देशभर लैङ्गिक हिंसा विरुद्धको अभियान शुरु भएको छ । प्रहरी तथा सरोकारवाला निकायहरु यसको सचेतनाका लागि गाउँ–गाउँ बस्ति–बस्ति पुगिरहेका छन् । सामाजिक सञ्जाल अनि संचारमाध्यमहरु पनि यसको विषयमा सचेतनामूलक कार्यक्रममा ब्यस्त छन् । यति भईरहँदा पनि पछिल्लो समय लैङ्गिक हिंसाका घटनामा बृद्धि हुनुको कारण के होला ? विषय जति गम्भीर छ अध्ययन अनुसन्धान त्यति नै हुनु आवश्यक छ । त्यससँगै यसको कानूनी विषय र पाटोका बारेमा समेत सचेत हुन आवश्यक छ । अझ ब्यवहार त झनै फरक विषय देखिन्छ ।
सामाजिक सञ्जाल लैङ्गिक हिंसाको फरक स्वरुप बनेर प्रस्तुत भएको छ । विभिन्न माध्यमहरुमा प्रयोग हुने छाडा शब्द तथा अश्लील तस्वीर तथा भिडियो क्लिपहरु बालबालिका तथा युवा अवस्थाका हिंसाका माध्यम बनिरहेका छन् । विद्यालय तहमा बालबालिकाहरुले प्रयोग गर्ने भाषा तथा प्रविधि सदपुयोगमा भन्दा धेरै दुरुपयोगमा देखिन थालेका छन् । बाल विवाह गर्नु हुँदैन भनेर पढाईरहेका र कानून बनाईरहेकाहरु त्यसकै मारमा छन् । प्रहरी कार्यालयमा उजुरी बाल विवाहको आउँदैन । बालिकाहरु जर्बजस्ति करणीमा परेको भन्दै जाहेरी दर्ता हुन थालेका छन् । सहमतिमा बालबालिकाहरु सम्बन्ध राख्ने, सम्बन्ध आफन्त अर्थात् फरक समुदायका ब्यक्तिहरुसँग समेत हुने तर परिवारले त्यसलाई स्वीकृत दिन नसक्ने अन्ततः दुई जनाको विछोडका लागि मुद्दा दर्ता गर्ने क्रम बढिरहेको छ । केहिले त सामुहिक प्राण छाडेका घटना पनि छन् । केहिले सहमतिमा हुँदाहुँदै उमेर नपुगेका कारण भन्दै अलग हुँदा एक र अर्काेले नमानेकै कारण उजुरी दिन थालेका छन् । पछिल्लो समय मोबाईल र मोबाईलमा सहज इन्टरनेट त्यसको कारण बन्न थालेको छ ।
सहजता, चाहना वा आवश्यकता । त्यो भन्दा विल्कुल फरक घर भित्रै र आफन्तबाट हुने गरेका लैङ्गिकता सम्बन्धी घटना । प्रहरी तथ्याङ्गकले पनि पहिलेको तुलनामा अहिले पुरुषहरु पनि पीडित भएको भन्दै जाहेरी आउन थालेको छ । तर पनि समाज र ब्यवहारले महिलाहरुले पुरुषलाई त्यसरी हिंसा गर्न सक्लान र ? भन्ने भास्य निर्माण भएको छ । बैदेशिक रोजगार अर्काे माध्यम बनिरहेको छ । जसका कारण बालबालिकाहरुको भविश्य र विवाह अघि पछिको सम्बन्धले बालबालिकाहरुमा पर्ने मानसिक असरका बारेमा बयान गरी साध्य छैन । कोहि अपाङ्गता भएकै कारण पीडित बन्नु परेको छ । कसैलाई गरिबीकै कारण संकटमा पर्नु परेको छ । कोहिका समस्या अनेक छन् । तरपनि राज्यले लैङ्गिक समावेशिता र समानुपातिक प्रणालीलाई अपनाएको छ । न्याय दिन विभिन्न संरचना तयार गरेको छ ।
