाई सम्मान गरेको हो । 
    केहि वर्ष अघि विकट क्षेत्रका रुपमा चिनिएको जिल्लाको डाँडापारी स्थित महाभारत गाउँपालिका सुगम हुँदै साक्षर घोषणा भएको छ । सडक, भौतिक पूर्वाधार, विद्युतिकरण, इलाका प्रशासन, नागरिकलाई सेवा प्रदान र विकासको गतिसँगै महाभारत गाउँपालिका समृद्ध बन्ने अभियानमा लम्किएको छ । महाभारत गाउँपालिकालाई साक्षर घोषणा गर्दै पूर्व गृह तथा उर्जामन्त्री जनार्दन शर्माले ग्रामिण भेगको विकासको मोडल बदल्न सुझाव दिनुभयो । ‘उपभोक्ता समिति खारेज गरिनुपर्छ, उपभोक्ता समितिले गर्ने काम विकास सहकारी गठन गरी शुरु गर्नु पर्छ’–शर्माले भन्नुभयो–‘श्रम सहकारीको मोडलमा गरिएको विकास दिगो र स्थायी मात्रै हुँदैन, अनियमितता समेत रोक्न सकिन्छ ।’ स्थानीय तहमा भ्रष्टाचार मौलाएका समाचार बाहिर आए पनि त्यसलाई सुधार्दै संघीयताको अभ्यास र स्वाद जनतालाई घर दैलोमै पुगेर दिने सेवाबाट प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । ‘महाभारत गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जाल पुगेको छ, सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक खुलेको छ, भौतिक पूर्वाधारले सम्पन्न हुँदैछ’–नेकपा नेता शर्माले भन्नुभयो–‘संघीयताको मोडल हेर्न महाभारत जानुस भन्ने अवस्था सिर्जना भएको छ ।’ नेता शर्माले जनप्रतिनिधिलाई जनताको शासक नभई सेवक भएर काम गर्न अनुरोध गर्दै जनतासँगको सम्बन्ध स्थापित गर्न र सरकारका सेवालाई अझै प्रभावकारी बनाउन सुझाव दिनु भयो । 
    विकट क्षेत्र महाभारतलाई नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले २०७४ को निर्वाचन पछि सुगमतातर्फ लैजान विद्युतिकरण लगायतका महत्वपूर्ण योजनामा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । सोहि प्रतिबद्धता अनुसार महाभारत र खानीखोलामा विद्युतिकरणको कार्य शुरु भएको छ । सडक सञ्जाल जोडिएको छ भने पूर्वाधारका लागि अघिल्लो आर्थिक वर्षमा विशेष अनुदानको ब्यवस्थापन गरी पूर्वाधारको कार्य शुरु भएको छ । गाउँपालिकाका नागरिकलाई विकाससँगै आय आर्जन बृद्धि गर्ने खालका कार्यक्रमहरु संचालन गर्न नेता शर्माले अनुरोध गर्दै शिक्षामा लगानी बढाउँदा मात्रै समृद्ध महाभारत निर्माण हुने भएकाले लगानीलाई अझै मजबुत र पारदर्शी बनाउन जोड दिनुभयो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाले भोगिरहेका विविध समस्याहरुका बारेमा अवगत गराउनु भएको थियो । निर्वाचित भए सगै स्थानीय क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहेको बताउँदै अध्यक्ष जिम्बाले सडकको स्तरोन्नती र आयआर्जन मुलक कार्यका लागि योजना बनाउने बताउनु भयो । 
विशेष कारण पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सोहि कार्यक्रममा सहभागी हुन नसके पछि नेकपा नेता समेत रहनु भएका पूर्व गृहमन्त्री जनार्दन शर्मा सहभागी हुनु भएको थियो । उहाँले अध्यक्ष प्रचण्डको विशेष आग्रहमा उहाँको अनुपस्थितिमा आफुलाई पठाउनु भएको बताउनु भएको थियो । महाभारत गाउँपालिकामा आयोजित कार्यक्रममा स्थानीयहरुको भव्य सहभागिता थियो ।

भवन उद्घाटन, जग्गादाता सम्मानित
