जिल्लाको सुगम जस्तै लाग्ने तर दुर्गम र विकट । पहाडी भेग भएकै कारण बिहानको घाम अझै पूर्ण रूपमा फैलिन सकेको थिएन । खोल्साबाट उठ्ने हल्का हुस्सुले गाउँलाई चिसो बनाएको थियो । हुस्सु नहटेसम्म त्यहाँ तातोको अनुभुति हुँदैन थियो । महाभारत गाउँपालिका । बस्तीमा एक पुरानो काठे घरको भित्तामा झुण्डिएको घण्टी अझै बजेको थिएन । कुमारीमाया तामाङ भने बिहानैदेखि निन्द्राबाट छुट्टिइसकेकी थिइन् । गाउँघरमा उसै पनि चाँडो उठ्ने चलन हुन्छ । शहर राति जाग्छ । विहान सुत्छ । गाउँ सम्साँझ नै घर भित्र पस्छ । विहानको उज्यालोको परन फाट्दै उठिसकेको हुन्छ । त्यहि अवस्थाको एक पात्र थिईन कुमारीमाया ।
निन्द्रा टुटेको कारण सपनाको डर थिएनन् त बाहिरको चिसो । उनी रातभर एउटै कुरा सोँच्दै थिइन् । बिम बहादुरले साँच्चिकै अर्को स्त्री ल्याए त? म र मेरा छोराछोरीको अस्तित्व के भयो त? कहिलेकाहीँ जीवनमा घट्ने घटनाहरू अचानक आए जस्तो देखिन्छ तर वास्तविकता भने वर्षौँदेखि बुनिँदै गएको धागोको तान जस्तै भएको हुन्छ । कुमारीमायाको पनि त्यही थियो । प्रेम, विवाह, दुःख, सहनशीलता, अनि अन्ततः विश्वासघात । २०७४ सालको जेष्ठ महिना । त्यस वर्षको गर्मीले पहाडका बाटाहरू धुलोले भरिएका थिए । कुमारीमाया १९ वर्षकी थिइन् । स्याङ्तान थरकी, राम्री, सधैं हाँस्न मन पर्ने, आफ्नो भविष्यप्रति आशावादी । त्यहीबेला उनको भेट बिम बहादुरसँग हुन पुग्यो । बिम बहादुर डुम्जन तामाङ, उमेरले केही वर्ष जेठो, दाह्री पालेको, मेहनत गर्ने, बोल्दा मधुर तर कहिलेकाहीँ क्रोध चढ्ने । दुवैबीच चिनजान भयो, बोलचाल बढ्यो । प्रेम प्रायः शब्दले होइन, व्यवहारले हुन्छ । कहिलेकाहीँ पानी बोकेर फर्कँदा बिम उनको भारी लिदिन्थ्यो । कहिलेकाहीँ मेलापातमा भेटिँदा निरन्तर उनको छेउमै उभिन्थ्यो । अझ त्यो सम्बन्ध प्रेममै बदलिएपछि के चाहियो र ? विमबहादुर र कुमारीमायालाई ।
दुई बीच २०७४ जेठ । प्रेम विवाह भयो । बाबु–आमाको असहमति, समाजको आरोप प्रत्यारोप । । तर दुई हृदयबीचको असल निष्ठा–उनीहरू दुवैले बाधा जिते । विवाहपछि जन्मिए एक छोरी, एक छोरा । बनेपाको डेरामा बसेर उनिहरुले संसार बनाउन थाले । राम्रो कमाई थिएन, तर खुशी थियो । परिवार भर्खरै जम्दै थियो । तर, कहिलेकाहीँ घर–परिवारलाई भत्काउने तागत एउटा बाहिरी शक्ति होइन घरभित्रै जन्मने सानो झै–झगडाको बीउ हो । बिम बहादुर स्वभावले चिटिक्कै तर धेरै रिस उठ्ने मध्येका एक थिए । कामबाट थाकेर आएपछि स–साना कुराले झर्को मान्थे । कहिलेकाहीँ कुमारी मायाले धारो नआएको गुनासो गर्थिन् । कहिलेकाहीँ उनले बच्चाको किचकिचका बारेमा जानकारी गराउथिन् । उनि सहन सक्दैनथे । झगडा सुरू हुन्थ्यो, समाधान हुन्नथ्यो । मौनतामा धेरै दिन बित्थ्यो । तर मौनताभित्र अविश्वास बिस्तारै उम्रिन्थ्यो । त्यही मौनतालाई कहिलेकाहीँ बाहिरी मान्छेले भत्काउन सक्छ, त्यो मौका बिमको जीवनमा आउन पुग्यो विष्णुमाया श्रेष्ठको रुपमा ।