मनसुनको अन्त्यतिर पहाडको हावा अलि न्यानो हुँदै जान्थ्यो । बिहानपख धुलो उडाउने हावा शान्त हुन्थ्यो र साँझतिर धर्का–धर्का बादल पहाडको टुप्पोमा अड्किएर रातो घामलाई ढाक्थे । यस्तो मौसममा गाउँका मानिसहरू खेतका डाँडाबाट फर्किरहेका हुन्थे, कसैले काँधमा कोदाली, कसैले टोकरी, कसैले दाउरा । तर त्यो गाउँको एक घरमा भने यतिबेला भित्रभित्रै अँध्यारो गडेको थियो दैनिक जीवनभन्दा फरक, एक किसिमको गम्भीरता र भय । त्यो घरमा बस्ने आमाको अनुहारमा डर, थकान र अकल्पनीय बोझ देखिन्थ्यो ।
उनी तेह्र वर्षकी मात्र थिइन् । उमेरका हिसाबले बच्चै थिइन्, तर आँखामा भने कति वर्षको दुःख अड्किएको थियो । कहिलेकाहीँ आउने हाँसो पनि कतै टाढाबाट ल्याइराखेको झैँ लाग्थ्यो–जबरजस्ती, अस्वभाविक । उही शान्त गाउँमा केही महिना अघि एउटा घटना भयो, जसले आमा–छोरी दुवैको संसारलाई भाँचिदियो । उनी धेरै दिनसम्म बोलिनन्, आमा पनि धेरै रातसम्म सुतिनन् । कागजी फित्ता बाँधिएका कागजातका पानाहरू लिएर गाउँको न्याय खोज्ने बाटोतिर लागिरहिन् । उनको आमाले अहिलेसम्म कसैलाई पूर्ण रूपमा भन्दैनथिन्। बयान दिएको जस्तो, मेरो छोरीले मोबाइलमा देखिएको अभद्र सामग्रीको बारेमा बताएपछि... भन्ने कुरा । शुरुवात नै कति अमिलो थियो, कति पीडादायी ।
शुरुमा उनलाई लागेको थियो, छोरी के भन्छे होला ? कि साथीहरूले फोनमा केही देखाए? कि सामाजिक सञ्जालको कुनै हल्ला ? तर होइन, उनको काप्ने स्वर र आँखाबाट झर्ने आँसुले आमाको छाती नै दुख्ने गरी चिरा प¥यो । छोरीले भनेकी थिइन् गाउँकै चिनजानको मान्छे, कहिलेकाहीँ आफ्नै आँगनमा आउजाउ गर्ने, परिचित भएको, ‘दाइ’ भनेर बोलाउने मानिसले उनीमाथि अनुचित व्यवहार गरेको रहेछ । उनले लाज, डर र पीडाको गाँठो खोलिन । त्यो सम्झिँदा आमा अझै काँप्थिन् ।
एक रात, आमा भान्सा सफा गर्दै गर्दा उनी एक्लै बसेकी थिइन् । त्यो दिन केही असामान्य भएको आमाले भान्साको ढोकाबाटै थाहा पाएकी थिईन् । छोरी सामान्य दिनमा पनि त्यति बोल्थिनन्, तर त्यो दिन त झन् डराएर कुर्कुच्चा सँगालेर बसेझैँ । के भयो छोरी ? आमाले सोधिन । उनी पहिलेझैँ टाउको हल्लाइन्, तर आँसु रोक्न सकिनन् । त्यसैबेला टेबुलमा परेको उनको मोबाइल बज्यो । आमाले उठाएर स्क्रिन हेरिन् । त्यहीँबाट सुरु भयो भयानक सत्यको जानकारी । मोबाइलमा देखिएका केही तस्बिर र भिडियो, केही सन्देश र ती सबैको स्रोत गाउँकै सागर एकजना त्यही घर आउजाउ गर्ने, व्यवहारले ठीक देखिने तर भित्र धेरै डराउन लायक दानवता लुकाइराखेको मानिस ।
