2026 April 30/ 07:57: 37pm

स्थानीय तह सक्रिय
मोतीराम तिमल्सिना
धुलिखेल

    पर्यटन वर्ष २०२० लाई भब्य रुपमा सम्पन्न गर्ने गरी जिल्लामा तयारी शुरु भएको छ । मुल समिति गठन भएको लामो समय पछि सचिवालय समिति लगायतका अन्य उप–समितिहरु गठन गरी तयारी थालेको छ । जिल्लामा रहेका १३ वटा स्थानीय तहहरुले समिति गठन गरी तयारी शुरु गरेको बताएका छन् । 
    जिल्ला स्तरीय समितिले पर्यटन वर्षको पहिलो दिन जनवरी १ का दिन धुलिखेल नगरपालिकासँगको समन्वयमा धुलिखेलमा ¥याली, झाँकी सहितको प्रभातफेरीको आयोजना गर्ने, पर्यटकहरुलाई स्वागत गर्ने, सबै होटलहरुमा आउने पाहुनाहरुलाई सम्बन्धित होटलहरुले बिशेष स्वागत गर्ने निर्णय गरेको छ । भुम्लु गाउँपालिकाको समन्वय तथा स्थानीय संघसंस्थासँगको सहयोगमा दोलालघाट देखि खहरेघाटसम्म जनवरी पहिलो हप्ता ¥याफ्टिङ आयोजना गर्ने निर्णय भएको छ । बेथानचोक गाउँपालिका तथा स्थानीय संघ संस्थाको समन्वयमा ढुंखर्क बेथानचोक नारायणस्थानमा जनवरी १० अर्थात पौष २५ गते पदयात्रा आयोजना गर्ने निर्णय गरेको छ । तेमाल गाउँपालिका तथा स्थानीय संघसंस्थाको समन्वयमा तेमाल पदयात्रा तथा तामाङ सांस्कृतिक सम्पदा अवलोकन कार्यक्रम १७ जनवरी,३ माघ शुक्रबार आयोजना गर्ने निर्णय भएको छ । नमोबुद्ध नगरपालिका तथा स्थानीय संघसंस्थाको समन्वयमा धुलिखेल नमोबुद्ध पदयात्रा तथा प्राकृतिक सम्पदा दृश्यावलोकन कार्यक्रम आयोजना २४ जनवरी, १० माघ शुक्रबार गर्ने गर्ने निर्णय भएको छ । 
पनौती नगरपालिकाको समन्वयमा पनौती ९ मा निर्मित सामुदायिक होमस्टेको समुद्घाटन तथा अवलोकन गर्ने, बनेपा नगरपालिका र स्थानीय संघसंस्थाको समन्वयमा वासुकी नमूना पर्यटन गन्तब्यको ट्रेकिङ ट्रेल तथा ¥याम्प निर्माण कार्यको ३१ जनवरी, १७ माघ, शुक्रबार शिलान्यास गर्ने निर्णय भएको छ । अन्य थप कार्यक्रमहरु जिल्ला स्तरीय समिति एवम कार्य सम्पादन समितिले तयार गरी अगाडि बढाउने निर्णय गरेको समन्वय समिति प्रमुख उद्धव केसीले बताउनु भयो । बैठकले नेपाल भ्रमण बर्ष जिल्लास्तरीय समितिको सचिवालय गठन, नेपाल भ्रमण बर्ष जिल्लास्तरीय प्रचार प्रसार समिति गठन, नेपाल भ्रमण बर्षको सचिवालयको कार्यालय ब्यवस्थापन, नेपाल भ्रमण बर्षको कार्ययोजना तयारी, नेपाल भ्रमण बर्षको शुभारम्भ सम्बन्धी कार्यक्रम, कार्ययोजना एवम् जिम्मेवारी लगायतका विषयमा छलफल गरेको थियो ।  नेपाल सरकारबाट सन् २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउन भएको निर्णय र परिपत्र अनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाल भ्रमण बर्ष, २०२० लाई भब्यताका साथ सम्पन्न गर्न सहयोग पु¥याउने र जिल्लास्तरमा विविध पर्यटन गतिविधिहरुलाई ब्यवस्थित रुपमा अगाडि बढाउन जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सी.