विश्व पर्यटन दिवसको अवसर पारी धुलिखेलमा सरोकारवालाहरुसँग उद्योग, बाणिज्य तथा पर्यटन कार्यालयले अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता तथा कार्यालयका प्रमुख रविन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल ब्यवसायी संघका अध्यक्ष प्रल्हाद प्याकुरेलले समग्र काभ्रेपलाञ्चोक जिल्लाको पर्यटन क्षेत्रको अवस्था, सम्भावना र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । काभ्रेपलाञ्चोक जिल्लाको भौगोलिक, सामाजिक, आर्थिक, पर्यटकीय मार्ग, क्षेत्र तथा होटल ब्यवसायहरुको अवस्था र क्षमताका बारेमा चर्चा गरिएको थियो । पर्यटन क्षेत्रको गुणस्तर कायम गर्न र पर्यटकहरुको बसाई लम्ब्याउन आवश्यक पर्ने पुर्वाधार र अवस्थाका बारेमा छलफल गरिएको थियो ।
पहिलो पटक प्रदेश सरकारको तर्फबाट उद्योग कार्यालयलाई थप पर्यटन हेर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ । पहिलो पटक उद्योग तथा बाणिज्य कार्यालयले नाम फेरिए पछिको जिम्मेवारी अनुसारको कार्यक्रम आयोजना गरेको कार्यालय प्रमुख रविन घिमिरेले बताए । जिल्लाको पर्यटन क्षेत्रलाई अझै ब्यवस्थित बनाउन र पर्यटन क्षेत्रलाई थप गुणस्तरीय बनाउन आवश्यक सरकारी निकायहरुले खेल्ने भूमिका र समन्वयका लागि कार्य गर्ने बताए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जिल्लाको पर्यटकीय क्षेत्रको प्रचारका लागि आवश्यक समन्वय गर्ने बताए । धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले धुलिखेल उपत्यकाकाको नजिक तर पर्यटकिय क्षेत्रमा शशक्त बन्दै गएको शहर भएकाले त्यसको ब्यवस्थित योजना निर्माणका लागि आवश्यक गरिरहेको बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, होटल ब्यवसायी मनिष यगोल श्रेष्ठ, धुलिखेल उद्योग बाणिज्य संघका महासचिव अनन्तकृष्ण श्रेष्ठ लगायतले काभ्रेपलाञ्चोक जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक कार्यहरु गर्न सुझाव दिएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम रविन्द्र चौलागाईले संचालन गरेका थिए ।









