2026 January 17/ 03:41: 22pm

    बिहान सधैँजस्तै शान्त थियो । पहाडमाथिको टुसुक्क परेको कुहिरोलाई चिर्ने गरी सूर्यको कानेखुसी चम्किँदै थियो । तर, शान्ति त केबल दृश्यमा मात्र थियो, पहाडी शहरको बस्तीभित्र दर्जनौँ घरहरूमा, दर्जनौँ महिलाका मनमा, नदेखिने झरी परिरहेथ्यो । त्यही झरीमध्ये एउटी थिईन् मञ्जु ।३२ वर्षकी, एक छोरीकी आमा, देख्दा साधारण, भित्रबाट ज्वालामुखी । उनका आँखामा वर्षौँदेखि नअटाएको पीडाको गहिरो काठेपन छ । उनको हात आज पनि थरथरी काँपिरहेथ्यो, सच्याउन नसकिने जीवनको भाँचिएको अध्यायजस्तै ।
    मञ्जुले गहभरीको आँसु भित्रै चपाउँदै भनिन्,‘घर भित्रको चोट घर बाहिर देखिन्न, दिदी...।’ मसँग उनको भेट जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामै भएको थियो । प्रहरी कार्यालयमा २०७९/०८० मा १८६, २०८०/०८१ मा १८३ र २०८१/०८२ मा १४४ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका रहेकछन् । तर, त्यो संख्याभन्दा धेरै गुणा पीडा उजुरी विहीन थिए ठ्याक्कै मञ्जुको पीडाजस्तै । मञ्जुको पीडा सुन्दा मलाई लाग्थ्यो, सायद यो कुनै उपन्यास हो, कुनै फिल्मको संवाद हो । तर उनी आफैँ भन्थिन्, ‘दिदी, मेरो जीवन त फिल्मजस्तै भएन, फिल्मभन्दा खतरनाक भयो ।’ विवाह १९ वर्षमै भएको रहेछ । सपना धेरै, उमेर सानो, भरोसा ठूलो । शुरुका केही महिना हाँसो, रमाइलो, नयाँ जीवनको उत्साह । अझ केटाकेटीपन । तर विस्तारै श्रीमान्को स्वर बदलिंदै गयो । पहिला दिक्दारी, त्यसपछि गाली, अनि हातपात । ‘एकचोटी त पुरै घरभरी डोरी तानेर बाँध्न खोजेको थियो, मरेपछि तिम्रो अपमान मसँगै मर्नेछ भनेर ।’ त्यस्ता घटना त कति कति ?
    विवाहको शुरुका केहि दिन उसले गरेको माया सायदै सम्झन सकिन्न । शंका थियो, किन यति धेरै माया ? पछि त यातनाका श्रृंखला कतिकति ? मैले सोधेँ, उजुरी किन नदिएको ? उनको जवाफ थियो, ‘छोरी सानी थिईन् । कहाँ लिएर जानु ? अनि समाजले भन्थ्यो, आफ्नै घरको कुरा बाहिर लगेर जाति भईन्नँ । मैले उनको छातीभित्रका धड्कन सुने झैँ महसुस गरे । उनी बोल्दा प्रत्येक शब्दको छेउमै आँसुका कण अडिरहेका थिए । एकदिन मञ्जुको आँखाबाट आँसु होइन, डर बग्यो, त्यो दिन उनले मोबाइलमा देखिन उनीबिनै श्रीमानले अर्को विवाह गरिसकेका थिए । म भागेर आएँ... मसँग त्यति साहस पनि थिएन, म छोरीलाई बोकेर उही रात निस्किएँ । त्यसपछि शुरु भयो, ब्ल्याकमेल । साइबर धम्की । फोनमा गाली । अनलाइनमा बदनाम गरिने प्रयास । यिनै घटनाहरू काभ्रेको तथ्याङ्कमा आज ‘विद्युतीय कारोबार ऐन अन्तर्गतका १० मुद्दा” भनेर लेखिएको छ । त्यो मध्ये एक म पनि हुँ । मञ्जुको जीवनमा त्यसको नाम धेरै सरल छ । डर, अपमान र एकलपन ।
