2026 October 17/ 05:09: 17am

मोतीराम तिमल्सिना
धुलिखेल

    दशैको लामो विदा तथा अन्य समयमा हुने छोटो विदाहरुमा पनि उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकका विभिन्न स्थानका पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न सकिनेछ । विशेषगरी दशै विदामा छोटो र लामो दुरीका स्थानमा घुम्न जान सकिने र दृश्यावलोकन गर्न सकिनेछ । मौसम पनि सुुध्रँदै गएकाले सडक यातायातको पनि सहजता भएकाले उपत्यकाको बैकल्पिक जिल्ला काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा जान सकिनेछ । 
    रमणीय प्राकृतिक सम्पदा हिमाली श्रृंखला, मनमोहक दृश्यहरु, नदीनाला, ताल तलैया, वन्यजन्तु, वनस्पतिहरुको भू–दृश्यको अवलोकन गर्न पर्यटक आउने होटल संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेलले बताए । मानव निर्मित ऐतिहासिक तथा आधुनिक महत्वका स्थान एवम् प्रोडक्टहरु बौद्ध बिहार, मठ मन्दिरहरु, पुराना गुम्बा गढीहरु र धार्मिक तिर्थस्थलहरु, साहसिक खेलहरुको अवलोकन तथा उपयोग तथा बिभिन्न जातजातिहरुको धर्म, संस्कृति, आहार विहार, रितीरिवाज, परम्परा, संस्कारहरुको अवलोकन र अनुसन्धान गर्न पर्यटक आउने गरेका छन् । 
    भौगोलिक, साँस्कृतिक, जैविक बिविधतायुक्त, ऐतिहासिक एवं पुरातात्विक सम्पदाहरुले भरिपूर्ण, २८० मिटरमा रहेको कोखाजोर खोला देखि ३०१८ मिटर उचाइको बेथानचोक नाराणस्थान सम्म रहेको प्रचुर पर्यटकीय सम्भाब्यता बोकेको क्षेत्र धुलिखेल, बनेपा, साँगा, पनौती, बल्थली, नगरकोट, पलाञ्चोक भगवती, दोलालघाट, नमोबुद्ध, लगायतका चिरपरिचित पर्यटकीय गन्तब्यहरु रहेको होटल संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेलले बताए । 

जिल्लामा के छन् ?
    राजधानीसँगको निकटता र सहज पहुँच, भौगोलिक एवम् साँस्कृतिक बिबिधता, दुईवटा महत्वपूर्ण राजमार्गहरु (तिब्बत तथा तराई हुँदै भारत), काठमाण्डौ बिश्वविद्यालय, धुलिखेल अस्पताल जस्ता स्थापित संघसंस्थाहरु, प्रतिरक्षा विश्वविद्यालय, थप २ बिश्वविद्यालय प्रस्तावित गरिएका छन् । पूर्बाधारहरुको उपलब्धता छ । यातायात, होटल, संचारको पहुँच छ । साविकको आईटी पार्क निर्माण भएको क्षेत्रमा लाईसेन्स छाप्न शुरु गरिएको छ । सुरक्षण मुद्रण प्रेसबाट नोट समेत छाप्ने गरी तयारी गरिएको छ । 
    स्थानीय सरकारहरुको प्राथमिकता एवम् प्रतिबद्धता, गैर सरकारी एवम् निजी क्षेत्रको कृयाशीलता स्थानीय बजारको माग अनुरुपको स्थानीय उत्पादन छ । ह्वाइट वाटर र्याफ्टीङ्ग (दोलालघाट–दुम्जा–चतरा राफ्टीङ्ग रुट), पाराग्लाइडिङ धुलिखेल, कुशादेवी, चण्डेनी (टेस्ट फ्लाइङ समेत भैसकेको), ग्रामीण संस्कृति र परम्पराजन्य रहनसहन, आश्रमहरु (मेडिटेसन सेन्टर), चराचुरुङ्गी पार्क तथा कलेक्सन सेन्टर नगरकोट, सिपाघाट र पनौती वडा नम्वर २ मा रहेका छन् । महाभारत पर्वतीय श्रृंखला जहाँ सात किसिमका गुराँस पाइन्छन् । 
    थप सम्भाब्यताहरु रहेका क्षेत्र माछा पालन केन्द्र, जहाँ प्रत्यक्ष माछा निकाल्दै पकाउँदै विभिन्न परिकार बनाउन सकिन्छ । रक क्लाईङबिङ कुईभिर, रानीपहाडमा निर्माण भएको छ । इकोटुरिजम गोसाइस्थान, चौवास, नागीडाँडा, शारदादेवीस्थान, नयाँगाउँ ठूलोचौर लगायतका स्थानमा छ । कृत्रिम जलासय (देवीटार) रहेका छन् । 
    धुलिखेलमा ८८, बनेपामा १५, पनौती, बल्थली र कुशादेवीमा ७, नमोबुद्धमा ६, पलाञ्चोकमा ३, दोलालघाटमा ७ र नगरकोटमा ६३ वटा गरी काभ्रेपलाञ्चोक जिल्लामा १ सय ८९ वटा होटल संचालनमा छन् । धुलिखेलमा मात्रै १३ सय ५० वटा कोठामा २८ सय ५० वटा बेड छन् । २५ अर्ब लगानी छ । १५ अर्ब बैकको ऋण छ । १ अर्ब बार्षिक ब्याज बुझाउने गरेका छन् । जिल्लाका १३ सय ब्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्ला बाहिरका एक हजार ४० जना छन् । यसको अलावा दशै विदामा घुम्ने, अध्ययन गर्ने तथा नयाँ कार्यको थालनी समेत गरेर मनाउन सकिनेछ । 