बनेपा नजिकै रहेको एउटा सानो होटल सञ्चालन गर्थे विष्णु मायाका बुवा–आमाले । विष्णु माया २१–२२ वर्षकी थिईन् । कलेज पढ्न छुटेको, घर चलाउन सहयोग गर्ने, बाहिरबाट सरल देखिने तर भित्र गहिरो संसार बोकेकी थिईन् । बिमबहादुर कामबाट फर्कँदा कहिलेकाहीँ त्यही होटलमा चिया खान्थे । सुरूमा हतार–हतार, धेरै पछि बसेर । विष्णु माया मुस्कुराएर चिया राखिदिन्थिन् । साना कुरा सोध्थिन दाइ, आज काम कस्तो भयो ? घरमा सबै ठीक छ ? यसरी नै सम्बन्ध जु¥यो दुबै जनाबीच । फोन नम्बर साटासाट भयो । राति–बेलुकी कुरा हुन थाले । अहिलेको सामाजिक सञ्जालका बारेमा सबै चिरपरिचित छँदै छन् । कुमारी मायाको घरमा झगडा बढ्दै गइरहेका दिनहरूमा बिमले विष्णु मायामा एक प्रकारको शान्ति देखे । त्यो शान्ति प्यारो लाग्यो । त्यही प्यारो बिस्तारै आश्रित प्रेम बन्न थाल्यो । नेपालको कानूनले त्यो सम्बन्धलाई बैद्यानिकता दिएको छैन । संविधान र कानून भन्दा माथी मन र सम्बन्ध हुँदो रहेछ । आत्मा खुशी हुनुपर्ने रहेछ । आत्मा बाँधेर राखिने सम्बन्धले ब्यक्तिलाई अपराधतर्फ उन्मुख गराउने रहेछ ।
कुमारीमाया सधैं सबै कुरा सहेर बसिरहने स्वभावकी थिइनन् । बिम बहादुरले हेरचाह नगरेको, घरमा सधैं झगडा हुने क्रम, छोराछोरीको मनोविज्ञानमा असर, यी सबैले उनलाई थकित बनायो । एक दिन उनले निर्णय गरिन् । मैले केही समय माईतीमै बसेर सोच्नुपर्छ । त्यसरी नैनाबालक छोराछोरीलाई लिएर उनी रोशी गाउँमा गएर बसिन् । उनले सोचिन बिमले सम्झिन्छ,फोन गर्छ, आएर भन्छ–फर्क न, मैले गलत गरे । तर बिम बहादुरको हृदयमा त्यो समय विष्णु माया बसेकी थिइन् । उनले भने–अब तिमी जाऊ, म आफ्नै बाटो हिँड्छु । त्यसले कुमारीमायालाई झसङ्ग मात्रै बनाएन । जीवनको सपना ढल्यो । २०७८ सालको फागुन । धुलिखेलमा हावासँगै बेस्सरी चिसो हुन्थ्यो । त्यही चिसो मौसममा बिम र विष्णु मायाले प्रेम विवाह गर । कानून त सामाजिक अनुमोदन थियो तर दुवैले अटेर गर्दा कसले रोकेर रोक्न सक्थ्यो र? विष्णु मायाले सबै थाहा पाएकी थिइन । बिमको जेठी श्रीमती छ, दुई साना छोराछोरी छन् । तर प्रेमको उन्मादले कहिलेकाहीँ विवेक गुमाउँछ । उनी भन्थिन्–म तिमीलाई छोड्नै सक्दिनँ । त्यो प्रेम बिमलाई वरदान वा श्राप समयले नै बताउने थियो ।
