2025 December 16/ 04:32: 07am

    प्राप्तिमा माया खोज्नेहरू धेरै होलान् । माया उसलाई गर्छन्, जसले आफैंलाई पूर्ण महसुस गराउँछ, कसैले त्यसलाई गर्छन्, जसले अपूर्णता भर्छ । कसैले माया शरीरमा खोज्छन्, कसैले आत्मामा तर म त्यो प्राप्तिको प्रेमको निकेश भन्दा टाढा छु आज एक यस्तो दूरी, जसलाई कुनै यात्राले पनि छोट्याउन सक्दैन । मायाको अर्थ मैले सिरुबाट मात्र बुझें मौन मुस्कान, आँखा भित्रको कोमल भाषा अनि वेदनाबाट ।  
    सिरु मेरो प्रेम मात्र थिईनँ, ऊ मेरो अस्तित्वको प्रमाण थिई । म उसको वरिपरि घुम्थें, जस्तो पृथ्वी सूर्य वरिपरि घुम्छ । ऊ मेरो मुटुको धड्कन थिई म त्यसको स्पन्दन । भाग्यको खेलले कति कुरा उल्ट्याउँछ, जस क्षण ऊ मेरो अँगालोमा थिई, म सम्पूर्ण महसुस गर्थें । तर आज ऊ नहुँदा, म अधुरो मात्रै छैन, भत्किएको छु, टुक्राटुक्रा भएर । सिरुको सम्झनामा बाँचिरहेको एउटा आत्मा बनेको छु । हाम्रो भेट जन्मसँगै जस्तो थियो । हाम्रो परिवार सँगसँगै बस्थे । एउटै आँगन, एउटै बाटो, एउटै बिहानको टन्टलापुर घाम । म अलि बदमास स्वभावको, ऊ भलाद्मी । आमाले भन्नुहुन्थ्यो, हामी सानैमा एउटै थालमा भात खान्थ्यौं, एउटै माटोमा खेल्थ्यौं, एउटै गिलासमा दूध पिउँथ्यौं । हामी बीच कुनै दिन झगडा भएन । ऊ मेरो साथी मात्र होइन, मेरो बाल्यकालको शान्त पवित्रता थिई ।
    म भन्दा दुई कक्षा तल पढ्थी, तर पढाइमा तेज । म कहिलेकाहीँ होमवर्क देखेर हैरान, ऊ भने नाजुक मुस्कानका साथ सल्लाह दिन्थी । स्कुलबाट फर्किँदा ऊ बाटोमा सिमलका पात टिप्थी, उनलाई म जिस्क्याउँथेँ — यी पातहरू तिम्रो नोटबुकमा राखेर मसँग सम्झना राख्ने हो ? ऊ हाँस्थी — त्यो हाँसो नै मेरो पहिलो माया थियो । त्यो उमेरमा माया भन्ने के हो ? थाहा थिएन, तर उसको उपस्थितिले मनलाई शान्त पाथ्र्यो । मनमा एउटा अज्ञात तान हुन्थ्यो । जसलाई न त बाल्य उमेरले बुझ्थ्यो, न त जीवनले स्वीकाथ्र्यो । 
    मेरो बाबाको सरुवा बुटवल भयो । म त्यो घर, त्यो गाउँ, अनि सिरु । सबै छाडेर जानुपर्ने भयो । विदाइको बिहान ऊ रोएकी थिई । मैले पहिलोपटक उसको आँसु देखें । मैले भन्न खोज्दै थिए सिरु, म फर्किन्छु, चाँडै । तर ती शब्द घाँटीमा अड्किए । त्यो दिनदेखि पाँच वर्षसम्म ऊ मेरा सपनामा बस्थी । मोबाइल थिएन, इन्टरनेट थिएन । सन्देशहरू हावामा हराउँथे, मन भित्र मात्र प्रतिध्वनि बाँकी रहन्थ्यो । पाँच वर्षपछि, म फर्किएँ । ऊ अस्पतालमा नर्स बनेकी थिई । म इन्जिनियरिङ्ग पढ्दै थिएँ । हाम्रो भेट काठमाडौँको एउटा अस्पतालमा भयो । म एक इन्जिनियरिङ्ग प्रोजेक्टको निरीक्षणका लागि गएको थिएँ त्यो बेला । देख्ने बित्तिकै बोलाईन, निकेश ! 
