2026 October 04/ 04:03: 46am

बनेपा/श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला समिति काभ्रेको आयोजनामा बनेपाको कृष्ण मन्दिरमा चिन्तारहित जीवन जिउने असल तरिका र उत्प्रेरणामुलक प्रशिक्षण एवं भाषण कला शिविर श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रिय उपाध्यक्ष कौशल फुँयालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शिविरमा समाज सेवी प्रशिक्षक सुमित्रा चौलागाईं (सुमी मानव) ले जीवन कसरी जीउने, जीवन के हो, हामीले आफ्नो जीवनलाई कस्तो बनाउने, अहिले मानिसहरुमा संस्कार, सहयोगी, मानवताको भावना हराउदै गएकाले त्यसतर्फ सबैले सोच्नुपर्ने जस्ता प्रेरणात्मक सन्देश प्रदान गर्नु भएको थियो । 
कार्यक्रममा युवा जागरण प्रशिक्षक केन्द्रीय प्रशिक्षिण विभाग प्रमुख नवराज ढकालले युवाहरुमा विस्तारै सहयोगीको भावना बढ्दै गएको बताउनु भयो । युवाहरुले नै समाज परिर्वतन गर्ने भएकाले सबै युवाहरु सहि मार्गमा लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा युवा परिषद्का अध्यक्ष तथा कार्यक्रममा सभापति उद्धब तिमल्सिनाले युवा परिषद्ले सबै धर्मलाई समान, सबै मन्दिरमा बलि मुक्त बनाउनका लागि निरन्तर लागि रहेको बताउनु भयो । परिषद्ले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको तिमल्सिनाले बताउनु भयो । 
कार्यक्रममा केन्द्रीय धाम नवतधाम गादिपति सन्त १०८ अमृतराज जि महाराज, केन्द्रीय सदस्यहरु भिम बगाले, दिपक कार्की, बालहरी थापा, मोहन मुकुन्द हुमागाई, युवा परिषद् नेपालका निवर्तमान केन्द्रीय महासचिव सुमन पुडासैनी, ललितपुर युवा परिषद् अध्यक्ष कृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन परिषद्का सचिव प्राणनाथ सापकोटाले सञ्चालन गर्नु भएको थियो । शिविरमा जेष्ठ नागरिकहरु, स्थानीयवासीहरु सहभागी रहनु भएको थियो ।