उनले दिएको जाहेरीमा उल्लेख थियो–आमाले मोबाइल हेरेपछि ‘उजुरी दिन’ को निर्णय तुरुन्त लिनु भएन । किनकि त्यो पहाडी गाउँमा, खासगरी महिला र बच्चाहरूको आवाज त्यति चाँडै सुन्ने व्यवस्था थिएन । तर जसरी रात बित्दै गयो, सागरले आफूलाई कति पटक धम्क्याएको ? दाई–बहिनीको सम्बन्धजस्तो देखाएर विश्वास जितेको र पछि विश्वासकै घाउ बनाएको–सबै कुरा विस्तृत रूपमा बताइन् । आमालाई महसुस भयो मौन बस्ने हो भने छोरीको भविष्य नै अँध्यारो हुनेछ । आमाले त्यो रात छोरीलाई काखमा लिएर भनेकी थिइन्, ‘म तेरो लागि लड्छु । डराउँदैनौ अब । आमाले प्रहरीमा उजुरी दिइन् । उनले सबै घटना बयान गरिन् । मोबाइलमा भएको सबै प्रमाण देखाइन्, छोरीले भोगेको मानसिक अवस्थाबारे बताइन्, साथै सागरले छोरीलाई धम्क्याएको कुरा पनि सविस्तार सुनाईन् ।
बयान लिँदै गर्दा प्रहरी अधिकारीले सोधे–तिमीले पहिले किन भन्न नसकेको ? उनले आँखा झुकाइन् । बोल्न सकिनन् । त्यही मौनताले धेरै कुरा भनिदियो । बालिकाको डर, अपराधीको धम्की र समाजको दबाब कति कडा हुन्छ ?जब गाउँमा कुरा फैलियो, धेरैले साथ दिएतर केहीले भने उल्टै प्रश्न उठाए । एउटै गाउँको मान्छे हो, झुठो पनि हुनसक्छ अनि ? के फोनमा देखिएको कुरा अरूले पठाएको होइन ? छोरीले गलत बुझेकै त होइन ? आमाले धेरै अपमानजनक वाक्य सुन्नुप¥यो । तर छोरीको अनुहार हेर्दा मात्रै फेरि बलियो बनिन् र भनिन् जसलाई परेको छ उसले मात्रै भोग्नुपर्छ । सागर भने गाउँमै निर्धक्क हिंड्दै थियो । उजुरी परेको खबर थाहा पाएपछि पनि ऊ भागेन । कहिले–काहीँ घरतिर गिद्धे नजर लगाउँथ्यो । त्यो थप पीडा थियो । उजुरी दर्ता भयो । छानबिन सुरु भयो । सागरले भने उल्टै आफैँलाई निर्दोष देखाउने अभिनय शुरू ग¥यो । उसैले पठायो होला नि । बच्चाहरू गलत बुझ्छन् । मलाई फसाउन खोजिएको हो । तर प्रमाणहरू भने उसकै विरुद्ध बोलिरहेका थिए । उसले एक्लै भेट्ने मौका खोजेको समय, उसले पठाएका मिडिया, अनि गाउँका अरू केटाकेटीले पनि देखेको उसको शंकास्पद व्यवहार–सब प्रमाणहरू मिल्दै गए ।