    म स्तब्ध भए । ऊ पहिले झैँ थिई, तर उसको आँखा अब बढी गहिरा र बढी अर्थपूर्ण भए । दुबैले  ए अर्काेलाई अँगालोमा बे¥यौं । त्यो क्षणमा वर्षौंको वियोग पग्लिएर आँसु बन्यो । हामी रोयौं, तर त्यो रोदनमा पनि अनन्त सुख थियो । खुशी थियो । बर्षाै देखिको माया प्रेम थियो । धेरै पछि मायाको प्यास मेटिए झै भएको थियो । साँच्चै यो जुनी भर नै भेट हुँदैन कि भन्ने सोच अन्त्य भएको थियो । आगामी यात्रा र योजनाका बारेमा समेत एक अर्काको यादले रोकिराखेको हुन्थ्यो । कत्यो दिनदेखि हाम्रो माया खुला रहस्य बन्यो । हामी प्रेमी थियौं, तर साथीको रूपमा संसारलाई देखिन्थ्यौं ।
    जीवनको दौड सुरु भयो । ऊ नर्स, म इन्जिनियर । दुवै ब्यस्त, तर हरेक हप्ता भेट्थ्यौं । ऊ मेरो लागि चिया बनाउँथी, म उसको नोटबुकमा चित्र बनाउँथें । हामी भविष्यका सपना बाँड्थ्यौं । सानो घर, दुई बच्चा, आँगनमा फूल र हरेक बिहान हाँसो । तर संसार यति सरल हुँदैन रहेछ । एकाबिहानै पत्रिकामा खबर आयो — घर लिलामीमा । नाम थियो, सिरुको बाबाको । म स्तब्ध भएँ । तुरुन्त फोन गरें । उनको स्वर काँपेको थियो । निकेश, छिटो अस्पताल आऊ... बाबालाई ल्याएको छु । म दौडेर पुगें । अस्पतालको कोरिडोर, सिरुको आँसु र आमा निःशब्द । उनको बाबाको निधन भयो । त्यो दिन उसको सारा सपना चकनाचुर भएको थियो । केही महिना पछि त्यहि तनावले उनकी आमाको पनि स्वास्थ्य बिग्रियो । संसारले उनलाई एक्लो बनायो । पूर्ण रूपमा । बाबा र आमाको चाहना जे थियो त्यो पुरा हुन पाएन । सकेन । एउटी छोरीले देखेको सपना र छोरीको भविश्य प्रति अभिभावकले सोचेको सपना पुरा हुन नपाउँदै लगातार बाबा आमाले नै संसार छाडन पुग्नु भयो । सिरुको त्यो पीडा जो कोहिले पनि ब्यक्त गर्न र भोग्न कठिन नै थियो । उनको मात्रै होईन मेरो पनि लगातारको सोच नै फरक हुन थालेको थियो । 
    म उनलाई सान्त्वना दिन्थें, हरेक रात फोन गर्थें, हरेक बिहान भेट्थें । मुस्कुराउने प्रयास गर्थी, तर आँखाको भित्री कुनामा आँसु अड्किएको हुन्थ्यो । मले भनेँ — सिरु, अब म तिमीलाई एक्लो छोड्दिन । विवाह गरौँ । ऊ मुस्कुराई — तिमीलाई विश्वास गर्छु, तर समाजले गर्छ त ? मैले उत्तर दिन सकिन । हामीले समयको भरोसा ग¥र्यौं । घरको आर्थिक जिम्मेवारी र भविष्यको सोचले मलाई विदेश पठायो । सिरुले धेरै सम्झाई — निकेश, मलाई नछाडन । तर म गएँ । ऊ एयरपोर्टमा आई, तिमी फर्किनु पर्छ, वचन देऊ । मैले उनको हात समातें र कसम खाएँ । म फर्किन्छु, तिमी मेरो प्रतीक्षा गर्नु । त्यो क्षण उनको आँखामा भय थियो अनिष्टको । उनी बुझ्थीन तर मैले बुझिनँ । कठिन थियो त्यो क्षण । बाबा आमा वितेको केहि वर्ष नै नपुग्दै उनका लागि सान्त्वना दिने र भरोसा गर्ने म पनि विदेश जान बाध्य भएको थिएँ । त्यसले पनि उनलाई खल्लो त बनाएको थियो नै त्यो भन्दा अर्काे भय म फेरी नफर्कने हो कि ? वा उतै पो सेटल हुने हो कि ? विदेश गए पछि मेरो मन पनि विदेशिने पो हो कि ? अनेक भय उनको आँखामा देखिन्थ्यो । 
    परदेशको जीवन अग्लो पर्खाल जस्तो । काम, पसिना र रातको तड्पाइ । म हरेक रात उनलाई सन्देश पठाउँथें, उनी छोटो उत्तर पठाउँथीन । सब ठीक छ । तर त्यो ठीक शब्द भित्र कति पीडा लुकेको रहेछ, त्यो मलाई थाहा भएन । एक दिन फोन आयो । सिरुलाई सहयोग गर्ने आफन्त पनि बित्नुभयो । म स्तब्ध । ऊ अब पूर्ण एक्लिई । मैले टिकट काटें, फर्किन लागें । तर ऊ फोनमा मुस्कुराउने अभिनय गर्थी । तिमी आउनु पर्दैन, म ठीक छु । त्यो ठीक छु नै उनको अन्तिम झूट रहेछ । 
