यो पीडा एक व्यक्तिको मात्र होइन, यो हाम्रो समाजको मौन पीडा हो । लागुऔषध भन्ने शब्द सुन्नासाथ धेरैको मनमा अपराध, अराजकता र नैतिक पतनको तस्बिर आउँछ । तर त्यस शब्दको भित्री तहमा लुकेका छन् । सपना, चुँडिएका सम्बन्ध, राज्यको बेवास्ता र समयमै नसुनिएको एउटा पीडा यही घटनाहरुको मिश्रण हो भोगाई सहितको कथा । किन लागुऔषधमा फस्यो एउटा मान्छे, के–के मोड आए र आज अवस्था कहाँ आइपुगेको छ ? सुन्न, बुझ्न र त्यहाँबाट उक्त ब्यक्तिलाई निकाल्न समाज प्रयत्न गर्छ ? बरु उल्टै उसलाई अपराधीको संज्ञा दिदै जेल भित्र राख्छ । प्रशासन पक्राउ गरिएकोमा ठुलो श्वास फेर्छ । केहि वर्ष जेल बस्छ अनि उहि कथा दोहोरिन्छ ।
बाल्यकाल, पारिवारिक पृष्ठभूमि, सामाजिक–आर्थिक अवस्था, पहिलो सम्पर्क, लतको विकास, अपराध र पीडा, स्वास्थ्य अवस्था, सुधार गृह, समाजको दृष्टि र अन्त्यमा आशा वा प्रश्नचिन्ह । म जन्मिएको घर माटोको थियो । भित्तामा चिरा, छानामा टिन, तर आँगनमा आमाको विश्वास थियो । बुबा वैदेशिक रोजगारीमा जानुभएको वर्ष म सात वर्षको थिएँ । गाउँका धेरै घरझैँ हाम्रो घर पनि ‘रकम आउँछ’ भन्ने आशामा बाँचेको थियो । तर रकमसँगै समय आएन, माया आएन र मार्गदर्शन पनि आएन । विद्यालयमा म औसत विद्यार्थी थिएँ । शिक्षकहरू भन्थे, ‘केटामा बुझ्ने शक्ति छ, तर ध्यान छैन ।’ त्यो ध्यान नहुनुको कारण पछि बुझ्दै गएँ । घरमा सुन्ने कोही थिएन । आमा दिनभर खेतबारीको काममा म साथीहरूसँग ।
एसएलसीपछि म काठमाडौँ आएँ । गाउँबाट शहर आउनु सपनाजस्तै लाग्थ्यो । तर शहरले मलाई स्वागत होइन, परीक्षा दियो । सानो कोठा, ठूलो सपना र झुटो स्वतन्त्रता । यही स्वतन्त्रताको नाममा मैले पहिलोपटक चुरोट अर्थात् सिगरेट समातेँ । साथीले भन्यो यो त साधारण हो, सबैले खान्छन् । त्यही ‘सबै’ शब्द मेरो जीवनको सबैभन्दा खतरनाक शब्द बन्यो । सिगरेटपछि रक्सी, रक्सीपछि चरेस । सुरुमा लत थिएन, जिज्ञासा थियो । म आफैँलाई सम्झाउँथेँ । म नियन्त्रणमा छु । तर तथ्यांक भन्छ लागुऔषध प्रयोग गर्ने १० मध्ये ७ जनाले आफूलाई सुरुमै नियन्त्रणमा भएको ठान्छन् । म पनि त्यही ७ भित्र थिएँ । दिनहरू छोटा हुन थाले, रातहरू लामो । पैसा सकिन थाल्यो, झूट बढ्न थाल्यो । आमासँग फोन गर्दा आवाज काँप्थ्यो । बुबासँग कुरा हुन छाड्यो । म विस्तारै समाजबाट होइन, आफैँबाट टाढिँदै थिएँ ।