जब बयान लिँदै थिए, उनी कहिलेकाहीँ काँप्थिन् । सागरले धम्क्याएको बेला के भन्थ्यो ? उनले बिस्तारै भनिन्, भनिरह्यो कसैलाई भने तिमीलाई अप्ठ्यारो बनाइदिन्छु...। उनका आँखामा आँसु भरिन्थे । आमा छोरीको हात समातेर भन्थिन्, डराइदैन, अब हामीसँग सबै छन् । कागजातका पानामा जस्तै–मुद्दा अदालत पुगेपछि छोरी पहिलो पटक अदालतको कोठामा प्रवेश गरेकी थिईन् । त्यहाँको वातावरण नै फरक । गम्भीर, कडा, घेरिएको । सागरलाई देख्दा उनको शरीर फेरि एकपटक लथ्रक्क भयो । तर यो पटक उनी एक्लै थिइनन् । आमा, प्रहरी अधिकारी, कागजपत्र र न्याय प्रणाली साथमा थियो । उकालो बाटो हुँदै सानो गाउँको नाम टाँसिएको ढाटमुनि प्रवेश गर्दै गर्दा बिहानको पातलो घाम ओझेल परिरहेको थियो । पहाडलाई चुमेर बग्ने हावा अलिकति चिसो, अलिकति सुस्त, र कहिले काँही अतीत बिसाउने गहिरो सासजस्तै लाग्थ्यो । त्यही गाउँ–जहाँ मानिसहरू अझै पनि एक–अर्काको घरमा चिया पिउँदै सुकुम्म बसेर दुःख–सुख साट्थे । जहाँ बिहान कोदालीको आवाज सुनिन्थ्यो र साँझ परेपछि भालेको बास सुन्थियो । तर त्यहीँ एउटा घर समयभन्दा चाँडै अँध्यारोले छोपेको थियो ।
एक साँझ, जब आकाश रातिँदै थियो । आमा भान्सा सफाइ गर्दै थिइन्, उनी दंग भएर ढोकामै उभिइन् । उनको हात काँपिरहेको थियो र फोन कस्सिएको थियो । आमा..., स्वर निकै कम थियो–जस्तै कसैले उनको घाँटी थिचेजस्तो । आमा ढोकातर्फ जाँदै थिईन् । मोबाइल...,उनले फोन आमाको हातमा राखिदिइन् । स्क्रिन खोलेको केही क्षणमै आमाका आँखा ठूला–ठूला भए । उनले विश्वासै गर्न नसक्ने अर्को क्षण उनी स्तब्ध भईन । सामान्य परिवारमा, दैनिक संघर्षका बीच हुर्किरहेकी बालिकाको मोबाईलमा यस्तो सामग्री कसरी ? उनी छक्क परेकी थिईन् । अहिले उ पक्राउ परेको छ । उसले सजाँय भोगिरहेको छ । तर पनि बालिकाको मनमा डर रहिरहेको छ । उ फेरी जेलबाट फर्किएर आएर केहि गर्ने हो कि ? उनले सुरक्षा खोजिरहेकी छिन् । गाउँका सबैले साथ दिईरहेका छन् । धेरै बालिकाहरुले यसरी घटना बताउन सकिरहेका छैनन् । लैङ्गिक हिंसा सचेतनाका लागि भएका कार्यक्रमहरुले यस्ता घटना र पीडामा परेकाहरुलाई न्याय दिलाउन सफल रहोस् ।
घटना सुने पछि सबैले गर्ने छिःछिः र दुरदुरका कथा धेरै छन् । बालिका र उसको परिवारले भोग्नुपर्ने मानसिक र सामाजिक थ्रेट धेरै छ । तर न्यायका लागि लाग्नुस् । अनाहकमा यस्तै कारण कसैले पनि ज्यान फाल्नु नपरोस् । उनले समयमै भनेको र पछि आफ्नै आँखाले समेत देखेका कारण उनलाई समयमा न्याय दिलाउन सफल भएँ । सबै आमाहरुले आफ्ना सन्तान कसैको दबाबमा परेका पो छन् कि ? सोच्नु र समयमै ध्यान दिनु आवश्यक छ । राज्यका निकायहरुले पनि यसमा गम्भीर बन्नु पर्ने आवश्यकता छ ।
उनकी आमा शितल
खरिढुंङ्गा, दोलखा