यता रोशीमा बसेर कुमारी माया सुन्थिन् । बिमबहादुरले नयाँ श्रीमती ल्याएछ, त्यही गाउँमै बस्दैछन्, दिनभर हाँसि खुशी हाँस्दै–खेल्दै देखिन्छन् । त्यो कुरा उनको हृदयमा विषझैँ खनियो । म छोराछोरीका साथ संघर्ष गर्दैछु, बिम भने सुखमा छ? उनले बिस्तारै प्रमाण खोज्न थालिन् । छिमेकीहरू, नातेदार, जो–कोही सुत्र भेटे, सोधिरहिन् । अन्ततः २०७९ बैशाख १५ गते राती उनले केही मानिसहरू लिएर बिम बहादुर बस्ने डेराको ढोका ढकढक्याइन् । राति झण्डै १०ः३० बजेको थियो । ढोका खुल्यो । भित्र बत्ती बलिरहेको थियो । बिम त्यहीँ उभिएका, छेउमै विष्णु माया । कुमारी मायाको आवाज चर्कियो । किन अर्को श्रीमती ल्याएको? किन? म के थिइँ त? बिमले त्यसो भन्दा लाज मान्नु पर्ने, तर क्रोधले लट्टिएका थिए । ल्याएँ त ल्याएँ तैले भनेर के हुन्छ ? तैले के गर्छेस्, गर ! त्यो क्षण—एक स्त्रीको संसार पूर्ण रूपमा भत्कियो ।
कुमारी मायाले त्यही रात प्रहरीलाई फोन गरिन् । उजुरी दिइन । बहुविवाहको मुद्दा । छिमेकका मान्छे, स्थानीयहरू, सबैले देखे । सुने, बुझे । प्रहरी आएबिम र विष्णु मायालाई लिएर जिल्ला प्रहरी कार्यालय काभ्रे लगियो । त्यहाँ बिमले आफ्नो बयान दिए । मायामा बस्न सकिनँ, झगडा झेल्न सकिनँ... विष्णुसँग प्रेम लाग्यो... विवाह गरेँ । विष्णुमायाले पनि रोएर भनिन् । मलाई सब थाहा थियो... तर प्रेमले रोक्न सकिनँ । कानून भने स्पष्ट थियो, पहिले विवाह भइसकेको अवस्थामा अर्को विवाह गर्नु दण्डनीय छ । बिम फसे । विष्णु माया फसे । कुमारी माया र उनका छोराछोरी अझै पीडामा परे । बनेपा र मेरो नातेदारका बीच यो घटना हावाझैँ फैलियो । कसैले भने स्त्री घर छोडेर हिँडी, पुरुष अर्कोतिर नगएर के गर्ने त ? कसैले भने पुरुष त हो नि, प्रेम त जहाँ पनि बस्छ । कसैले भने विष्णु माया पनि केटी नै थिई, किन भत्किएको घरमा हात हाल्नु ? तर कसैले पनि सोचेका थिएनन्, यी घटनाको सबैभन्दा ठूलो मूल्य त छोराछोरीले तिर्नु पर्ने थियो ।
छोरो बाबु भएपछि मात्रै सुत्थ्यो, छोरी बिनाकारण डराउँथी । हाम्रा बाबु किन अर्कै घरमा गएका? समाजले प्रश्न गरिरह्यो, तर समाधान कसैले दिएन । थुनुवा घरमा बसेर बिम बहादुर सोच्थे, के म गलत थिएँ? कुमारी मायासँगै बसेर, झगडा सहेर, जीवन चलाउन सक्थेँ कि? छोरी हाँस्दै दौडिँदै आउँथी, छोरो कामबाट फर्कदा ढुकढुकी पारेर अड्डै झिक्थ्यो, कुमारी माया बिहान रोटी पकाउँदै गुनगुन गर्थिन् । उनी भन्थे—कति राम्रो परिवार थियो मेरो । तर पछाडि फर्केर हेर्दा, उनले आफैँले त्यो परिवार च्यातिदिएका