शरीर काँप्थ्यो, हात पसिना । लागुऔषध नपाएसम्म दिमाग काम गर्दैनथ्यो । यो कुनै ‘बानी’ थिएन, यो रोग थियो । स्वास्थ्यकर्मीहरू भन्छन् लागुऔषध लत मस्तिष्कसँग जोडिएको दीर्घरोग हो, अपराध होइन । एकदिन म पक्राउ परेँ । झोलामा सानो मात्रामा ब्राउन सुगर थियो । थानामा बसेर मैले पहिलोपटक आफैँलाई घृणा गरेँ । आमाको अनुहार आँखा अगाडि आयो । म रोएँ, तर त्यो रोदन ढिलो भइसकेको थियो । अदालतको आदेशले म पुनस्र्थापना केन्द्र पुगेँ । सुरुका दिन नर्कजस्तै थिए । शरीर दुखाई, मानसिक युद्ध । तर त्यहीँ मैले पहिलोपटक सुनेँ तिमी खराब मान्छे होइनौ, बिरामी हौ । परामर्शदाता दाईले भने लतले तिमीलाई होइन, तिमीले लतलाई चिन । त्यो वाक्यले मलाई हल्लायो ।
छ महिना लामो उपचारपछि म फेरि हिँड्न सिकेँ । शाब्दिक होइन, जीवनमा । ध्यान, परामर्श, परिवारसँग पुनर्मिलन । आमाले मलाई अँगालो हाल्दा म पहिलोपटक सुरक्षित महसुस गरेँ । आज म स्वयंसेवक हुँ त्यही सुधार गृहमा । नयाँ आउने युवाहरूलाई म मेरो कथा सुनाउँछु । पत्रकारहरू आउँदा म लुक्दिनँ । किनकि मेरो कथा लाज होइन, चेतावनी हो । यो प्रश्न थिएन । जिम्मेवारी थियो । लागुऔषधमा किन फस्यो ? किनकि म सुन्ने वातावरणबाट टाढा थिएँ । के अवस्था छ ? म बाँचिरहेको छु सचेत, जिम्मेवार । यो कथा मेरो मात्र होइन । यो राज्य, समाज र परिवार सबैको ऐना हो । यदि समयमै सुन्न सक्यौँ भने, अझै धेरै जीवन बच्न सक्छन् ।
सुधार गृहबाट बाहिर निस्कँदा लाग्थ्यो अब सबथोक सहज हुन्छ । तर वास्तविक परीक्षा त्यहीँबाट सुरु भयो । छिमेकीको नजर, आफन्तको मौन र रोजगारदाताको अविश्वास । पूर्व लागुऔषध प्रयोगकर्ता भन्ने ट्याग मेरो नामभन्दा अगाडि हिँड्थ्यो । पत्रकारका रूपमा एकपटक म स्वयं समाचार बनेँ । शीर्षक थियो लागु औषधबाट मुक्त एक युवकको संघर्ष । त्यो शीर्षकले मलाई चिनायो, तर पूर्ण रूपमा स्वीकार गराएन । सुधार गृहको ढोका बाहिरबाट साधारण देखिन्थ्यो । पर्खाल, फलामे गेट, भित्र सानो बगैँचा । तर त्यो गेटभित्र पस्नेबित्तिकै समयको अर्थ बदलिन्थ्यो । पहिलो हप्ता मलाई दिन र रात छुट्याउनै गाह्रो भयो । शरीर काँप्थ्यो, पेट पोल्थ्यो, दिमागले पुराना सम्झनाहरू बलजफ्ती ल्याइदिन्थ्यो । त्यहाँ हामी तीस जना थियौँ । सबै फरक उमेर, फरक कथा, तर एउटै लत । बिहान पाँच बजे उठ्नुपथ्र्यो । प्रार्थना, ध्यान, सरसफाई, समूह परामर्श सबै कुरा तालिकामा बाँधिएको थियो । सुरुमा मलाई यो जेलजस्तै लाग्थ्यो । तर बिस्तारै बुझ्दै गइयो अनुशासन दण्ड होइन, औषधि रहेछ । सबैभन्दा कठिन घडी रातको थियो । बत्ती निभेपछि मन अँध्यारो हुन्थ्यो । कोही चुपचाप रुन्थे, कोही कराउँथे । म तकियामुनि हात हालेर आफूलाई सम्झाउँथे आज सकियो भने भालि सजिलो हुन्छ ।