को संयोजकत्वमा नेपाल भ्रमण बर्ष जिल्ला स्तरीय समितिको १५ सदस्यीय सचिवालय गठन गर्ने निर्णय भएको छ । समितिमा प्रेम लामा, जिसस सदस्य (उद्योग, बाणिज्य तथा पर्यटन), प्रमुख, मण्डनदेउपुर नगरपालिका, अध्यक्ष, भुम्लु गाउँपालिका,  डिभिजन प्रमुख, डिभिजन वन कार्यालय, प्रमुख, जिल्ला प्रहरी कार्यालय, प्रमुख सेनानी, बिष्णुदल गण, प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय, अध्यक्ष, नेपाल पत्रकार महासंघ, काभ्रे शाखा अध्यक्ष, क्षेत्रीय होटल संघ, धुलिखेल, अध्यक्ष, होमस्टे एशोसिएसन अफ नेपाल, अध्यक्ष, गैसस महासंघ, काभ्रे शाखा, अध्यक्ष, काभ्रे उद्योग बाणिज्य संघ र जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समिति सदस्य सचिव रहेका छन् । 
त्यस्तै जिल्ला स्तरीय प्रचार प्रसार उपसमितिका लागि नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाको संयोजकत्वमा समिति गठन भएको छ । प्रचार प्रसार समितिमा अध्यक्ष, प्रेस संगठन नेपाल, अध्यक्ष, प्रेस युनियन काभ्रे, जनजाति पत्रकार महासंघ, तामाङ पत्रकार समूह, कृयाशिल महिला पत्रकार समूह, अध्यक्ष, पर्यटन पत्रकार समाज काभ्रे, अध्यक्ष, फोटो पत्रकार महासंघ काभ्रे, जिल्लामा कृयाशील पत्रपत्रिका, एफ.एम रेडियो र अनलाइन पत्रिका तथा कृयाशिल संचारकर्मीहरु रहने निर्णय भएको छ । नेपाल भ्रमण बर्ष, २०२० लाई भब्यताका साथ उपलब्धिमूलक रुपमा सम्पन्न गर्न जिल्लाका सबै स्थानीय तहहरुमा स्थानीयस्तरका सरोकारवालाहरु सम्मिलित पालिकास्तरीय सहजीकरण तथा आयोजक समितिसँग नियमित समन्वय सहजीकरण गर्ने, जिल्लास्थित सबै पालिका एवम् पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुसँगको समन्वयमा पर्यटन बर्ष, २०२० का सन्दर्भमा एक बर्षिय जिल्ला स्तरीय कार्ययोजना तयार गरी सोही बमोजिम कृयाकलापहरु अगाडि बढाउने, जिल्लाका सबै पर्यटन गन्तब्य, टुरिजम प्रोडक्टहरु समेटी एकबर्षको कृयाकलापहरुसहितको बार्षिक क्यालेण्डर तयार गर्ने र सोही बमोजिम सबै सरोकारवालाहरुको सहयोग र समन्वयमा कार्यक्रमहरु संचालन गर्ने, पर्यटन बर्षसँग सम्बन्धित गतिबिधिहरुको समन्वय र सहजीकरणका लागि जिल्ला समन्वय समितिको कार्यालयमा एक पर्यटन डेस्क स्थापना गर्ने र सो को फोकल पर्सन (सम्पर्क ब्यक्ति) को जिम्मेवारी तोक्ने, जिल्लास्तरीय समिति र जिल्लास्थित पर्यटन सरोकारवालाहरुको सहभागितामा एक अभिमुखीकरण तथा अन्तरकृयात्मक कार्यशाला गोष्ठीको आयोजना गर्ने, नेपाल पर्यटन बर्ष २०२० को शुभारम्भका लागि सम्बन्धित सबै सरोकारवाला निकाय संघ संस्थाहरुलाई आ आफ्नो स्थानमा बिशेष कार्यक्रमहरु आयोजना गरी सोको जानकारी जिल्ला सचिवालयलाई गराउन अनुरोध गर्ने र जिल्ला सचिवालयको समन्वय र अन्य सरोकारवालाहरुको सहयोगमा विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको छ । यसअघि भेलाले नेपाल भ्रमण वर्षका लागि १ सय ५१ मुल समारोह समिति गठन गरेको थियो । 

