नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा सफल अवतरण भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको जानकारी दिएको हो ।
जापानमा विद्यावारिधि गरिरहेका नेपाली बैज्ञानिकद्वय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको नेपाली स्याटेलाइट वान गत वैशाख ५ गते नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो ।
सो स्याटलाइट ३६ घण्टा ४० मिनेटपछि वैशाख ६ गते नेपाली समयअनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले जानकारी दिए । अबको करिव डेढ महिनापछि सो नेपाली स्याटलाइटले अन्तरीक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ ।
नाष्टले सो नेपाली स्याटलाइट अन्तरीक्षमा प्रक्षेपणका लागि करिव २ करोड रुपैयाँ लाग्ने अनुमान पनि गरेको छ । नाष्टका प्रवक्ता ढुंगेलले उक्त रकम अर्थ मन्त्रालयबाट प्राप्त भइसकेको पनि जानकारी दिए । विपद् व्यवस्थापन, ग्रामीण भेगमा सूचना प्रविधिको विकासका समेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाएको हो ।