तेस्रो महिनामा पुगेपछि शरीर स्थिर भयो, तर मनमा नयाँ युद्ध सुरु भयो रिल्याक्सको डर । परामर्शदाताले भन्थे लतको स्मृति कहिल्यै मर्दैन, त्यसलाई व्यवस्थापन गर्न सिक्नुपर्छ । एकदिन बाहिरबाट आएको गन्ध साधारण सिगरेटको थियो । त्यसले मलाई हल्लायो । मुटुको धड्कन बढ्यो, हातभर पसिना बग्न थाल्यो । त्यो क्षण मैले बुझें म निको भएको होइन, अभ्यास गरिरहेको छु । सुधार गृहले मलाई अरूका जीवन पढ्न सिकायो । रमेश दाई, जसले १५ वर्ष लतमा बिताएका थिए । सरिता, जसलाई परिवारले त्यागेको थियो । उनीहरूका कथा सुन्दा म आफ्नो कथा हलुका महसुस गर्न थालेँ दुःख तुलना गर्न होइन, साझा गर्न थाले । त्यही साझा पीडाले हामीलाई बलियो बनायो ।
परामर्श सत्रमा एकदिन तथ्य प्रस्तुत गरियो । नेपालमा लागुऔषध प्रयोगकर्ता मध्ये अधिकांश १८–३५ वर्षका छन् र उनीहरूमध्ये धेरैले पहिलो प्रयोग साथीको दबाबमा गरेका छन् । यो तथ्य सुन्दा म आफ्नै जीवनको सारांश सुन्दै थिएँ । त्यतिखेर मैले निर्णय गरेँ यदि बाँचें भने, तथ्य र कथालाई जोडेर बोल्नेछु । सुधार गृहबाट बाहिर निस्कँदा लाग्थ्यो हावाको गन्ध फरक छ । तर त्यो स्वतन्त्रताको हावासँगै जिम्मेवारीको तौल पनि थियो । सडकका चिया पसल, पुराना गल्ली, साथीहरूको हाँसो—सबैले स्मृतिको ढोका ढकढक्याउँथे । म सिक्दै थिएँ टाढा रहने कला । काम खोज्नु आफैँमा कठिन थियो । सीप थियो, इच्छाशक्ति थियो, तर विगतको छायाँ पनि थियो । अन्ततः एउटा गैरसरकारी संस्थाले मलाई अवसर दियो सचेतना कार्यक्रममा फिल्ड को–अर्डिनेटरको । त्यहाँ मैले बुझेंअनुभव पनि सीप हुँदो रहेछ । मेरो विगत अब कमजोरी होइन, शक्ति बनिरहेको थियो ।
कागजमा ‘पूर्व लागुऔषध प्रयोगकर्ता’ लेखिएको देख्दा केही ढोका आफैँ बन्द हुन्थे । तर केही ढोका खुले मान्छेहरूले कथा सुन्न थाले । आत्मसम्मान पैसाले होइन, भरोसाले फर्किन्छ भन्ने पाठ मैले यहीं सिकेँ । घर फर्किंदा आँगन उही थियो, तर हामी फरक थियौँ । बुबा विदेशबाट फर्किनुभएको थियो । लामो मौनता पछि हामीले पहिलोपटक आँखा जुधाएर कुरा ग¥यौँ । दोषारोपण होइन, स्वीकारोक्ति । त्यो रात घर शान्त थियो । विद्यालय र कलेजमा म कथा सुनाउँछु । डर देखाएर होइन, सत्य राखेर । तथ्य भन्छु, तर मानिसको भाषामा । ‘एकपटक मात्र’ भन्ने भ्रम कसरी जालो बन्छ उदाहरण सहित । विद्यार्थीहरू प्रश्न गर्छन्, म लुक्दिनँ । मिडियामा समाचार आउँछन् । पक्राउ, बरामद, सजायँ । कमै आउँछन् उपचार, पुनस्र्थापना, रोकथाम । नीति कागजमा राम्रो देखिन्छ, तर पहुँच कमजोर छ । यदि स्वास्थ्य प्रणालीले लतलाई रोग मानेर सेवा विस्तार ग¥यो भने, जेलको भीड घट्न सक्छ ।