    म नेपाल फर्किएँ । अस्पतालको ओछ्यानमा ऊ निस्सासिइरहेकी थिई । भेन्टिलेटरको आवाज, उसको काँपिएको हात र मलाई देख्ने चाहनाले आँखाबाट झरिरहेको अन्तिम आँसु । उनले हातले संकेत गरी केही लेखिएको कागज थमाई । केही मिनेटमै उनी शान्त भईन । संसार स्थिर भयो । तीन दिनपछि त्यो कागज पढ्ने साहस जुटाएँ । त्यो उनको आत्मकथन थियो । ‘निकेश, म पापी हुँ । समाजले मलाई दोष दियो — ‘बाबा–आमा खाईस्, अब श्रीमानलाई पनि खान्छे’ भने । मैले यो सहन सकिनँ । तिमीलाई मेरो भाग्यको कालो र अँध्यारो बाटोमा तान्न चाहिनँ । म बाँचें भने तिमी मर्नु पथ्र्याे । त्यसैले म मरेँ, तिमी बाँच । म तिमीलाई सधैं माया गर्छु, तर तिमीलाई माया गरेर म तिमीलाई बाँध्न सक्दिनँ । तिमी बाँच, मेरो नाममा बाँच । तिमी मेरो रेखा थियौ — म तिम्रो कथा ।’ 
    त्यो पढेपछि म भत्किएँ । आँसुको नदीमा बगें । अनियन्त्रित भएँ । उनले त आत्महत्या पो गरेकी रहिछे । आमा बुबाको पीडा र समाजको आक्रोस सहन नसकेर विष पिएकी रहिछ । मृत्युमा पनि प्रेमको सुगन्ध छोडेर उ विदाई भई । चार वर्ष बिते । उनकोे जन्मदिनमा म उनकै तस्बिर अघि दियो बाल्छु ।  उनका चित्रहरू संकलन गरेर प्रदर्शन गरेँ । सिरु ‘एक मुस्कानको यात्रा’का नाममा । कसैले सोध्यो — तिमी उनलाई किन यति सम्झन्छौ ? मैले उत्तर दिएँ — किनकि ऊ मभन्दा अगाडि बाँचिरहेकी छिन् — मेरो मुटु भित्र । विदेशको भूमिमा, पसिनासँगै बग्छ उनको सम्झना । रातमा निदाउनु अघि, म उनीसँग कुरा गर्छु — सिरु, आज पनि तिमी मेरो वरिपरि हौ । म तिमै लागि  हर दिन बाँचिरहेको छु । 
    चार वर्षपछि म आमाको स्वास्थ्य बिग्रँदा स्वदेश फर्किएँ । घरमा शोकको वातावरण थियो । आमाले हात समाएर भन्नु भयो । बाबु, अब विवाह गर । म मौन रहेँ । आमाको आँखामा आँशु भरिएको थियो । किन यति कठोर हौ ? मैले उत्तर दिएँ । आमा, म पहिले नै विवाहित पुरुष हुँ । मैले एक पटक विवाह गरिसकेको छु । त्यो मान्छे छैन तर उसको आत्मासँगै छ । मसँग सिरुको खरानीको एक चिम्टी छ । सानो डब्बामा बन्द गरिएको छ । हर बिहान म त्यो छुन्छु, अनि मस्तिकमा हात राख्छु । त्यो मेरो सिन्दुर हो, मेरो विश्वास हो । सिरु अब मेरो धर्म बनिसकेकी छ । ऊ मेरो आस्था हो, मेरो अन्तिम सत्य पनि ।
    आज पनि जब म बुटवलको बाटो हुँदै गाडीमा हुन्छु, झ्यालबाट देखिन्छ, सिमलका पातहरू हावामा उडिरहेका । ती पातहरू सिरुका याद हुन्, जसरी कहिल्यै नझर्ने प्रेमका प्रतीक । जीवन अघि बढ्छ, तर स्मृतिहरू कहिल्यै पुराना हुँदैनन् । म बाँचिरहेछु । उनकै नाममा, उनकै प्रेममा । मलाई विवाह गर्न खोज्नेहरू प्रति क्रोध छैन, तर मेरो आत्मा पहिले नै समर्पित भइसकेको छ । कहिले काँही रातको एक्लोपनमा हावा चल्छ, परबाट आवाज आउँछ । ‘निकेश...’ म मुस्कुराउँछु, भन्छु, मात्र तिमी नै । 
    मायाको मूल्य मृत्यु होइन, तर त्यो सम्झना हो, जसले मृत्युपछि पनि बाँचिरहन्छ । सिरु गइ, तर उसले म भित्र प्रेमको बिउ झारी गइ । आज म हरेक पीडालाई मुस्कुराउँदै सहन्छु, माया भनेको उपस्थितिमा होइन, आत्मामा बाँच्ने कुरा हो । 

निकेश घिमिरे
हालः अष्टेलिया