धुलिखेलको ‘विशेष तयारी’
भ्रमण वर्ष २०२० मनाउन गठन भएको जिल्ला स्तरीय, नगर स्तरीय र गाउँपालिका स्तरीय समितिहरुले तयारी थालेका छन् । जिल्ला समन्वय समिति, १३ वटै स्थानीय तह, विभिन्न संघ संस्थाहरुले नेपाल भ्रमण वर्षको तयारीमा जुटेको बताएका छन् । ‘एक्सन प्लान सहितको जिम्मेवारी बाँडफाँड गरेर नेपाल भ्रमण वर्ष मनाउने गरी कार्यक्रम र पूर्वाधार निर्माण गरिरहेका छौं’–धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘प्रत्येक महिना ठुला–ठुला कार्यक्रम हुनेछन् भने हप्ताको तीन दिन शुक्रबार, शनिबार र आईतबार साँझ स्थानीय संस्कृति सहितको सांस्कृतिक कार्यक्रमका साथ फुड फेस्टिबल आयोजना हुनेछ ।’ धुलिखेल नगर क्षेत्र भित्र पर्ने अरनिको र विपी राजमार्गमा १० वटा पार्क प्रतिक्षालय, शौचालय सहितको निर्माण हुँदैछ । १२ वटै वडामा पर्यटकिय पार्कहरु निर्माण भईरहेका छन् । पर्यटक सूचना बोर्ड, नियमित सरसफाई, पर्यटकहरुलाई स्वागत, कोसेली घरलाई अझै समृद्ध बनाउने, साहित्यकुञ्ज सहितका पार्क, मनोरेल, जीपलाईन जस्ता महत्वपूर्ण कार्य भईरहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । इको ट्रेल, धुलिखेलमा निर्माण भएका र हुँदै गरेका होटलहरुमा आउने पर्यटकहरुलाई सहयोग पुग्ने खालका कार्यक्रमहरुका लागि डेढ करोड रकम विनियोजन गरिएको छ भने पूर्वाधार निर्माणका लागि ५÷६ करोड रकम विनियोजन भएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । कार्यक्रममा पर्यटन ब्यवसायी ज्योत्सना सैजु, मनिष यगोल लगायतले धुलिखेलमा पर्यटकहरुको बसाई लम्याउन नगरपालिकाले ल्याएका कार्यक्रमहरुमा साझेदारी बन्ने बताउनु भएको थियो । 
बेथान्चोक गाउँपालिकाले नेपाल भ्रमण वर्षको अवसर पारी एकै दिन जिल्लाको अग्लो स्थान बेथान्चोक नारायणस्थानमा २ हजार पर्यटक एकै दिन पदयात्रा गराउने भएको छ । अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले त्यसका लागि पालिका र वडा स्तरीय समितिहरु गठन भई आवश्यक तयारी शुरु गरिएको बताउनु भयो । बेथान्चोकमा उत्पादन हुने आर्गानिक खुवा, तरकारी लगायतका अन्य बस्तुहरुको उत्पादनसँगै विक्री वितरण गर्ने गरी पर्यटकहरुको रोजाई र आर्कषक बनाउन कार्य गरिरहेको बताउनु भयो । मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले नगरकोटमा आएका पर्यटकहरुलाई इन्द्रावती खोलामा पौडी खेल्न आउने र सुनकोशीको माछा खाने वातावरण बनाउन विभिन्न योजना तयार पारिएको बताउनु भयो । मण्डनदेउपुरका विभिन्न स्थानबाट नगरकोटसम्म हाईकिङ्ग गर्ने तथा नगरकोटका आसपासका नगरपालिकाहरुसँग बसेर थप कार्यक्रम तयार गर्ने प्रमुख टोकबहादुर वाईवाले बताउनु भयो ।