    महाभारत गाउँपालिकाले निर्माण गरेको प्रिफ्या तथा अन्य संरचनाहरुको पूर्व गृहमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभयो । साँढे १६ रोपनी जमिन निःशुल्क प्राप्त गरेको गाउँपालिकाले महाभारतको बनखु स्थित देवीटारमा संरचनाहरु निर्माण गरेको हो । ‘अब स्थायी संरचनाका लागि आधार बनेको छ’–अध्यक्ष जिम्बाले भन्नुभयो’–‘यसअघि बाँसको टहरामा स्थापना भएको गाउँपालिका कार्यालय विद्यालयको भवन भाडामा लिई संचालन हुँदै आएको थियो ।’ गाउँपालिका केन्द्रमा इलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय लगायतका कार्यालहरु स्थापना भएका छन् । 
    कार्यक्रममा गाउँपालिका कार्यालयका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । महाभारत गाउँपालिका ६ का सुनबहादुर बलले ४ रोपनी, बुम्बा दोर्जे लामा २ रोपनी १ आना १ पैसा ३ दाम, काजिमान मुत्तान १–८–२–१, दर्जमान मुक्तान १–४–३–३, बोरसमान मुक्तान १ रोपनी, भिमबहादुर थिङ्ग ०–१५–०–२, बखतमान माझी ०–१२–०–०, जगतबहादुर माझी ०–१२–०–०, जगतबहादुर अस्तानी ०–१२–०–०, पदमबहादुर माझी ०–१२–०–०, लबध्वज वाईवा ०–१०–०–०, बमबहादुर अस्तानी ०–७–१–०, छेवाङ्ग दोर्जे लामा ०–६–३–२ जग्गा निःशुल्क दान गर्नु भएको थियो । गाउँपालिकाले उहाँहरुको शिलालेखमा नाम उल्लेख गरेको छ । 

साक्षर गाउँपालिका, विद्यार्थीको प्रतिस्पर्धा
महाभारत गाउँपालिकालाई साक्षर घोषणा गरे सँगै गाउँपालिका भित्रका विद्यालयका विद्यार्थीहरुले साक्षर नागरिक, समृद्ध महाभारत विषयक बक्तृत्वकलामा प्रतिस्पर्धा गरेका छन् । प्रतिस्पर्धामा भाग लिएका ७ वटा विद्यालयका विद्यार्थीहरु मध्ये जनकल्याण मावी घर्तिछापकी सुनिता कुँवर प्रथम हुनु भएको छ । उहाँले नगद १० हजार प्राप्त गर्नु भयो । गोकुले माविका सुशान्त श्रेष्ठ दोश्रो हुनुभयो । उहाँले ७ हजार प्राप्त गर्नु भयो भने ग्रामोन्नती मावी बुढाखानी चारकिल्लाकी महामाया तुम्सिङ्ग तेश्रो हुनु भयो । कालिका माविमा अध्ययन गर्ने शर्मिला थिङ्गले सान्त्वना पुरस्कार प्राप्त गर्नु भयो । तेश्रो र सान्त्वना पुरस्कारको राशी ५÷५ हजार थियो । विद्यार्थीहरुले नृत्य प्रतियोगितामा पनि प्रतिस्पर्धा गरेका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई नगद सहित पु्रस्कार वितरण गरिएको थियो । नृत्यमा आजाद आधारभुत विद्यालय प्रथम भयो भने भैरवेश्वर आधारभुत विद्यालय दोश्रो, सम्भेश्वर आधारभुत विद्यालय तेश्रो र गौलेश्वरी आधारभुत विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । विद्यालयहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ सहित कपी कलम, डिक्सनरी, क्याल्कुलेटर र ज्यामिती बक्स उपलब्ध गराईएको थियो । 
पालिकास्तरीय नृत्य तथा बक्तृत्वकला प्रतियोगिता र साक्षर गाउँपालिका घोषणा कार्यक्रममा संघीय संसद गंगाबहादुर दोङ्ग, प्रदेश सभा सदस्यहरु रत्न ढकाल र चन्द्र लामा, पूर्व राज्यमन्त्री सुर्यमान दोङ्ग, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, उपप्रमुख मञ्जु गौतम, नेकपा जिल्ला अध्यक्ष रुकु चौलागाई, सचिव टोकबहादुर वाईवा, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, शिक्षा विकास निर्देशनालय बाग्मग्ती प्रदेशका निर्देशक चन्द्रप्रुसाल लुईटेल, प्रमुख प्रशासकिय अधिकृत रेवतीरमण निरौला लगायतले महाभारत गाउँपालिकाको समृद्धताका लागि गर्नुपर्ने कार्यहरुका बारेमा मन्तब्य राख्नु भएको थियो । सोहि अवसरमा विभिन्न वडाबाट सहभागी भएकाहरुले संस्कृति अनुसारको नृत्य तथा झाँकी प्रस्तुत गरेका थिए । मगर समुदायको मारुनी नाच, लामा नाच, सेलो, स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम समेत सोहि अवसरमा प्रस्तुत गरिएको थियो ।