    देशभर ९९ महिला, १३ बालिका, ३ पुरुष साइबर हिंसाका पीडित बनेका छन् । पीडित त हजारौं छन् दिदी, उजुरी गर्ने त मुटु भएकोले मात्र हो मञ्जुको आत्मविश्वास पनि थियो । भनिने बेला नारीहरु स्वतन्त्रताको एउटा आकाश हुन् । तर त्यहि छोरीहरूको बाल्यकालमा नै उज्यालो हराउँछ । पीडा केवल मञ्जुको मात्र होइन । मञ्जुको मात्रै पीडा हैन । काभ्रेको हरेक गाउँ–टोलमा हुने यस्तै घटना हुन् । जिल्लाका विभिन्न स्थानमा यस्ता घटना भएका छन् । पनौती नगरपालिका भित्रबाट तीन वर्षमा १७ जर्बजस्ती करणीका मुद्दा दर्ता भएका छन् । काभ्रेको सबैभन्दा संवेदनशील क्षेत्र । मैले पनौतीमा १४ वर्षकी एक बालिकालाई भेटेँ । उनका आँखामा कुनै बालापन थिएन । महिनौँ अघिदेखि उनको जीवन बलात् ठूलो बनाइएको थियो । उनले मलाई भनेको एउटै वाक्यबाट म स्तब्ध भएँ । दिदी, मलाई कहिले ठूलो भएर बाँच्न मन थिएन, तर कसैले ठूलो बनाएरै फर्काइदियो । त्यही वर्ष २०७९÷०८० मा ३७ बलात्कारका उजुरी जिल्लामा दर्ता भएका थिए । तर कति उजुरी घरमै थुनिएका थिए ? कति मौन ?
    मण्डनदेउपुर नगरपालिकामा एक वर्षको अवधीमा ४ वटा जर्बजस्तिकरणीका घटना दर्ता भए । ति सबै बालिकाका थिए । एक सहर जहाँ केवल चारवटा किनारा नदेखिने नदीहरू मात्र छैनन्, बाल्यकालका चारवटा नदेखिने घाउ पनि छन् । एकवर्षमै चार बालिकालाई बालयौन दुरुपयोग । मैले एक आमासँग कुरा गरेँ उनकी ११ वर्षीया छोरीमाथि गरिएको कुकर्मका कारण संसार हेर्ने उनको आँखा नै फेरिएको थियो । आमाले भनिन छोरीको हात समातेर घर जाँदा मान्छेहरूले हामीलाई हेर्ने आँखाले मेरी छोरीलाई अपराधी बनाइदिन्छन् । अपराध त उसले गरेन । त्यो आवाज जिल्लाभरी घन्किनुपर्ने आवाज हो तर समाजले सुनेको नसुनेझैँ गर्छ । तथ्याङ्कले भन्छ—अपराध घटेको छ ।घरेलु हिंसा घटेको छ । जर्बजस्ती करणी घटेको छ । तर काभ्रेको भित्री आवाज भन्छ, उजुरी घटेको छ, पीडा होइन । महाभारतमा गत वर्ष ८ घरेलु हिंसा दर्ता भएका थिए । यो यो वर्ष १ मात्र दर्ता भयो । के हिंसा घट्यो ? कि गाउँलेहरूको ‘घरमै मिलाउँ’ भन्ने मानसिकता बढ्यो ? खानीखोलामा चारवटा घटेर एकमा पुगेको छ । नमोबुद्धमा ६, धुलिखेलमा ३९, पनौतीमा १७ वटा घटना दर्ता भएका छन् । यी संख्या केवल कागजका अक्षर हुन । तर पछाडि एक–एक अक्षर एक–एक महिला, एक–एक बालिका, एक–एक टुटेको जीवन बनिरहेको छ । 
