धुलिखेल/धुलिखेल नगरपालिका शिक्षा शाखाद्वारा धुलिखेल संजीवनी नमुना माविमा मेयरसँंग विद्यार्थी कार्यक्रम आयोजना गरिएको छ ।
विद्यार्थीहरुका जिज्ञासा तथा प्रश्नहरुमा नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले जवाफ दिनु भएको थियो । नगर प्रमुख अशोक ब्याञ्जुले शिक्षक, अभिभावक, विज्ञहरुसँग मात्रै छलफल गरेर बनाईने शिक्षा नीतिमा विद्यार्थीहरुका कुरा समेत समावेश गरी दिर्घकालिन रुपमा शिक्षामा लगानी बृद्धि गरी र शिक्षाको गुणस्तर बढाउन विद्यार्थीहरुको चासो र जिज्ञासा सम्बोधन गर्न मेयर सँग विद्यार्थी कार्यक्रम आयोजना गरिएको बताउनु भयो । विद्यार्थी श्रीराम न्यौपानेले परीक्षा गुणस्तर बनाउन नगरपालिकाको योजना के छ ? भन्ने प्रश्न नगर प्रमुख समक्ष राख्नु भएको थियो भने आशिष बजगाईले नगर प्रमुख आफैले अध्ययन गरेको सञ्जीवनीका लागि के योगदान दिन सक्नु हुन्छ ? प्रश्न राख्नु भएको थियो । विद्यार्थी साधना चौलागाईले नमुना विद्यालय बनाउने योजनाका बारेमा जिज्ञासा राख्नु भएको थियो । इमरान शाहले खेलकुदको विकासमा ध्यान दिन अनुरोध गर्नु भएको थियो । नारायणी न्यौपानेले कन्फे्रस हलको आवश्यकता रहेको बताउनु भयो । कृपा राउतले यातायातको ब्यवस्थापनका लागि अनुरोध गर्नुभयो । रिया फुँयालले सामुदायिक विद्यालयको बजेटका बारेमा जिज्ञासा राख्नुभयो । प्रसंशा श्रेष्ठले बालमैत्री विद्यालयका लागि नगरपालिकाको योजनाका बारेमा प्रश्न राख्नु भएको थियो । विद्यार्थी आयुष श्रेष्ठले पर्यटन वर्षको तयारीका बारेमा नगर प्रमुखसँग प्रश्न राख्नुभयो । सायरा तिमल्सिना, एलिसा हुमागाईले गुणस्तरीय शिक्षाका बारेमा जिज्ञासा राख्नुभयो । मुस्कान प्रविनले म्युजिक कक्षा संचालनका लागि नगरपालिकाको योजनाका बारेमा सुझाव दिनु भयो ।
विद्यार्थीहरुको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई शैक्षिक गुणस्तर सहितको नगर बनाउन कहिल्यै विद्यार्थीहरुको आवाज नसुनी तयार गरिने शैक्षिक कार्यक्रमलाई बदल्न विद्यार्थीहरुसँग प्रश्नोत्तर कार्यक्रम राखिएकाले विद्यार्थीहरुले दिनु भएको सुझाव, सल्लाह र जिज्ञासालाई शैक्षिक क्यालेण्डर र योजना भित्र समावेश गरी अगाडी बढ्ने बताउनु भयो । परीक्षा प्रणाली सुधार गरी गुणस्तर कायम राख्ने, नमुना विद्यालयका मापदण्डहरुलाई पुरा गर्न भौतिक र शैक्षिक सुधारका कार्यहरु निरन्तर गर्ने, शैक्षिक सामाग्री अभाव हुन नदिने, खेल मैदानको ब्यवस्थापन गर्ने, यातायातको सुविधालाई ध्यान दिने, नेपाल सरकारले विनियोजन गरेको १७ करोड बजेटमा स्थानीय सरकारले झण्डै १ करोड ३० लाख थप गरी गुणस्तरीय शिक्षालाई जोड दिएको, महिनाको एकपटक प्रअहरुको बैठक संचालन गरी गुणस्तर कायम राख्न प्रयास गरेको, अंग्रेजी, गणित र सामाजिक विषयका शिक्षकहरुको नियमित बैठक संचालन गरिरहेको, दातृ निकायसँगको पहलमा विद्यालयहरुको भौतिक पुर्वाधार निर्माण गरिरहेको, काठमाडौ विश्वविद्यालयसँगको सहकार्यमा विभिन्न विषयमा नगर भित्रका बार्षिक २२ जना विद्यार्थीहरुलाई अध्ययनको अवसर मिलाईएको, स्कुल र विश्वविद्यालय जोड्ने वातावरण तयार गरेको, बालमैत्री शहर निर्माणका लागि वडालाई बालमैत्री घोषणा गरी २०२० भित्र सबै वडा र नगरलाई पूर्ण रुपमा बालमैत्री नगर घोषणा गर्ने गरी कार्य गरिरहेको, पर्यटन वर्षलाई मात्रै लक्षित नगरी सिङ्गो नगरलाई पर्यटकीय शहरका रुपमा विकास गर्न पार्क लगायतका संरचनाहरु निर्माण गरिएको, संगित कक्षाका लागि विशेष ब्यवस्थापनका लागि योजना बनाईएको जानकारी गराउनु भएको थियो । नगर प्रमुखसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर उपलब्ध गराएकोमा विद्यार्थीहरुले धन्यवाद दिएका थिए ।