धुलिखेका होटलमा ‘दशैं’ अफर
    नेपालीहरूको महान् पर्व बडादशैंलाई लक्षित गर्दै धुलिखेलमा रहेका होटल तथा रेस्टुरेन्टहरुमा विशेष दशैं फेस्टिभल प्याकेज सार्वजनिक भएको छ । दशैंको अवसरमा परिवार तथा जोडीका लागि आरामदायी बसाइँसँगै खानपान, यातायात र मनोरञ्जनका सुविधा समेटिएको प्याकेज ल्याएका हुन् । 
    धुलिखेल लज रिसोर्टले प्याकेजअन्तर्गत आरामदायी स्टे, डिनर तथा ब्रेकफास्ट, कम्प्लिमेन्टरी यातायात र स्वीमिङ पुलको पहुँच उपलब्ध गराउनेछ । दशैंको समयमा परिवार तथा आफन्तसँग रमाइलो वातावरणमा केही समय बिताउन चाहनेहरूलाई लक्षित गरी प्याकेज तयार गरिएको रिसोर्टले जनाएको छ । प्याकेजअन्तर्गत ट्रिपल सेयरिङतर्फ प्रतिव्यक्ति ३,९९९ रुपैयाँ तथा डबल अकुपेन्सीतर्फ प्रतिजोडी ८,९९९ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
    रिसोर्टले सार्वजनिक गरेको प्याकेज २०२६ अक्टोबर ११ देखि नोभेम्बर १३ सम्म लागू हुनेछ । धुलिखेलको प्राकृतिक सौन्दर्य तथा मनोरम दृश्यको आनन्द लिँदै दशैंलाई विशेष बनाउन चाहनेहरूका लागि यो प्याकेज उपयुक्त हुने रिसोर्टको अपेक्षा छ । ‘आफ्ना मान्छेसँग, सुन्दर भ्युजसँगै यो दशैंलाई अझै विशेष बनाऔँ’ भन्ने सन्देशसहित रिसोर्टले ग्राहकलाई दशैंको बिदालाई आरामदायी गेटअवेका रूपमा उपयोग गर्न आग्रह गरेको छ । प्याकेज तथा बुकिङसम्बन्धी थप जानकारीका लागि रिसोर्टको वेभसाइटमा थप जानकारी उपलब्ध रहेको बताईएको छ । 
    धुलिखेल लज रिसोर्ट सहित अन्य होटलहरुले पनि दशैको अफर निकालेका छन् । सारथी, दृश्य, होराईजन, माउन्ट प्रिन्सेस, आगन्तुक, धुलिखेल भिलेज रिसोर्ट तथा अन्य विभिन्न होटलहरुले स्तर अनुसारको छुट र सहुलियतको ब्यवस्था गरेका छन् ।