    मञ्जु आफ्नो बाबुको घर फर्किएकी थिइन् । बाबुको घरजहाँ उनी बाल्यकालमा रमाएकी थिईन् । तर फर्केर जाँदा—त्यही घर उनको लागि प्रश्नहरूको जेल बनेको थियो । किन फर्किइस ? छोरी भएर कसरी घर तोडिस ? थोरै सहनु पर्ने हो नि ! अनि छोरीको भविष्य ? मञ्जुले मलाई एक साँझ भनेकी थिईन् । दिदी, हिंसा त श्रीमान्ले गरेको थियो, तर अपमान त समाजले ग¥यो । त्यो वाक्य असंख्य महिलाको आवाज हो । काभ्रेको भूगोल सुन्दर छ । पहाड, बस्ती, काखमा बसेका शहर । तर काभ्रेको सामाजिक भूगोल ? यसमा मौनता, डर र अपमानका खोँच धेरै छन् । पनौती १७, बनेपा १६, धुलिखेल १४, पाँचखाल १३, भुम्लु १०, मण्डनदेउपुर ९, रोशी ९, नमोबुद्ध ६ । तथ्याङ्क वा भूगोल होइन, यो पीडितहरूको नक्शा हो । जब मञ्जुले छोरीलाई अँध्यारोबाट बचाइन्, घटना यहाँबाट मोडिन्छ ।
    ठ्याक्कै राति ११ बजेतिर । मञ्जुको फोन बजिरह्यो । श्रीमान्को आवाज मतलब बिनाको चिच्याहट । त्यसपछि धम्की । तँ फर्केर नआए, तेरो छोरीलाई लिएर आउँछु । त्यो रात मञ्जुले छोरीलाई काखमा च्यापेर बाहिर निस्किइन् । हिउँदको रात चाँडो अँध्यारो हुन्छ । त्यो रात बाहिरको अँध्यारोभन्दा मञ्जुको मनको अँध्यारो गहिरो थियो । ‘त्यो रात मैले छोरीको जीवन बचाएँ । आफ्नो जीवन ? त्यो त पहिल्यै सिद्धिएको थियो ।’ मञ्जु घर फर्केर बस्दा, उनको मनमा कानुनी न्यायको सपना पनि थियो । तर काभ्रेको कानुन र न्याय प्रणालीले उनीमाथि कठोर परीक्षा लियो । ईलाका प्रहरी कार्यालय बनेपामा उजुरी दर्ता गर्दा पनि श्रीमान् वेवारिसे अवस्थामा थिए । उनका आफन्तले सहयोग गरेनन् । अदालतमा पाउने प्रक्रिया जटिल थियो । दुई वर्षसम्म अदालतको ढोका मुठ्ठीले ढकढकाएँ, तर निष्कर्ष केही आएन । उजुरी दर्ता भए पनि पीडितको मानसिक अवस्था, समाजको दबाब र आर्थिक निर्भरता उही रह्यो । तथ्याङ्कले देखाउँछ, २०८१÷०८२ मा घरेलु हिंसा १४४ उजुरी दर्ता भए । जर्बजस्ती करणी २६, बालविवाह एउटा । तर यी अंकहरू केवल कागजको अंक थिए—साँचो पीडा त देखिन्न ।
    पनौती, बनेपा, धुलिखेल—ती शहर र गाउँहरूको वास्तविकता फरक थियो । मैले भेटेका किशोरीहरूले देखाएका आँसु, डर र मौनता अंकभन्दा गहिरा थिए । उनीहरूले बताए हामी उजुरी दिन डराउँछौं, किनभने परिवार र समाजको नजर हाम्रो जीवन नै तोड्न सक्छ । त्यसैगरी, बनेपाको पुलबजारमा बस्ने एक महिलाले भनिन्– ‘प्रेम गर्ने पुरुषले धोका दिनेछ भनेर कसैले पढाउँदैन ।’ उनी भन्छिन्, अनि त्यो धोका छोरीको जीवनमा कसरी झर्छ, कसैले सिकाउँदैन । आजको समयमा हिंसा केवल शारीरिक छैन । साइबर माध्यममा पनि हिंसा फैलिएको छ । मोबाइल फोनमा धम्की । ब्ल्याकमेल । फोटो र भिडियोको दुरुपयोग । अझ अहिले नयाँ एआईको प्रयोग । त्यसको प्रयोगमा दुरुपयोग । अर्काे हिंसाको रुप बनिरहेको छ । मञ्जु भन्छिन् त्यो मोबाइल मेरो जीवनको कालो अक्षर हो । सामाजिक सञ्जालले उनको पीडालाई झन् तीव्र बनायो । बागमती प्रदेशमा १० वटा साइबरसम्बन्धी मुद्दा दर्ता भए । देशभर ९९ महिला, १३ बालिका, ३ पुरुष पीडित भए । संख्यामा थोरै, तर वास्तविक पीडा असीम । मञ्जुको पीडाले समाजको कठोर वास्तविकता उजागर ग¥यो । छोरीको मूल्य मलको डोको जस्तै, परम्पराले महिलालाई अन्धो बनाउँछ । उनी भन्छिन्—तीजमा पनि व्रत बस्न बाध्य छु, श्रीमान् भए पनि नभए पनि । संस्कृति र परम्परा मलाई अन्धो बनाउँछ । छोरी जन्मिनासाथ मञ्जुको जीवन झन् जटिल भयो । श्रीमान्ले घरमा ध्यान दिएनन् । रक्सी र अन्य सम्बन्धले उनी विचलित भए । मञ्जुले छोरीको पालन–पोषण आफैं गर्नुपर्ने भयो । उनी सम्झिन्छिन, कच्चा उमेरमा प्रेम र विवाहले मेरो जीवनको मार्ग नै बदलिदियो । बच्चा मेरो जीवनको एक मात्र उज्यालो थियो । छोरीको स्कूल भर्ना गर्न पनि चुनौती थियो । विवाह दर्ता नभएको, जन्म दर्ता नभएको, नागरिकता नभएको । मञ्जु शहर फर्किन बाध्य भइन् । साथमा केवल छोरी, साहारा बहिनीको घर, र आफ्नो आशा ।
    मञ्जुको जीवनको मुख्य संघर्ष यही थियो । श्रीमान् भएर पनि एकल जीवन । सुरक्षा र माया नपाएको अनुभव । सामाजिक र कानूनी बाधा । उनको विश्वास थियो—श्रीमान्लाई फर्काउन सक्दिन, तर न्याय पाउनु मेरो अधिकार हो।यो अनुभव केवल व्यक्तिगत मात्र होइन । यो वास्तविकता थियो । यो देशभरीका हजारौं महिलाको स्थिति हो । धुलिखेल, पनौती—सुन्दर दृश्य र उकालो–ओरालोसडकले कस्तो कथा छोप्छ ? उजुरी घटे पनि हिंसा घटेको छैन । साइबर धम्कीले डिजिटल पीडा थपेको छ । समाज र संस्कृति अझै महिला–साथी अप्रिय छन् । मञ्जु भन्छिन्–म जस्तोसुकै अवस्थामा पनि छोरीको लागि लड्छु । समाजलाई पनि चेतना दिन्छु । कथा केवल पीडाको होइन । कथा परिवर्तनको पनि हो ।
    स्थानीय तहमा महिला–बालिका डेस्क । शिक्षा, कानुनी पहुँच, आर्थिक स्वावलम्बन । पुरुष सहभागिता । यदि यी उपाय ठोस रूपमा लागु भए भने मञ्जु जस्ता महिलाको जीवन अझ सुरक्षित हुनेछ । मञ्जुको कथा उनी मात्र होइनन् । जिल्लाका विभिन्न स्थान पनौती, बनेपा, धुलिखेल यी शहर र गाउँका हजारौं महिलाको कथा हो । मौन घर, फुटेका छायाँ, उजुरी नभएका आँसु, यी सबै पीडाका हिस्सा हुन् । संसारमा न्याय, माया, र सम्मानको खोजी जारी छ । मञ्जु एक उदाहरण बनेकी छिन् । मञ्जु जस्ताले संघर्ष पीडाबाट दिक्क भएर संसार त्यागेका घटना धेरै छन् । त्यो भन्दा धेरै महत्वपूर्ण विषय भनेको उनी अझै संघर्ष गरिरहेकी छिन् । उनलाई सहज वातावरण बनाउनु समाज र हाम्रो पनि दायित्व हो । 

शर्मिला भंगाल
अधिकारर्मी, काठमाडौ