थिए । विष्णु मायाबारे सोच्दा मन तानिन्थ्यो, तर छोराछोरीको अनुहार सम्झँदा मन भाँचिन्थ्यो । जीवन कठोर थियो, तर उनी भित्रभित्रै भत्किएका थिए । विष्णु माया पनि हिरासतमा बस्दा बारम्बार रोईन । के म वास्तवमै घर भत्काउने मान्छे हुँ? उनलाई प्रेम थियो बिमप्रति तर बिमका छोराछोरी पनि उनको मनमा डढेलो झैँ लाग्थे । राति उनी एक्कासी उठेर झसङ्ग हुन्थिन् । कसैको संसार भत्काएर बनेको प्रेममा कहिल्यै शान्ति हुँदैन । बिमतिर हेर्थिन्, बिम पनि गल्ती स्वीकार्दै आँखाभरि पानी पार्थे । दुवै प्रेममा बाँधिएका थिए, तर समाज र कानूनका कठोर हातले त्यो प्रेम टुटिसकेको थियो ।
केही दिनपछि कुमारी मायाले आफ्नो जिम्मेवारी बुझिन् । साना छोराछोरीका लागि बाँच्नैपर्ने थियो । उजुरी अघि बढाइन् । उनले कानूनी बाटो रोजिन्।न त बदला लिनन त बिमलाई जेल हाल्न ? तर छोराछोरीको भविष्य बचाउन, आफ्नो अस्तित्व जोगाउन । कहिलेकाहीँ साहस भनेकै डराउनुपर्ने ठाउँमा नडराईकन उभिनु हो । अदालतमा पुगेपछि काँचो मन अझै काँचो बन्यो । साक्षीहरू, बयानहरू, कुमारी मायाको रोदन, विष्णु मायाको पश्चात्ताप, बिमको मौनता । सबैले न्यायाधीशको कान भारी बनाइदिएको थियो । साउन–भदौमा अदालतको घुमाउरो बाटोमा दिनभर उक्लने–ओर्लने मान्छेहरू देखिन्थे, त्यही भिडमा कुमारी माया पनि उभिइरहन्थिन् । छोरा उनको कुर्ताको फेर समाएर उभिन्थ्यो, छोरी आमा भन्दै कराउँथिन् । कानूनले कारबाही गरोस् वा नगरोस्, तीनजनाको जीवन फेरि पहिलेजस्तो कहिल्यै हुँदैन । कुमारी मायाले बिस्तारै आत्मबल जुटाइन् । छोराछोरी पढाइन् । काम गर्न थालिन् । जीवन फेरि उठ्यो । बिमले आफ्नो गल्ती बुझे, तर पछुतोले भूतझैँ पछ्याइरह्यो । विष्णु मायाले प्रेमलाई दोष दिन थालिन्, जुन प्रेमले उनलाई तान्यो, त्यसैले उनको जीवनको शान्ति खोस्यो ।
समाजले भन्यो, सबैले बाँचिरहनै पर्छ, दुःख आफ्नै बोकेर, आशा आफ्नै बटुलेर । वर्षौँपछि, कुमारी माया सधै झै बिहान बच्चाहरूलाई स्कुल पठाउँछिन् । उनको हाँसो पहिलेभन्दा थोरै गाढा छ, थोरै दुखाई मिसिएको । बिम कहिलेकाहीँ टाढैबाट बच्चाहरूलाई हेर्छन्, तर भेट्न हिम्मत गर्दैनन् । विष्णु माया आफ्नै घरमा बस्छिन्, अब कसैको संसार नछोडेको प्रतिज्ञासहित । जीवन त्यहीँ छ–घामसँगै, छायासँगै, आँसुसँगै र आशासँगै । कहानीको मूल सत्य छ । त्रिकोणात्मक प्रेम कहिल्यै सफल हुँदैन । दुई मान्छेको बीचमा तेस्रो मान्छे जोडिँदा, कसैले न कसैले सधैँ पीडा पाउँछ । तर पीडाभित्रै पनि पुनर्जन्म सम्भव हुन्छ ।
कुमारीको छिमेकी
असली माया मोक्तान
महाभारत, काभ्रे