कार्यक्रममा धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख उप सचिव माधव शर्माले स्थानीय सरकारले अधिकार प्राप्त गरे सँगै शिक्षामा लगानी बृद्धि सँगै गुणस्तर र ब्यवस्थापनमा ध्यान दिएको बताउनु भयो । नगरपालिकाले शैक्षिक गतिविधि सञ्चालन, विद्यार्थीको पहुँच बृद्धि, गुणस्तरीय शिक्षाका लागि पहल, सिर्जनशीलताको विकास जसले गर्दा विद्यार्थीहरुलाई प्रश्न सोध्न सक्ने क्षमताको बृद्धि, स्थानीय सरकारसँग विद्यार्थीको पहुँच, विद्यार्थीहरुको नीति निर्माणमा सहभागिता रहने बताउनु भयो । चालु आर्थिक वर्षमा नगर भित्र रहेका ११ वटा माध्यमिक विद्यालयमा उक्त कार्यक्रम संचालन गरिनेछ । विद्यार्थीहरुको जिज्ञासा, समस्या सिधै प्रमुख समक्ष पु¥याउन र तत्काल र दीर्घकालीन रुपमा समाधान गर्न नीति निर्माणमा सहयोग पुग्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको शिक्षा समितिका प्रुमख वडा अध्यक्ष विष्णु धितालले बताउनु भयो । बालबालिकाहरुको सामाजिक विषय अध्ययनका लागि उक्त कार्यक्रमले सहयोग पुग्ने धितालले बताउनु भयो । नगरपालिकाले गरिब, जेहेन्दार, सीमान्तकृत समुदायका बालबालिकाहरुका लागि छात्रबृत्ति प्रदान गरेको छ भने साझेदारीमा सहज पहुँचका लागि प्राविधिक शिक्षामा कोटा ब्यवस्थापन गरेको छ । बहुकक्षा, बहुस्तर प्रणाली लागु भएको छ । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले विद्यालयको बस्तु स्थितिका बारेमा जानकारी गराउँदै बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनु भएको थियो । विद्यालयमा पूर्व प्राथमिक तह देखि १२ कक्षा सम्म ८ सय ९२ विद्यार्थी अध्ययनरत छन् । सुरक्षित भवन र कक्षा कोठा भए पनि जनशक्ति अभावका कारण १ सय ६० जना विद्यार्थीहरुलाई भर्ना गर्न नसकिएको प्रधानाध्यापक ढकालले बताउनु भयो । सिभिल इन्जिनियरिङ्ग, विज्ञान, शिक्षा लगायतका संकायहरुमा अध्यापन हुने विद्यालयमा बनेपा क्षेत्रबाट मात्रै २ सय भन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् । सदरमुकाम धुलिखेलमा २ घण्टा पैदल पछि मात्रै विद्यालय आउनु पर्ने समस्या भएको भन्दै प्रधानाध्यापकले यातायातको ब्यवस्थापन गर्न अनुरोध गर्नु भएको थियो । अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्यापन हुने विद्यालयमा शैक्षिक गुणस्तरका लागि कुनै कसुर बाँकी नराख्ने प्रअ ढकालले बताउनु भयो । खेलकुद मैदान, तालिम हल, जनशक्तिको ब्यवस्थापन, यातायातको साधन लगायतका समस्या हल गर्न नसके राष्ट्रकै नमुना विद्यालय बनाउन सकिने उहाँले बताउनु भयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख माधव शर्मा, वडा अध्यक्ष रोमीप्रसाद ब्याञ्जु, विष्णु धिताल, प्रधानाध्यापक लोकेन्द्र ढकाल लगायतले कार्यक्रमको महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।