म पूर्ण सुरक्षित छैन म सतर्क छु । ट्रिगर चिन्ने, सहयोग माग्ने, दिनचर्या पालना गर्ने यी मेरा औषधि हुन् । असफलताबाट डराउने होइन, सिक्ने अभ्यास जारी छ । म आज एउटा प्रमाण हुँ । पुनस्र्थापना सम्भव छ । यो कथा कुनै अन्त्य होइन, अभ्यास हो । यदि समयमै सुन्ने, सम्हाल्ने र साथ दिने संस्कार बनायौँ भने अझ धेरै आँगन शान्त हुन सक्छन् । सबैभन्दा कठिन पुनस्र्थापना परिवारमै थियो । बुबा विदेशमै हुनुहुन्थ्यो । फोनमा पहिलोपटक मैले सबै कुरा खुलेर भनेँ । उता लामो सास आयो, अनि आवाज घर फर्क, अब हामी मिलेर लड्छौँ । आमाको आँखामा आँसु थियो, तर त्यो पीडाको होइन आशाको आँसु थियो । लागुऔषध विरुद्धको लडाइँ केवल कानुनले जित्दैन, सम्बन्धले जित्छ यो मेरो निष्कर्ष हो ।
उपचार केन्द्र सीमित छन्, पहुँच झन् सीमित । धेरै युवा जेल पुग्छन्, उपचार होइन । यदि नीति परिवर्तन भयो भने लतलाई अपराध होइन, स्वास्थ्य समस्याका रूपमा हेर्ने हो भनेकति जीवन बच्लान् ? यो प्रश्न मैले पत्रकारहरूलाई सोध्छु, नेताहरूलाई पनि । म पूर्ण हुँ भन्ने दाबी गर्दिनँ । लत कहिल्यै शून्य हुँदैन, सचेत रहिरहन्छ । तर म आज निर्णय गर्न सक्छु । यदि यो कथा पढ्ने कसैले आफूलाई यहाँ भेट्यो भने एक कदम अघि बढ्नुस् । सहयोग माग्नु कमजोरी होइन । किनकि म बाँचिरहेको छु त्यही प्रमाण हो कि पुनस्र्थापना सम्भव छ । पछिल्लो समय शहरी क्षेत्रमा अधिकांश युवा लतको विरामी पर्न थालेका छन् । त्यहि अभियोगमा प्रहरीले धेरै युवाहरुलाई पक्राउ गरिरहेको छ । ओसारपसार रोकिएको छैन । युवाहरुको यो अवस्थालाई दलालहरुले ब्यापार गरिरहेका छन् । ब्यापारी पक्राउ पर्दैनन् । भारतमा खुल्ला भएको नेपालमा रोक लगाईएको छ । त्यहि सेवन गर्दा धेरै फसिरहेका छन् । युवाहरुलाई सहि मार्गमा ल्याउन र कानूनलाई पनि पालना गर्न सरकार आफैले सुधार गृह संचालन गर्नु आवश्यक छ । तब मात्रै युवाहरु सुध्रन सक्छन् । हरेक घर भित्र डेरा जमाउन थालेको यो कुलत रोगलाई निर्मुल पार्न तपाई हामी र म सबै सक्रिय हुन आवश्यक छ । पल्लो घरमा सल्केको डढेलोले वल्लो घरमा पनि क्षति गराउँछ भन्ने हेक्का राज्य संचालकहरु सबैमा हुनु जरुरी छ ।
खडाबेशी ढुंगाना
हालः भक्तपुर





